महोत्तरीमा तस्कर र प्रहरीबीच भीडन्त, एक जनाको मृत्यु


महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरी  लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई  पक्राउ गरेको जनाइएको छ ।  जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको थियो ।




चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ राउण्ड गोली लागेको थियो । सोही स्थानबाट अभियुक्त सुरेन्द्र र राहुललाई पक्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ । उक्त भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ । रासस



सम्बन्धित
Loading...