चौधरी उद्योग तनाबग्रस्त, ६ सय श्रमिक आन्दोलनमा
भिम भुसाल, नवलपुर ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमणको समय उद्योगभित्र श्रमिक सुरक्षित नभएको भन्दै करिव ६ सय श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुर र देवचुली नगरपालिकाले संयुक्तरुपमा उद्योगको अनुगमन गर्दै २ सय ५५ श्रमिकलाई काममा लगाउने र उद्योग भित्रै क्वारेन्टाईनमा राख्ने चौधरी उद्योगको सहमतीमा उद्योग सञ्चालनमा आएको थियो । तर उद्योगले वाईवाई, चिजबल उत्पादन तथा प्याकेजिङका लागि ६ सय कर्मचारीलाई उद्योग बोलाएर बिना सुरक्षा काममा लगाएको श्रमिकहरुको गुनासो छ ।
भारत लगायत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाबाट मालबाहल ट्रक आउने र ट्रकसँगै आएका चालक तथा सहचालक उद्योगमा श्रमिकहरुसँगै खाना खाने, नुहाउने जस्ता कार्यले श्रमिक जोखिममा रहेको भन्दै आन्दोलन गर्नुपरेको एक श्रमिकले बताए ।
घर परिवार छोडेर उद्योगमा काम गर्न आएका श्रमिक खान, बस्न असुबिद्या भएको, काम गर्दा सामाजिक दुरी कायम नभएको, खाना खादा सबैसँगै खानुपर्ने, सुत्न बनाईएको क्वारेन्टाईनमा तेब्बर मान्छे कोचिएर सुत्नुपर्ने लगाएको समस्याले श्रमिक घर जान पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उद्योगले घर जान चाहने कर्मचारी घर जान सक्ने तर सधैको लागि उद्योग छोडेर जानुपर्ने भन्दै बाध्यात्मक काममा लगाएको श्रमिकले गुनासो गरेका छन् ।
हिजो राति स्थानीयले सबै श्रमिकलाई उद्योगभित्रै ब्यवस्थापन मिलाउनु वा उद्योग बन्द गनुपर्ने भन्दै चौधरी उद्योगको प्रवेशद्वार अगाडि आन्दोलन गरेका थिए ।

