क्वारेन्टाईनका लागि चितवनका कुन तहको खर्च कति ? पुर्ण बिवरण सहित –
चितवन-
चितवनमा क्वारेन्टाईन निर्माण तथा सञ्चालनका लागि साडे ५१ लाख रुपैयाँ भन्दा बढि खर्च भएको छ । जिल्लाका सात स्थानिय तहले बैशाख मसान्तसम्म क्वारेन्टाईन व्यवस्थापन र क्वारेन्टाईनको खाना शुल्क सहित ५१ लाख ५३ हजार १ सय १३ रुपैयाँ खर्च गरेका हुन् ।
राप्तिमा एकजनाको खाना खर्च ४१हजार ! सबै भन्दा धेरै खर्च गर्ने माडी नगरपालिका
जिल्ला समन्वय समिति चितवनलाई बुझाएको खर्च विवरण अनुसार, उनिहरुले क्वारेन्टाईनमा बसेकाहरुको खाना तथा औषधी व्यवस्थापका लागि मात्रै २५ लाख २० हजार ६ सय ८५ रुपैयाँ खर्चेका छन् । जव जिल्लामा क्वारेन्टाईन अवधि पुरा गर्ने ८९ जनामात्र रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यसरी हिसाब गर्दा एक जनाले २८ हजार तीन सय रुपैयाँ बराबरको खाना खाएको देखिन्छ । तर, क्वारेन्टाईन अवधि पुरा गरेका व्यक्तिहरुले भने खानाको राम्रो व्यवस्था नभएको बताएका छन् । “हामीलाई बिहान चिया दिईन्थ्यो । त्यसपछि १० बजे सादा खाना आउँथ्यो । दिऊसो कहिले चिऊरा च्याउचाऊ त कहिले चना दिईन्थ्यो । बेलुका सादा भात आउँथ्यो,” माडीको क्वारेन्टाईनमा बसेका एक व्यक्तिले भने, “दुई छाक मासु दिएको थियो ।”
यस्तै जिल्लामा बैशाख ३१ गतेसम्म ३५ स्थानमा २ सय ९१क्षमता सहितको क्वारेन्टाईन तयार भएका थिए । यी क्वारेनटाईनको निर्माण, आवश्यक पर्ने सामान खरिद, शयन कक्ष व्यवस्थापनका लागि २६ लाख ३२ हजार ४ सय २८ रुपैयाँ खर्च भएको छ । क्वारेन्टाईन निर्माण शिर्षक अन्र्तरगत १६ लाख ४० हजार १ सय ९३ रुपैयाँ र क्वारेन्टाईनमा आवश्यक पर्ने सामान, शयन कक्ष व्यवस्थापन शिर्षक अन्र्तरगत ९ लाख ९२ हजार २ सय ३५ रुपैयाँ खर्च भएको जिल्ला समन्व्य समिति चितवनले जानकारी दिएको छ ।
सबैभन्दा धेरै खर्च गर्नेमा माडी नगरपालिका
चितवन जिल्लाका सात स्थानीय तहमध्ये क्वारेन्टाईन व्यवस्थापन र सञ्चालनका लागि सवैभन्दा बढि खर्च गर्नेमा माडी नगरपालिका रहेको छ । उसले क्वारेन्टाईन निर्माण, व्यवस्थापन, खाना र औषधीका लागि २४ लाख ८० हजार ८ सय ६८ रुपैयाँ खर्च गरेको छ । खाना र औषधीमा मात्रै ७ लाख ८७ हजार ८ सय ५९ रुपैयाँ खर्च गरेको जिल्ला समन्वय समिति चितवनले जानकारी दिएको छ । माडीका क्वारेन्टाईनमा अहिलेसम्म २७ जनाले क्वारेन्टाईन अवधि पुरा गरेर घर गएका छन् । १६ जना अहिले क्वारेन्टाईनमा रहेको माडी नगरपालिकाले जानकारी दिएको छ । नौ वटा क्वारेन्टाईन निर्माणका लागि ९ लाख ९१ हजार ५ सय ३८ रुपैयाँ खर्च भएको देखिन्छ । त्यस्तै क्वारेन्टाईनमा आवश्यक पर्ने सामान, शयन कक्ष व्यवस्थापनका लागि ७ लाख १ हजार ७१ रुपैयाँ खर्च गरेको छ । तर, सामानको विवरण उल्लेख छैन ।
राप्तीमा एक जनाको खाना खर्च ४१ हजार
माडी नगरपालिका पछि राप्ती नगरपालिकाले बढि खर्च गरेको छ । उसले १४ लाख ९३ हजार १ सय ४६ रुपैयाँ खर्च गरेको पाईएको छ । राप्ती नगरपालिकाले अहिलेसम्म ३६ जना क्वारेनाटाईनमा राखेको छ । तर, त्यहाँ बसेकाको खाना र औषधी खर्च मात्रै १४ लाख १३ हजार १ सय १४ रुपैयाँ छ । जब खाना र औषधीमा प्रत्येक व्यक्ति बराबर ४१ हजारभन्दा बढि खर्च भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय चितवनलाई बुझाएको विवरण अनुसार राप्ती नगरपालिकामा अहिलेसम्म २७ जनाले क्वारेन्टाईन अवधि पुरा गरेका छन् भने, ९ जना अझै क्वारेटाईनमा छन् ।
