कोरोनाविरुद्ध ७० दिनमा जडिबुटीबाट खोप बनाउने नेपाली डाक्टर
खोपको परीक्षण हुन बाँकी
कोरोना भाइरस (कोभिड- १९) को महामारी । टेलिभिजनको स्क्रिनमा कोभिड- १९ ले विश्वभर मान्छे मरेको दृश्यले हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) का प्राध्यापक डा. ललितकुमार लाल दास विचलित भए ।
यो कस्तो रोग हो, जसको औषधि र भ्याक्सिन पनि छैन । अझ कति मर्ने हो ? उनको माथिङ्गल नै हल्लियो ।
नेपालमा पनि ११ चैतमा लकडाउन भयो । उनी स्यानिटाइजर खोज्न बजारमा निस्के तर औषधि पसलमा स्यानिटाइजर उनले पाएनन् ।
‘त्यसपछि औषधि पसलमा प्रयोग गरिएको स्यानिटाइजरमा केके केमिकल प्रयोग गरेको रहेछ, त्यो टिपेर ल्याएँ’, डा. दास भन्छन्, ‘त्यसमा सबै केमिकल कम्पोजिसन थियो तर मैले १३ गते नै हर्बल स्यानिटाइजर बनाएँ । स्यानिटाइजरले चर्चा पायो । प्रतिक्रिया पनि राम्रो आयो ।’
स्यानिटाइजार उत्पादन सफल भएपछि उनको मन, मस्तिष्क यतिमै चुप बसेन । थप के गर्ने ? ‘खोप बनाउन सकियो भने !’ डा. दास सोच्न थाले ।
सरकारले गाइडलाइन्स निकाल्यो, जसमा लेखिएको थियो- ‘जडिबुटीहरू गुर्जो, अदुवा, बेसार खानू । यी जडिबुटी खायो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।’
‘कुनै न कुनै रूपमा दैनिक जीवनमा प्रयोग गरिएको सञ्जीवनी जडिबुटी हो । कोरोना भाइरससँग यी जडिबुटीको के सम्बन्ध छ ?’, डा. दास घोत्लिए ।
उनले पढेको विषय पनि यही थियो । उनले अठोट लिए यसमा केही गरेर मानव जातीको हितको लागि केही गर्छु भन्ने । यो महामारीमा देशका लागि योगदान दिनु मेरो कर्तव्य हो भनेर डा. दास कोरोनाको अध्ययनमा होमिए ।
कोरोनाको बाहिरी भाग र भित्री भागमा के छ ? यसको बनावट कस्तो छ ? कोरोनाको बाहिरी भागमा रहेको काँडा जस्तो र भित्र रहेको आरएनए (प्रोटिन) कस्तो छ ?
कोरोना भाइरसको बनावट र ग्लाइको प्रोटिनबीचमा के सम्बन्ध छ ? यसले कसरी मान्छेलाई असर गरिरहेको छ ? डा. दासले यी विषयमा गहिरो अध्ययन गरे । अन्तत: उनले पनि निष्कर्ष निकाले- काँडा र प्रोटिनलाई ब्रेक गर्न सकियो भने भाइरस कमजोर हुन्छ ।
‘ब्रेक त गर्ने तर कसरी ?’ उनले दिमाग चलाए । जडिबुटीबाट भाइरसलाई ब्रेक गर्न पो सकिन्छ कि ! कस्ता जडिबुटीबाट ब्रेक गर्न सकिएला ? फेरि उनी जडिबुटीको अध्ययन, अनुसन्धान गर्न थाले ।
उनले सरकारले निकालेको गाइडलाइनका जडिबुटीलाई नै लिए साथै एन्टी अक्सिडेन्ट एक्टिभिटिज भएका फलफूल पनि लिए । उनले यसबाट के निचोड निकाले भने यी कम्पोनेन्टले शरीरभित्र इम्युनिटी पावरको विकास गर्छन् ।
इम्युनिटी पावर राम्रो भयो भने कोरोनासँग ‘फाइट’ गर्न सक्छ । भाइरसलाई ‘कन्ट्रोल’ गर्न सक्छ ।
