नक्कली किसानहरुका कारण वास्तविक किसानहरु मारमाः प्रदेश मन्त्री पौडेल


  • बिपि ढकाल –



परासी । नक्कली किसानहरुका कारण वास्तविक किसानहरु मारमा परेको प्रदेश नं.५ की भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आारती पौडेलले बताएकी छिन् ।




पश्चिम नवलपरासीको सुनवल १३ बडेरामा रहेको पशु पंक्षि पालन तथा कृषि समूह बडेराले शुरु गरेको दुग्ध डेरीको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएकी हुन् ।

उनले अहिले प्रदेश सरकारले त्यस्ता नक्कली कागजी किसानहरुलाई निरुत्साहित गर्न उत्पादनको आधारमा अनुदान दिने कार्यको शुरु गरेर वास्तविक किसानको पक्षमा कार्य गरेको बताइन् ।

नले अब परम्परागत कृषि पेशागर्नु भन्दा पनि सामुहिक कृषि कार्य गर्ने बानीको विकास गर्न जरुरी रहेकोमा जोड दिइन् ।

उत्पादनको लागत बढी भएका कारण कृषि पेशामा संकट आएको बताउदै अब लागत कम हुने गरी समूहमा उत्पादन गर्न जरुरी हरेको बताइन् ।

पशुपंक्षिपालन तथा कृषि समूहका अध्यक्ष खडानन्द कोईरालाको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्यालले सुनवल नगरपालिकाले नगरका किसानहरुको पक्षमा रहेर आफ्नो निति तथा कार्यक्रमहरु ल्याएको बताए ।

सुनवल नगरपालिकाले कागजी किसानहरुको अन्त्य गर्दै वास्तविक किसानको पहिचान गर्न लागेको बताए ।

त्यसैगरी सुनवल नगरपालिका वडा नं. १३ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटाले किसानहरुलाई सिंचाईको व्यवस्था, मलखाद तथा बिउविजनलाई समयमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने बतावरण सृजना गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

सोही कार्यक्रमा बोल्दै नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी (आजाद)ले कृषि पेशा सम्मान जनक रहेपनी हेर्ने टृष्टिकोण अझै परिवर्तन नआएको बताए ।

समूहका सचिव आनन्द तिवारीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन समुहका सदस्य संगम कोईरालाले गरेका थिए ।

२०७६ सालमा स्थापना भएको उक्त समुहमा ब्यवसायिक कृषक लगाएत मासुजन्य र दुग्धजन्य उत्पादनका ब्यवसायिक कृषकहरु संगठित भएका छन् । सो समूहले कृषि र पशुपालन क्षेत्रमा आवश्यक पर्ने मल विउ दाना लगायतका भेटनरी समानहरुको ब्यवस्थापन गर्दै सेवा प्रदान गर्दैजाने योजनामा रहेको संस्थाको अध्यक्ष कोईरालाले बताए ।




सम्बन्धित
Loading...