नेपालमा जुन र जुलाईमा कोरोना संक्रमण अझै बढ्न सक्ने




कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले नेपालमा अझै दुई महिना कोरोना भाइरसको विरामी बढ्न सक्ने जनाएको छ ।
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले जुन र जुलाईमा कोरोना भाइरसका बिरामी बढ्ने अनुमान गरेको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरु र नेपाली सेनाका विशेषज्ञ चिकित्सकहरुले अन्तर्रा्ष्ट्रिय ट्रेन्डका आधारमा यस्तो प्रक्षेपण गरेका हुन् ।
‘हामीले गणितीय विश्लेषणका आधारमा गरेको अध्ययनले जुन र जुलाईमा बिरामी बढ्ने देखाएको छ’ नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा चिकित्सक एवम् सेनानी नविन फुयाँलले भने, ‘यो प्रक्षेपण ठ्याक्कै मिल्छ भन्ने छैन। तर हामीले यही अनुसारको तयारी भने गर्नुपर्छ । ’
ठूला ठूला देशहरुमा समेत यो भाइरसले कस्तो रुप लिन सक्छ भनेर यथार्थ पत्ता लगाउन नसकेको भन्दै सेनानी फुयाँलले हाल परीक्षणको दायरा बढाइएकाले केसहरु पनि धेरै देखिएको बताए ।
नेपालमा यसअघि नै संक्रमितहरु धेरै देखिने अनुमान गरिएको भएपनि अहिलेसम्म भयावह अवस्था नआएको उनले बताए ।
सैनिक प्रवक्ता विज्ञानदेब पाण्डेले चीन, भारत र स्पेनमा फैलिएको संक्रमणका आधारमा यस्तो प्रक्षेपण गरिएको बताए ।
यसैबीच सिसिएमसीले विदेशमा रहेका नेपालीलाई स्वदेशमा ल्याउन सकिने योजनाको खाका बुझाएको छ ।



सम्बन्धित
Loading...