बाहुनी प्रेम – कविता
नीरा शर्मा –
अनायासै,
जब पहिलो पटक महसुस गरेँ
वतासले ल्याएको उसको प्रेमको स्पर्श
लुछौँला झैँ गरेर हल्लाउँदै
मेरा भावनाका हाँगाहरू
मनको सल्लेरीमा
जोड जोडले बग्यो ऊ
मैले उसको जात सोधिन, धर्म सोधिन,
कस्तो छ उसको बर्ग सोधिन्,
तर बा–आमाको अनुहारबाट अस्तायो घाम,
देश शोकमा डुबेको बेला
राष्ट्रिय झण्डा झुकेझैँ झुक्यो
दाइ–भाउजुको शिरको ताज
त्यसैदिन भनेका हुन् उनीहरूले
‘कूलको बत्ति निभ्यो’ भनेर
र त्यही समय सानो भाइले
मेरो अघि उभिएर रून खोज्दै भनेको हो
“दिदी, त्यो त अछुत हो रे !
त्यसले छोएको पानी चल्दैन रे !”
मैले सँधै उसले बालेको प्रेमको दियोमा
निरन्तर तेल थपिरहेँ
उसले आँखाले नै केही सुनायो सधैं
र मैले मनले सुनिरहें
साँच्ची, कति चाँडै बिर्सिन्छ हँ मान्छेले
यो धर्ती अन्धकारमा सुतिरहेको बेला
पर क्षितिजमा उभिएर
घाम जन्मिएको खबर सुनाउने
उही थियो
र प्रेमिल घामले
हपक्क भएकी थिएँ म
उसको प्रेमको न्यानोले
म नौनी झैं पग्लिरहँदा
कहालिँदै चिसिन्छ दुनियाँ
उसैले सिलाएको लुगाले लाज ढाकिएको शरीरमा
छिनछिनमा उध्रिरहन्छ मेरो पुरानो–संस्कार
उसैले सिलाएको खोल ओढेर सुतिरहँदा
सिरक कै खोल झैं च्यातिन्छ मेरो अन्ध विश्वास
उस्तै देख्छु म
हामीभित्र बग्ने प्रेमको नदी
जो एकनास बगिरहन्छ
हाम्रो दिलको खेत र गराहरुमा
जहाँ गुलाब फुलाउँछ ऊ
र मुस्कुराउँदै टाँसीदिन्छ मेरो चुल्ठोमा
साँझ विहान
घर आँगनमा सुसाइरहने वतासले
छुवाछुतको धून सुसेल्छ भने
त्यै बतास अछूत हुनुपर्छ
दिनभर तिर्खाएको घाम
आँगनमा पुगेर पनि
छायाँ पर्छ भने उसको करूवाबाट
त्यै घाम बेइमान हुनुपर्छ
रातको सिङ्गै सन्नाटा
मेरो छातीमा टाँसिएको बेला
उसलाई अंगालोमा बाँधेँ भनेर
यी सज्जनहरुको दिमागमा
यदि अश्लीलता पोत्दै हिंड्छ जून भने
त्यै जून वेश्या हुनुपर्छ
यतिखेर उसकै ढुकढुकी बोकेर धड्किरहने
मेरो बाहुनी मुटु चिरेर हेर्न मन छ
र चिच्याएर सोध्न मन छ
मलाई छोई बग्ने बतासलाई
मेरो शिर माथिको घामलाई
र मलाई रात रात चिहाइ हेर्ने जूनलाई
कि कसरी अछूत बन्यो मेरो प्रेम ?
देख्दैछौ होइन ?
अहिले, ठीक यतिखेर
मेरो घरको दैलो टेक्न नपाएको उही अछूत
मेरो मनको राजधानीमा
एकछत्र राज गरिरहेछ ।
काठमाण्डाैं, हाल अमेरिका ।
