बुद्धत्व आफै भरौं – कविता (छन्द :शार्दूलविक्रीडित)
भगवती पाण्डे –
लाखौं मन्दिरको पवित्र स्थलमा नेपाल पर्ने हुँदा
छाती फुल्दछ गर्वले अति यही कोरेर माटो छुँदा
चोखो संस्कृतिको धरोहर बनी आयो उता लुम्बिनी
छाए जन्म लिएर बुध्द भवमा जाज्ज्वल्य तारा बनी ।१
आस्थाका गरिमा विभूति पनि हुन् संसार चम्काउने
बाली मङ्गल दीप शान्ति मनले चीत्कार मेटाउने
श्रध्दाभाव बढेर जानु सहजै हुन् प्रेरणा बुध्दका
ईर्ष्या लोभ सबै हटे हृदयका घट्लान् पला युध्दका ।२
धर्ती फूल बनी सजाउन यहाँ मान्छे भनी जन्मियौँ
आफैले पथ बिर्सिएर जगमा विध्वंसकारी बन्यौँ
कस्तो रोग बन्यो किटान यसको गर्ला र कस्ले यहाँ ?
ठूलो सङ्कट आज कोभिड भयो ढाकेर संसारमा ।३
प्यारो जन्मथलो कठै ! भुवनमा नामेट होला जसै
सारा विश्व मसानघाट जसरी बढ्दा नघट्ने कसै
कोही छन् परदेशमा कति यतै कोठा कुरी बस्नु छ
कोरोना भनिने विषाणु जसले डस्दा बन्यौँ मुर्छित । ४
जोरी हात पुकार गर्दछु यहाँ बुध्दत्व कस्तो भयो ?
नेपाली स्थल लुम्बिनी तर कठै ! आक्रान्त बन्दै गयो
खोजी मानव सभ्यता हृदयले धर्ती सिंगार्ने गरौँ
आफ्नो पावन भूमिमा सहजले बुध्दत्व आफै भरौँ । ५
– नारी साहित्य समाज पश्चिम नवलपरासी, उपाध्यक्ष (बर्दघाट १३, हाल भमनपा १९, चितवन)
