कञ्चन हत्याकाण्ड : १८ जना धनुषा प्रहरीको नियन्त्रणमा, दोषीमाथि कडा कारवाही गर्न काँग्रेसको माग
जनकपुरमा ब’लात्कार पश्चात् हत्या गरि फ्याकिएकी १० वर्षे नावालिग (कञ्चन)को हत्यारालाई कडा कारवाहीको गर्न नेपाली काँग्रेस नगर कमिटीले माग गरेको छ ।
शनिबार दिउँसो नेपाली काँग्रेस जनकपुर नगर समितिका सभापति मनोज कुमार साहको नेतृत्वमा सचिव रविन्द्र सिंह सदस्य मदन ठाकुर समेतको टोलीले स्थलगत निरीक्षण, अवलोकन,अध्यन तथा घटना सम्बन्धि सत्य र तथ्य बुझ्न घटना स्थलमा पुग्नुका साथै पीडित परिवारलाई भेटी सान्तवना समेत दिएर नेपाली काँग्रेस नगर कमिटीका अध्यक्ष मनोज साहले यो मानवता विरोधी तत्वलाई तत्काल खोजी गरेर हदै सम्मको कारवाही गर्न स्थानीय प्रशाशनसँग माग गरेका छन् ।

विहान ११ बजे भैँसी चराउन घरबाट निस्केकी १० वर्षीय नाबालिकाको जेठ १९ गते बिहान ११ बजे स्थानीय मशानधाट नजिकै दुधमती नदी किनारामा शव फेला परेको थियो ।
काँग्रेस नगर कमिटीले यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र धनुषा प्रहरी प्रमुख रमेश कुमार बश्नेतलाई समेत ध्यानाकर्षण गराएका छन् ।
अनुसन्धान हुँदै
धनुषा प्रहरीले नाबालिका हत्याबारे अनुसन्धान तीव्र पारेको छ । शव फेला परेको दिन नै वार्ड २१ को एक मशान घाटमा बस्ने अघोरी बाबा र दुईजना अन्य नाम नखुलेको युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । आज शव फेला परेको चार दिन भित्र १८ जनालाई धनुषा प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान गर्दै छ । अनुसन्धानको क्रममा पक्राउ परेका युवाहरुहरु लागू औषध सेवन गर्ने युवाहरु रहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीले घटना स्थलबाट प्रमाणको रुपमा ब्ल्याङ्केटसमेत फेला पारेको धनुषा प्रहरीको अनुसन्धानमा खटीएको एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा बताएका छन् । जेठ १९ गते नै धनुषा प्रहरीको प्रवक्ता रामेश्वर कार्कीको उपस्थितिमा ७ जना डाक्टरको समूहले पोस्टमार्टमसमेत गरि सकेका भएपनि रिपोर्ट भने अहिलेसम्म आइसकेको छैन ।

बलात्कार हो होइन भन्ने प्रश्नमा प्रहरी प्रवक्ता कार्कीले भने- ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकीन भन्न सकिन्छ ।’
घटनाको प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिन्छ तर यथार्थ चित्र रिपोर्ट आएपछि मात्र बाहिरिने कार्कीको तर्क छ । पोस्टमार्टम रिपोर्ट आज आउन सक्ने धनुषा प्रहरी प्रमुख रमेश कुमार बश्नेतले जानकारी दिएका छन ।
हामी अनुसन्धान तीब्र रुपमा अगाडि बढाएका छौ एसपी बश्नेतले भने – ‘अहिले सम्म १८ जनालाई हामी नियन्त्रणमा लिएर बिभिन्न तरिका अनुसन्धान अगाडि बढाएका छौँ । बिश्वास गर्नुस् हामी वास्तविक दोषीलाई छिटै पक्राउ गर्न सफल हुनेछौ ।’