अवैध हतियारसहित एकजना पक्राउ
भरतपुर । चितवन प्रहरीले अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको छ। भरतपुर ११ भोजाडबाट जेठ २६ गते अवैध हतियार पेस्तोल र फायर भएको गोली, खोकासहित भोजाड गणेशस्थान बस्ने वर्ष २० का सुजन सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गोप्य सूचनाको आधारमा घरमा लुकाइराखेको अवस्थामा उक्त हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।
पक्राउ परेको व्यक्तिमाथि मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही हुनेछ।
उक्त कसुरमा बरामद हातहतियार जफत गरी ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको सजाय हुन सक्ने कानुनी व्यवस्था छ। पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।