गैंडाको खागसहित चार जना सिनामंगलबाट पक्राउ
गैंडाको खागजस्तो देखिने वस्तु बेच्न क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार दिउँसो तीन बजे ललितपुरको टौखेल बस्ने सरोज गुरूङ, नयाँठिमी बस्ने बुद्धि क्षेत्री, सिनामंगल बस्ने पूर्ण परियार र शिखा गिरी बराललाई पक्राउ गरेको हो।
उनीहरूले सिनामंगलस्थित एक क्याफेमा गैंडाको खाग खरिद-विक्री गर्न लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले खरिद विक्री गर्न लागेको अवस्थामा बुद्धि क्षेत्रीले बोकेको झोला खानतलासी गरेका थिए।
उक्त झोलाबाट गैंडाको खागजस्तो देखिने वस्तु फेला परेको परिसरले जनाएको छ।
साथै, उनीहरूलाई सामानसहित बुधबार थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसारमा पठाएको छ।