कोभिड- १९ लाई दुईवटामा ‘ब्रेक’ गर्न सकियो भने कमजोर हुने उनको सारभूत अर्थ थियो । त्यसपछि बिहानदेखि रातीसम्म ल्याबमै अध्ययन, अनुसन्धान र खोप बनाउन युद्धस्तरमा होमिए ।
उनले भाइरसका लागि २ वटा इन्जाइम बनाए । कोरोनाको माथिको लेयर त हटाउन मिल्यो, त्यसपछि के गर्ने ? सुरुमा भाइरस जस्तो थियो । पछि उत्परिवर्तन भइरहेको थियो । मान्छेमा भाइरस छ कि छैन भनेरसमेत थाहा नहुने स्थिति आयो । कारण- लक्षण नहुने तर परीक्षण गर्दा पोजिटिभ देखिने ।
यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ त ? उनले अरू ६ वटा मोडेल तयार पारे । २ वटा इन्जाइमको रेसियोबाट ३ वटा मोडेल तयार पारे- एस वान, एस टु र एस थ्री ।
अर्को इम्युनिटी पावरको एस फोरदेखि नाइनसम्म बनाए । मोडेल पनि तयार भयो । सबैभन्दा बढी एन्टी अक्सिडेन्ट बनाउन उनलाई समय लाग्यो । बिहान ६ बजेदेखि राती ७ बजेसम्म उनी ल्याबमै खटिए । उनले एक्लै ७० दिनमा खोपकाे माेडेल तयार पारे ।
‘यो प्रयोगबाट पुष्टि भयो भने कोरोनाविरुद्धको खोप बन्न सक्छ । खोपमा कुनै केमिकल छैन । पैसाका लागि गरेको पनि होइन । मानव जातिको कल्याणका लागि बनाएको हुँ’, डा. दास भन्छन् ।
खोप परीक्षणमा रहेकाले कुनकुन जडिबुटीको प्रयोग गरिएको छ, त्यो खुलाइएको छैन ।
‘जति पनि जडिबटी प्रयोग गरिएको छ, त्यो हामीले नियमित प्रयोग गर्ने गरिएको नै छ’, उनले भने, ‘परीक्षण सफल भएपछि सबै नाम आउँछ ।’ स्वास्थ्यवर्द्धक जडिबुटीबाट खोप बनाइएको उनले दाबी गरे ।
‘गुर्जो पनि प्रयोग गरिएको छ । गुर्जोले इम्युनिटी पावर बढाउँछ’, डा, दासले भने, ‘यसले कोरोना भाइरसको प्रोटिनलाई ब्रेक डाउन गर्छ ।’
खोपका विषयमा विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओसँग पनि उनले छलफल गरे ।
‘डब्लूएचओले आफ्नो गाइडलाइन भन्यो । कुनै पनि मेडिसिन बनाउन पर्यो भने सरकारमार्फत् आउनुपर्छ । भाइरोलोजी ल्याबबाट टेस्ट भएको हुनुपर्छ’, उनले भने, ‘अब यो खोप डब्लूएचओमा पुर्याउने काम सरकारको हो ।’
‘मैले पढेको कुरा प्रयोग गरेको मात्र हो । मेरो काम सकिएको छ । अब सरकारको काम हो । मैले गरेकामा खुसी छु तर यसको रिजल्ट आयो भने राम्रो हुन्थ्यो । यसमा सरकारले सहयोग गर्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।
विश्वका वैज्ञानिकहरू कोरोनाविरुद्धको भ्याक्सिन बनाउन जुटिरहेका छन् । नेपालमा पनि जडिबुटीबाट खोप बन्नु खुसीको कुरा हो । यदि सफल भयो भने डा. दासको मात्र होइन, नेपालको नाम आउनेछ । यसले थोरै भए पनि आशाको दियो बालेको छ ।
०००