यस्तै,क्वारेन्टाईन व्यवस्थापन र सञ्चालनका लागि कालिका नगरपालिकाले ४ लाख ३ हजार १ सय ३१, रत्ननगर नगरपालिकाले २ लाख ५५ हजार, भरतपुर महागनरपालिकाले २ लाख, खैरहनी नगरपालिकाले १ लाख ६७ हजार ९ सय २५ र इच्छाकामना गाउँपालिकाले १ लाख ५३ हजार रुपैयाँ खर्च गरेका छन् । त्यसमध्ये इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाले क्वारेन्टाईनमा बसेकाको खाना खर्च बुझाएका छैनन् । भरतपुर महानगरपालिकामा १४ जना र इच्छाकामना गाउँपालिकामा १२ जना क्वारेन्टाईनमा बसेका छन् । यी मध्ये ११ जनाले क्वारेन्टाईन अवधि पुरा गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिङ्खडाले जानकारी दिए ।
चितवनमा ४ करोड बराबरको राहत विरतण
चितवन जिल्लामा लकडाउनको समयमा समस्यामा परेका व्यक्तिहरुलाई ३ करोड ८५ लाख १० हजार रुपैयाँको राहत सामाग्री विरतण गरिएको छ । बैशाख ३१ गतेसम्म जिल्लाका ४५ हजार ६ सय २० परिवारलाई सो रकम बराबरको खाद्यन्न सामाग्री विरतण गरिएको हो ।
जिल्ला समन्वय समिति चितवनका अनुसार, एक परिवार बराबर ८ सय ४४ रुपैयाँ बराबरको खाद्यन्न बाडिएको छ । जिल्लाका सात स्थानीय तह मध्ये राहत विरतणका लागि सवैभन्दा बढि खर्च रत्ननगर नगरपालिकाले गरेको देखिन्छ । उसले ५ हजार ७ सय ६३ परिवारका लागि ८२ लाख ५५ हजार ३ सय ३७ रुपैयाँ खर्चेको छ । त्यसपछि खैरहनी नगरपालिकाले ७३ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ । उसले ८ हजार १ सय १ घर परिवारलाई राहत सामाग्री उपलब्ध गराएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
भरतपुर नगरपालिकाले १६ हजार ३ सय ९२ घर परिवारलाई ७२ लाख २२ हजार रुपैयाँको खाद्यन्न सामाग्री वितरण गरेको जनाएको छ । जसमा १ लाख ४१ हजार ८ सय ९० जना लाभाम्बित भएको महानगरपालिकाको दावि छ ।
राप्ती नगरपालिकाले पनि आफ्नो समपुरक कोषको बजेटबाट ६४ लाख ८० हजार रुपैयाँको राहत वितरण गरेको छ । ६ हजार ५ सय ९२ घरधुरीलाई राहत सामाग्री बाडेको छ । त्यस्तै ईच्छाकामना गाउँपालिकाले ८ लाख ७८ हजार ९ सय रुपैयाँको राहत सामाग्री वितरण गरेको छ ।
राहत वितरणका लागि ५ करोड ७९ लाख बजेट
चितवनका सात स्थानीय तहले राहत वितरणका लागि ५ करोड ७९ लाख १६ हजार ६ सय ३१ हजारको बजेट विनियोजन गरेका छन् । त्यसमध्ये बैशाख ३१ गतेसम्म ३ करोड ८५लाख रुपैयाँ खर्च गरेको भैसकेको छ । राहत वितरणका लागि सबैभन्दा बढि भरतपुर महानगरपालिकाले बजेट बिनियोजन गरेको छ । उसले दुई करोड रुपैयाँको अनुमानित बजेट बिनियोजन गरेको छ ।
त्यस्तै रत्ननगर नगरपालिकाले १ करोड ३९ लाख ६६ हजार, खैरहनी नगरपालिकाले ८१ लाख, कालिका नगरपालिकाले ५० लाख, माडी नगरपालिकाले ३२ लाख र इच्छाकामना गाउँपालिकाले ११ लाख ७० हजार बजेट विनियोजन गरेको जिल्ला समन्वय समिति चितवनले जानकारी दिएको छ ।