मापदण्ड विपरितका योजनामा पैसा खन्याउँदै कावासोती नगरपालिका , नगरवासीको व्यापक गुनासो


कावासोती : कावासोती नगरपालिकाले लगानीको क्षेत्र ठम्याउन नसक्दा र मापदण्ड बिपरितका योजना छनौट गर्दा बारम्बार बिबादमा तानिएको छ । नगरपालिकाको सुरूकै नगरसभादेखि हालसम्म यस्तै रबैया जारी रहेको नगरबासीको गुनासो रहेको छ ।



कतै मापदण्ड बिपरितको बाटोमा लगानी गरिएको र कतै अनावश्यक क्षेत्रमा लगानी गर्दा जनताले तिरेको करको सहि सदुपयोग नभएको स्थानीयको आरोप छ । गएको नगरसभालाई बाईपास गरि कावासोती–३ मा जग्गा व्यवसायीहरुले खोलेको पाँच मिटरको बाटोमा २३ लाख लगानी गरि नाला बनाईएको छ । हाल छ मिटर बाटो कायम गरिएको छ । यसो गर्दा नगर सभासद्को खिल्ली उडेको एकजना सभासद्ले दुःखेसो पोखे ।
त्यसैगरि कावासोती–१६ को अंकुर सामुदायिक वन क्षेत्रमा बिना काममा दशलाखको काँढे तार–बार गरिएको छ । जैबिक बिबिधताको दृष्टिकोणले र वन्यजन्तुु ओहोर–दोेहोरमा बाधा पुग्ने भएका कारण तारबार उपयुक्त नभएको मध्यविन्दु हरियाली सामुदायिक वनका अध्यक्ष तेज बहादुर केसीले सत्य कलमलाई बताए । डिभिजन वन कार्यालय नवलपुरका प्रम्ख पुर्णेश्वर सुवेदीले जैविक विबिधताको दृष्टीकोणले सामुदायिक बनमा तारवार गर्नु उपयुक्त नहुने बताए । उनले भने,“बन्यजन्तुहरु ओहोर दोहोर गर्न आबश्यक हुन्छ , जैविक बिबिधतासंग जोडिएका धेरै कुराले तारवार गर्न उपयुक्त हुदैन । ”

अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले बन तस्करी रोक्न तारवार गरेको बताए । उनले मापदण्डको कुरा भन्दा पनि अहिले तस्करी रोक्न आबश्यक भएकाले नगरपालिकाको लगानीमा तारवार गरेको बताए ।




कावासोती–१६ को अंकुर सामुदायिक वनमा नगरपालिकाको लगानीमा गरिएको काँढे तार बार , 

कावासोती–१५ र मध्यवर्ती क्षेत्रमा पर्ने अधिकाँश वार्डहरूमा वन्यजन्तुबाट बस्ती जोगाउन भन्दै करोडौं रूपैयाँ खर्चेर मेसजाली लगाईएको छ ।  यो लगानीको उपयुक्त क्षेत्र भएपनि मापदण्ड विपरित भएको सुवेदीले बताए ।  यद्यपि मेसजाली निर्माणको अगुवाईं भने उपमेयर प्रेमशंकर मर्दनियाँले गरेका थिए ।

जनताको आधारभूत आवश्यक्तालाई सम्वोधन गर्ने योजना भन्दा ब्यक्ति बिशेषका योजनालाई प्राथमिकता दिंदा यस्तो हुने गरेको नगरका कर्मचारीको स्विकारोक्ती रहेको छ । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले सत्यकलमलाइ भने,“ पहुँचको आधारमा मापदण्ड विपरितका योजनामा लगानी भएका छन् । यसरी लगानी गर्दा काम भएको त देखिएला तर हुनै पर्ने र गर्ने पर्ने स्थानमा बजेट अभाव हुन्छ ।” नगरसभा बस्नुभन्दा अघि बिज्ञहरूसंग बजेट बारे छलफल र प्राथमिकता निर्धारणको प्रचलन नरहेका कारण हचुवाको भरमा बजेट आउने गरेको बिद्वत बर्गको समेत टिप्पणी रहेको छ ।

कुमारबर्ती क्याम्पसका पुर्ब क्याम्पस प्रमुख झपेन्द्रश्वर भुसालले मापदण्ड बिपरितको योजनामा लगानी गर्नुको कुनै अर्थ नभएको बताए । उनले भने ” कुनै पनि योजनामा काम गर्दा त्यसले मापदण्ड पूरा गरे नगरेको बारे सचेत हुनै पर्छ , नत्र त्यसमा लगानी गर्नुको अर्थ छैन । ” उनले पहुँच र प्रभावको आधारमा योजना छनोट गर्नु नै गलत भएको बताए ।

यतिबेला मुलुक कोरोनाले थिलो–थिलो परेको छ । स्थानीय सरकारले विषम परिस्थितिलाई मध्यनजर गरि कोरोनासंग लड्दै रोजगारी सृजना गर्ने र कृषि क्षेत्रलाई प्राथमिकतामा पारेर ग्रामीण सिंचाइ र उत्पादन तथा उत्पादकत्व बृद्धिको योजना बजेटमा समावेश गर्नुपर्ने आवाज उठेको छ ।

आगामी नगरसभाले आफ्नो निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने भएका कारण हचुवा र ब्यक्ति बिषेशका तथा मापदण्ड बिपरितका योजना हैन कि जनता केन्द्रीत विकासको मोडेल प्रश्तुत गर्न नगरवासीले कावासोती नगरपालिकालाई सुझाएका छन् ।



सम्बन्धित
Loading...