गजल
- सदानन्द अभागी –
रगत देशमा धेरै बग्यो अझै रगत नखोज भो
देशमा शान्ति चाहिएको छ सङ्घर्ष–पथ नरोज भो
सत्यकर्म सत्यबोली आकर्षण हो महान शक्ति
गोलाबारुद त्रासादीमा कहाँ कस्को के मोज भो
राष्ट्र अनि राष्ट्रियता जनता ठग्ने भाषण बन्यो
तारेहोटेल रिसोर्टमा मिटिङ्ग अनि त्यहीं भोज भो
जनताका खुन पसिना त चारैतिर बगेका छन्
निर्दयी ती सामन्तको दीन दुखीमा के सोज भो
स्वार्थी पथ अवलम्वन बन्न थाल्यो आदर्शवाद
आज हेर विश्वभरि थामी नसक्नु त्यो बोझ भो
