क्यान्सर अस्पतालमा कोरोनाको जोखिम उच्च
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोनाका जोखिम उच्च देखिन्छ । अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुले सामाजिक दूरी कायम गरेको देखिँदैन । धेरैजसो बिरामीहरु कोरोनाको हटस्पट मानिएका जिल्लाहरुका भएकाले पनि जोखिम बढेको हो । रेडजोनमा परेका जिल्लाबाट आएका बिरामीहरुले नै सामाजिक दूरी कायम नगरेपछि जोखिम बढेको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम बताउँछन् ।
अस्पतालमा आउने सेवाग्राहीमध्ये अधिकांश बिरामीहरु प्रदेश नं २ र ५ का छन् । दैनिक २ सयको हाराहारीमा बिरामीहरुले उपचार गराइरहेको उनले बताए । क्यान्सरका बिरामीहरु देशभरबाट आउने र बाहिर बस्नका लागि ठाउँ पनि नभएकाले बिरामीको व्यवस्थापनमा समस्या आएको उनले बताए ।
‘क्यान्सरमा देशैभरिका बिरामी आउँछन्, कसलाई आउन भन्ने र कसलाई नआउन भन्ने, यो गम्भीर समस्या छ’, उनले भने, ‘यसका लागि जनप्रतिनिधि, सिडियोलगायतसँग सल्लाह गरेर व्यवस्थापन गर्ने योजनामा छौँ ।’ हटस्पट जिल्लाबाट आएका बिरामीलाई क्वारेन्टाइनमा राख्नुपर्नेलगायत विभिन्न विषयमा छलफल हुने उनले बताए ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेले शंकास्पद बिरामीहरुलाई सर्वप्रथम भरतपुर अस्पतालमा कोरोना परीक्षणका लागि पठाउने गरिएको बताए । सामाजिक दूरी कायम राख्ने सन्दर्भमा टिकट काट्ने, औषधि किन्नेलगायत केही ठाउँमा मार्किङ गरिएको उनले बताए । ‘लाइनमा बस्दा नजिक नजिक टाँसिएर नबसिदिनुहोला भनेर बिहान–बेलुका भन्न गार्डहरुलाई लगाइएको छ’, उनले भने, ‘माइकिङ गरेको छैन, रेड मार्किङचाहिँ गरेका छौँ ।’
क्यान्सरका बिरामीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुमा अन्य रोगको संक्रमण छिटो हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । तर, क्यान्सर अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुले भने सामाजिक दूरी कायम गरेको देखिँदैन ।
कोरोनाबाट बच्ने मुख्य उपाय सामाजिक दूरी कायम गर्नु पनि हो । कोरोना संक्रमणबाट बच्न एक व्यक्तिबाट अर्काे व्यक्तिबीचको दूरी कम्तीमा एक मिटर कायम राख्नुपर्छ, तर क्यान्सर अस्पतालमा सामान्य अवस्थामा जसरी नै बिरामीहरु लाइन लाग्ने वा बस्ने गरेका छन् । यस प्रवृत्तिले कोरोनाको जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।