फेरिँदै प्रहरीको नेतृत्व, चार वर्षपछि एआईजीबाटै आईजीपी छनोट
अबको सात दिनमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदैछ । प्रहरी महानिरीक्षक (आईजिपी )ठाकुर ज्ञवालीले असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउनेछन् । हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल अतिरिक्त महानिरीक्षक (एआईजी छन् ।
यी तीनमध्ये लम्साल आईजिपी ज्ञवालीकै ब्याचका भएकाले उनले पनि सेवा हदका कारण असार २४ मा अनिवार्य अवकास पाउँदैछन् । त्यसैले क्षत्री र पालमध्येबाट एक जनाले उक्त अवधिपछि प्रहरीको नेतृत्व गर्नेछन् ।
चार वर्ष यता प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट एकै पटक आईजीपीमा बढुवा गरिँदै आएकोमा बल्ल एआईजीबाट आईजीपीमा बढुवा हुने अवसर प्राप्त भएको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआइजीको अनुभव हासिल गर्न पाएनन् । आईजीपीसँगै एआईजी पदसमेत रिक्त हुँदा यी तीनै जनाले डिआईजीबाट एआईजी नभइ एकैपटक आइजीपी हुने अवसर पाएका हुन् ।