सुस्ताले आफै भिटिएम खरिद गरि स्वाब संकलन थाल्यो




जेष्ठ २० । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै प्रयासमा भिटिएम खरिद गरि स्वाब परिक्षण थालेको छ । सरकारले प्रर्याप्त भिटिएम किट उपलब्ध गराउन नसकेपछि सुस्ता गाउँपालिकाले आफ्नै पहलमा चार सय वटा भिटिएम किट खरिद गरेर स्वाब संकलन सुरु गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

‘‘क्वारेन्टाईनमा संङ्ख्या बढ्दै गएको छ, पछिल्लो पटक किट नहुँदा परिक्षण प्रभावित भएपछि गाँउपालिकाले दश दिन अगाडीनै भिटिएम खरिदका लागी प्रक्रिया अगाडी बढाएको थियो, गएराति भिटिएम आएपछि आजबाट परिक्षण सुरु गर्यौं,’’ अध्यक्ष पाण्डेले भने । गाउँपालिकाले भिटिएम खरिद गरि परिक्षण सुरु गर्दा राम्रो सन्देश पनि जाने र संघीय सरकारलाई सहयोग पनि हुने उनको भनाई छ । क्वारेन्टाईनमा बस्नेहरुले छिटो परिक्षण नगरे आफुहरु क्वारेन्टाईनबाट भाग्ने चेतावनी समेत दिन थालेपछि गाउँपालिका छिटो परिक्षण गर्नुपर्ने दबाबमा परेको थियो ।




पछिल्लो पटक सरकारले आरडिटि मात्रै परिक्षण गर्ने र पोजेटिभ देखिए मात्रै स्वाब संकलन गर्ने निति लिएपछि पिसिआर परिक्षण गर्न क्वारेन्टाईनमा बसेकाहरुले माग समेत गर्दे आएका थिए । भिटिएम, संक्रमणको आशंका गरिएकाको व्यक्तिको नुमना अर्थात थ्रोट स्वाब संकलन गरि प्रयोगशाला सम्म पुर्याउने माध्यम हो ।

सुस्ता गाउँपालिकामा पश्चिम नवलपरासीमै सबैभन्दा धेरै मानिस भारतबाट आएका छन् । जसका कारण पनि सुस्ताले लामो समय देखि धेरै स्थानमा क्वारेन्टाईन बनाएर व्यवस्थापन गर्दे आएको छ । मगंलबार सुस्ता गाउँपालिकाले खरिद गरेको भिटिएम प्रयोग गरेर एक सय बढीको स्वाब संकलन गरिएको छ । जिल्लामा सुस्ताले नमुना काम गरेको र यस्ले प्रदेश तथा संघिय सरकारलाई समेत सहयोगि भुमिका खेलेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए।



सम्बन्धित
Loading...