धनगढीमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि


धनगढी, २४ जेठ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका वडा नम्वर ४ की एक महिलामा कोरोना पुष्टि भएको हो ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले लामोसमयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल गएकी बताए ।
डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो।



मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ। मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिईन्। यो सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ।
यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको थियो ।
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो। मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो। उनको बाजुरा अस्पतालको आईसोलेसनमा उपचार भइरहेको छ।


सम्बन्धित
Loading...