धुर्मुस-सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख हस्तान्तरण
चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ ।
रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम आज हस्तान्तरण गरेका हुन् ।
महायज्ञमा बोलकबोल भएको रु ६९ करोड ४० लाख ५६ हजार ९१९ रकममध्ये नगद सङ्कलन भएको ७ करोड १४ लाख ५६ हजार ६ सय ८४ रूपैयाँको चेक हस्तान्तरण गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।
प्रदेश र स्थानीय तहले घोषणा गरेको ५१ करोड ९२ लाख ६५ हजार २६३ रूपैयाँ उठ्न बाँकी छ । महायज्ञमार्फत् २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । महायज्ञमा निजी क्षेत्र, सङ्घसंस्था र नागरिकका तर्फबाट १७ करोड ४६ लाख सहयोगको घोषणा गरिएको समितिले जनाएको छ ।
यस्तै, प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । अन्य स्थानीय तहले पनि सहयोगको घोषणा गरेका थिए ।
प्रदेश सरकारले प्रदान गर्ने ३० करोड रूपैयाँ बहुवर्षीय बोलपत्र प्रक्रियाअन्तर्गत रहेर काम अघि बढाइने बाग्मती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।
उनले तत्काल समिति विघटन भइनसकेको भन्दै रकम उठाउन र रङ्गशाला निर्माणमा सहयोग पुर्याउन असार मसान्तसम्म काम गर्ने जानकारी दिए ।
कार्यक्रममा धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दाताहरूलाई महायज्ञमा बोलेअनुसारको रकम सहयोग गर्न आग्रह गरे । उनले बन्दाबन्दीका कारण रङ्गशाला निर्माणको काम प्रभावित भए पनि भित्रभित्रै काम गरिरहेको बताए । रासस