शुक्रबार नवलपुरमा कुन कुन के के खुले ?




रामकुमार श्रेष्ठ –
नवलपरासी, २६ बैशाख । सरकारले शुक्रबारबाट लकडाउन केही खुकुलो गर्ने भनेसँगै नवलपुरमा पनि केही सरकारी कार्यालय, उद्योग, बैंक, खाद्य सामग्री विक्री गर्ने पसल सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यायल नवलपुरका प्रमुख पिताम्बर घिमिरेका अनुसार नवलपुर जिल्लामा पनि अत्यावश्यक पर्ने सरकारी कार्यालय, उद्योगकलकारखाना, बैंक, पसल लगायत खुलेको छ ।
घिमिरेले जिल्ला प्रशासन कार्यालय, विद्युत, टेलिकम जस्ता अत्यावश्यक पर्ने सरकारी कार्यालय नियमित सञ्चालनमा आएको बताए ।
त्यसैगरी फोहोर मैला व्यवस्थापनको कार्य पनि अगाडि बढाइएको उनले बताए । नवलपुरमा बैंकहरु केही दिन अघिदेखि नै सञ्चालनमा आएको भए पनि त्यसलाई व्यवस्थित गराएर सञ्चालन गर्ने विषयमा छलफल भईरहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार नवलपुरमा औषधि पसलजन्य वस्तु उत्पादन गर्ने उद्योग, अत्यावश्यक खाद्य उत्पादन गर्ने उद्योग, इट्टा उद्योगहरु सञ्चालनमा आएको र सरकारले तोकेका उद्योगहरु पनि जिल्लाको अवस्था हेरे विस्तारै खोलिने बताए ।
त्यसैगरी विकास निर्माण कामहरु पनि सामाजिक दुरी कायम गरेर आजदेखि सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
नवलपुरका मुख्य बजारहरुमा हिजोको तुलनामा आज मानिसहरुको चाप केही बढेको छ । मोटरसाइकल, टेम्पोहरु सञ्चालनमा आएका छन् । नवलपुरमा केही दिन अघिदेखि बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनमा आएसँग मानिसहरुको चाप बजारमा विस्तारै बढ्न थालेको छ । तथापि कतिपय बैंकहरुले सामाजिक दुरी कायम गर्न सकेका छैनन् ।
नवलपुरमा वर्कशप जस्ता पसलहरु सञ्चालनका लागि जिल्ला अवस्था हेरेर मात्र निर्णय लिइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । घिमिरेले धेरै मजदुरहरु आवश्यक पर्ने उद्योग तथा कारखानाले कारखाना भित्रै सेल्फ क्वारेन्टाइनमा राखेर मजदुरलाई काममा लगाउनु पर्ने जानकारी दिए ।



सम्बन्धित
Loading...