राहत माग्न गएका दलितलाई मेयर कुटे




जनकपुरधाम : कोरोना संक्रमण व्यवस्थापन तथा नियन्त्रणमा सरकारले गरेको लकडाउनमा भोकभोकै बस्न बाध्य दलितले राहत माग्न जादा मेयरबाट कुटिएका छन् । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले राहत माग्न गएका दलितहरूलाई कुटपिट गरेका हुन् ।

महामारीले महिनौंदेखि काम गर्न नपाएका गरिब तथा विपन्न मुसहर समुदाय मेयर संजिव साहकहाँ राहत माग्न जाँदा कुटिएको उनीहरुले बताएका छन्। मेयरबाट कुटिएका भंगहा नगरपालिका ३ की रीता देबी सदाले भनिन, ‘लकडाउनमा काम गर्न नपाएको दुई महिना भैसक्यो, घरमा एक सुक्को चामल छैन, बालबच्चालाई कसरी पाल्नु भनेर मेयर संजिव साहसँग राहत माग्न गएँ तर मेयरले उल्टै हामीलाई कुटे ।’




भंगहा नगरपालिका ३ का रामपृत सदाले मेयरलाई राहतको लागि गुहार्न जाँदा मेयरका भाइ बिनोद साहसहित मोटसाइकलमा आएका एक हुल मानिसले कुटेको आरोप लगाए । कुटाइबाट आफू बेहोस भएपछि साथीहरुले उठाएर फुटेको कानमा टेप लगाएको देखाउँदै उनले भने, ‘मलाई पिटेर कान नै फुटाइदिए, कानबाट रगत बगेर अहिले सुन्निएको छ ।’

पहिलो चरणको राहत वितरणमा ८ किलो चामल, तीन पाउँ दाल, १ लिटर खाने तेल, १ किलो नुनले दैनिकी नचलेको भन्दै ५० किलो चामल, १० किलो दाल, ५ लिटर खाने तेल, ३ किलो नुन माग्न गएका थिए । त्यही बेलामा मेयरका भाइ विनोद साहले आफूलाई कुटेको उनले बताए ।

भारतबाट सीमासम्म आएर अलपत्र परेका छोरा र नातिको उद्धार गरिदिन गुहार माग्न गएकी रजिया देवी सदालाई मेयरको मान्छेले ५० किलो चामल माग्न दिन जसले उस्कायो, उसैलाई ल्याइदिन लाउनु भनेर फर्काएको गुनासो गरिन् । उनले भनिन, ‘मेयर र वडा अध्यक्षलाई एक हप्तादेखि महोत्तरीमा मटिहानी नाकामा छोरा र नाति फसेको सुनाउँन जाँदा तेरो लागि हामी केही गर्न सक्दैनौं, आन्दोलन गर्ने बेला कोसँग सोधर गरिस् भनेर फर्काइदिए ।’

@annapurnapost



सम्बन्धित
Loading...