चितवनमा प्रहरीको कोरोना परीक्षण


चितवनमा फ्रन्ट लाइनमा खटिएका प्रहरीको कोरोना परीक्षण गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार चितवनमा रहेका १५ जना प्रहरीको पिसिआर परीक्षण र १०० जनाको -यापिट डाइग्नोष्टिक टेष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय मातहतमा रहेर लोथर, नारायणगढको पुलचोक, मुग्लिन, कार्यालयकै मुद्दा फाँट, अस्पताल, विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा कार्यरत प्रहरीको परीक्षण गरिएको उनले बताए ।



सो कार्यालयले प्रहरी अधिकृतदेखि जवानसम्मलाई साबुन पानीले हात धुन, कार्यक्षेत्रबाट फर्किएपछि आफ्नो पोशाकलाई धोएर निर्मलीकरण गर्न, कार्य क्षेत्रमा रहेको समयमा सामाजिक दूरी कायम गरी आफ्नो काम सम्पन्न गर्न लगाइएको उनले बताए । । कोरोना सङ्क्रमणको समय भएकाले अहिले नियमित गरिने कवाजसमेत बन्द गरिएको उनको भनाइ छ । यस्तै कार्यक्षेत्रमा जाँदा नियमित मास्कको प्रयोग गर्ने, ह्याण्ड सेनिटाइजर, पञ्जाको प्रयोग अनिवार्य गर्न लगाउने गरिएको छ ।

प्रहरीको मोबाइल सवारीमा दुईजनालाई पिपिइसहित सुरक्षा सामग्री लगाएर राख्ने गरिएको छ । कसैलाई समात्नुपरे वा तुरुन्तै एक्सनमा जानुपरे उनीहरुलाई पनि पठाउने र थप मद्धत पनि सँगै राख्ने गरिएको प्रहरी प्रमुख गुरुङ बताउँछन् ।




कोरोनको सङ्क्रमण बढ्दै गएको समयमा प्रहरीले व्यक्तिगत सुरक्षाका साधन पिपिइ ५० थानको व्यवस्था गरेको छ । जिल्लामा रहेका प्रहरीलाई पिपिइ अपुग भएको भए पनि थप व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए। मास्क, सेनिटाइजर विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । प्रहरी स्वास्थ्यकर्मीभन्दा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेको उनको भनाइ छ । अहिले जिल्ला प्रहरी कार्यालयमा २५० को हाराहारीमा प्रहरी छन् । जिल्लाभर प्रहरीका ६६ इकाइमा ८०० जना प्रहरी कार्यरत रहेका छन् ।



सम्बन्धित
Loading...