जीवनमा अनेकन आरोह र अवरोहलाई पार गर्दै डा. दास यहाँसम्म आइपुगेका हुन् । बाराको महागढीमाई – ९ उनको जन्मभूमि । यही माटोमा उनले धेरै हन्डर र ठक्कर खाए । उनलाई म ठूलो हुँ भन्ने कहिल्यै घमण्ड भएन । अरूबाट थिचोमिचोमा पर्दा पनि उनले धैर्य छाडेनन् ।
‘म गरिब परिवारमा हुर्केको मान्छे हुँ । ठूलो मान्छे होइन । लोभ पनि छैन । तपाईंले मेरो पृष्ठभूमि सोध्नु भयो । मेरो भित्रै छोयो’, उनको पृष्ठभूमि सोधेपछि डा. दास बोल्नै सकेनन् । उनको गला नै अवरुद्ध भयो । आवाज नै रोकियो । उनी भावशून्य भए ।
ठूलो परिवार । ६ दाजुभाइ, २ दिदीबहिनी । आर्थिक अभावकाबीच पनि बुबाले छोराहरूलाई पढाउनुभएको रहेछ ।
‘लेखापढी गरेर बुबाले पढाउनुभयो । २०४८ सालमा बुबा बिरामी पर्नुभयो । उपचार गर्न पैसा भएन । पैसाको अभावले उपचार नभएर बुबाले धर्ती छाड्नुभयो’, बुबालाई सम्झिएर डा. दास फेरि भक्कानिए ।
बुबालाई गुमाउँदा उनी एमएस्सी पढ्दै थिए । घरको मियो नै नभएपछि उनले आफैँ काम गर्दै पढे । ५ वर्ष भयो उनले आमालाई पनि गुमाएको । एक जना दाजुलाई पनि गुमाए ।
‘मेरो घर, जग्गा, सम्पत्ति टन्नै होला भन्ने मान्छेलाई लाग्छ’, उनी भन्छन्, ‘कलैयामा छाप्रो छ । देख्नुभयो भने तपाईं छक्क पर्नुहुन्छ । पढ्नलाई धेरै पढेँ । पीएचडी गरेँ तर सम्पत्तिमा कहिल्यै लोभ भएन ।’
उनले २०५० सालदेखि पढाउन सुरु गरे । कलैया क्याम्पसबाट पढाउन सुरु गरेका दास हेटौँडाको मकवानपुर क्याम्पस हुँदै २०५५ सालमा फरेष्ट्री क्याम्पसमा आइपुगेका हुन् ।
‘मकवानपुर क्याम्पमा आउन डर लागेको थियो । तराईको मान्छे के हो कसो हो भन्ने भयो । विद्यार्थीले पनि पढाएको राम्रो भनेर प्रशंसा गरे’, उनी भन्छन् ।
उनको सोझोपनको फाइदा उठाएर बेलाबेलामा उनलाई अरूले दुःख दिने गुनासो गर्छन् दास । ‘सोझो मान्छेले दुःख पाउने रहेछ’, डा. दास भन्छन्, ‘बेलाबेलामा मैले पनि दुःख पाउँछु ।’
उनका एउटा छोरा र एउटी छोरी छन् । श्रमतीको साथ र सहयोगले पनि यहाँसम्म आइपुगेको बताउँछन् उनी ।
उनलाई धेरैले ‘डा. सा’बले नि पुरानो मोटरसाइकल चढ्ने हो ? गाडी चढ्नुपर्छ’ भन्छन् तर उनी वर्षौंदेखि पुरानो मोटरसाइकल चढ्छन् ।
‘सुरुमा साइकल चढेँ । पछि पुरानो ‘सिटी हन्ड्रेड’ बाइक किनेँ । अहिले पनि सेकेन्ड ह्यान्ड बाइक चढेर हिँडेको छु’, डा. दास भन्छन्, ‘कतिले पीएचडी गरेको मान्छे पनि मोटोरसाइकल चढ्ने हो भन्नुहुन्छ ।’
उनी सरल र साधरण जीवन जिउन चाहन्छन् ।
‘जीवन त सङ्घर्ष हो तर आफू सही हुँदाहुँदै पनि दुःख पाउँछु । आफूसँग जे छ, त्यसैमा सन्तुष्ट छु । मैले बनाएको खोपले कोरोना महामारीमा मानवको हित होस्’, डा. दास यति चाहन्छन् ।
- शिलापत्रबाट
