सिमामा अलपत्र ३ सय बढी परेका पूर्वी नवलपरासी आए, पिसिआर परीक्षणमा समस्या




नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीमा पछिल्लो समय नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाई नेपाल भित्र्याउने क्रम बढेको छ ।
पछिल्लो एक सातामा मात्र ३ सय बढीको उद्दार गरी नवलपुर ल्याइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
भारतमा रोकिएका सर्वसाधारणलाई गृह जिल्ला भित्र्याएर क्वारेन्टिनमा राखिएको छ । उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा राखिएको हो ।
नवलपुरका ८ वटा स्थानीय तहले प्रशासनसँगको समन्वयमा नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाई गृह जिल्ला नवलपुर ल्याउन थालेको छ ।
अधिकांशलाई रातको समयमा नेपाल भित्र्याइने गरिएको छ भने दिनको समयमा पनि उनीहरुलाई नेपाल भित्र्याइने गरिएको छ ।

स्वाब संकलनमै समस्या




नवलपुरमा पछिल्लो एक सातामा ३ सय बढी नवलपुर भित्रिएसँगै उनीहरुको स्वाब संकलनमा समस्या भएको छ ।
स्वाब संकलन गरिने किट (भिटिएम) अभाव हुँदा स्वाब संकलनमा कठिनाइ भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले स्वाब संकलनका लागि भिटिएम निक्कै कम आउने भएकोले तिब्र गतिमा स्वाब संकलन गरेर कोरोना भए नभएको पिसिआर परीक्षणमा ढिलाई भएको बताए ।
उनले स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न नरोकिएको भए पनि निक्कै कम मात्रामा सामग्री आउने गरेका कारण ढिलाई भएको बताए ।

आफै खरिद गर्ने तयारीमा नवलपुरका स्थानीय तहहरु

पश्चिम नवलपरासीमा ५ सय बढीको स्वाब संकलन गरेर पिसिआर परीक्षण भईसकेको भए पनि पूर्वी नवलपरासीमा अहिलेसम्म दुई सय १ जनाको मात्रै स्वाब संकलन गरेर पिसिआर भएको छ ।
दैनिक ५० देखि एक सयको संख्यामा नेपाल भारत सिमा क्षेत्रबाट नवलपुरका बासिन्दा नवलपुर भित्रिने क्रम बढेसँगै पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने देखिए पछि स्थानीय तहहरुले नै स्वाब संकलन गर्ने किट (भिटिएम) खरिद गर्ने तयारीमा रहेका छन् ।
देवचुली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठले (भिटिएम) खरिदका लागि नवलपुरका स्थानीय तहले प्रक्रिया अगाडि बढाउने तयारी गरेको बताए ।

क्वारेन्टाइनको संख्या बढाउँदै स्थानीय तह

भारतबाट मात्रै नवलपुरमा ३ हजार बढी भित्रिने सम्भावना रहे पनि नवलपुरका स्थानीय तहहरुले क्वारेनटाइनको संख्या बढाउन थालेको छ । नवलपुरमा अहिले मात्रै करिब ३ सय ५० जना क्वारेन्टाइनमा रहेका छन् ।
नवलपुरमा अहिले पाँच सयको हाराहारीमा अट्न सक्ने क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ भने नवलपुरका ८ वटै स्थानीय तहले सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न थालेका छन् ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले आफू दैनिक जसो सिमा क्षेत्रमा गएर कावासोतीका बासिन्दालाई उद्दार गरेर ल्याउँदा ३ हजार देखि ५÷७ हजारसम्म नवलपुरका बासिन्दा भारतबाट भित्रने अवस्था देखेको बताए ।
मर्दनियाले अहिले कावासोती भित्र भटाभट सामुदायिक विद्यालयलाई प्रयोग गरेर क्वारेन्टाइन बनाउन थालिएको बताए ।

कुरुवाकै समस्या


ठाउँठाउँमा क्वारेन्टाइनमा बसेकाहरु भागेका खबरहरु आउँदा नवलपुरको कावासोतीमा पनि केही समय अगाडि क्वारेन्टाइनमा बसेका २ जना भागेका थिए ।
यो समस्या नवलपुरमा दोहोरिने सम्भावना रहेको देखिन्छ । सबै क्वारेन्टाइनमा प्रयाप्त सुरक्षाकर्मी पुर्याउन नसकिने हुँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्ने सम्भावना देखिन्छ ।
क्वारेन्टाइनमा राखेकाहरुलाई तोकिएको अवधिसम्म क्वारेन्टाइनमै राख्ने चुनौती बढी रहेको कावासोती १६ का वडा सदस्य आनन्द श्रेष्ठले बताए ।
उनले आफ्नो वडाको क्वारेन्टाइनमा सुरक्षाकर्मीको व्यवस्था नभएपछि वडा भित्र रहेको भूपू शैनिकहरुलाई भेला गरेर दैनिक ३ जनाको दरले पालो राखेर कुरुवा राखेको बताए ।
श्रेष्ठले भने – दिनमा भन्दा रातमा समस्या देखिएको छ । दिनमा आलोपालो गरेर कुर्ने जति पनि मानिस हुने भए पनि रातको समयमा कुर्नका लागि समस्या हुने गरेको बताए ।



सम्बन्धित
Loading...