वडा सदस्यद्वारा दलितमाथि मापसे गरी कुटपिट गरेको आरोप
भरतपुर महानगरपालिका वडा नम्बर–१७ का वडा सदस्य राजकुमार तामाङले जातीय विभेद हुने गरी गालीगलौच गरेको र कुटपिटसमेत गरेको भनी स्थानीय ४२ वर्षीय दानबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ७ गते बुधबार उजुरी दिएका छन् । घटना साउन ६ गते बेलुका ८ बजेको हो ।
संक्रमित र उनको सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा स्थानीयले आवाज उठाएपछि दुई हप्ताअघि वडा कार्यालयमा छलफल भई टुङ्गिएको विषयमा ६ गते राति पुनः वडा सदस्यकै नेतृत्वमा वडा कार्यालयमा किन बढी बोेलेको भनी कुटपिट भएको पीडित दानबहादुरले बताए । ‘मादक पदार्थ सेवन गरेर ममाथि कुटपिट भयो, दलितको अपमान हुने गरी गालीगलौच भएको छ, म न्याय चाहन्छु’, दानबहादुरले भने ।
जातीय विभेद हुने शब्द प्रयोग गरी आफूमाथि कुटपिट भएको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले बताए । मुखमा सामान्य चोट लागेको उनको ७ गते भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । जाँचपछि सार्की घर फर्किएका छन् । आरोपित पक्राउ नपरेको प्रवक्ता थापाले बताए । यसअघि पनि दलितमाथि कुटपिट हुने गरेकोमा घटना गाउँमै मिलाउने गरेको उनले बताए । स्थानीय युवा गोपाल परियारले किरण तामाङले सोही घटनामा आफूमाथि कुटपिट गरेको बताए । वडा सदस्य तामाङ, स्थानीय प्रेम लोप्चन र किरण तामाङविरूद्ध उजुरी परेको छ ।
यस्तो थियो घटना
एक महिनाअघि कतारबाट आएका २ नागरिकलाई भरतपुर–१७ स्थित गोब्रेनीमा रहेको मझुवा सामुदायिक वनको होमस्टेमा राखियो । क्वारेन्टाइन बसाइँको क्रममा एक जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । विद्यालयमा ठाउँ भए पनि होमस्टेमा असुरक्षितसाथ राखिएको स्थानीयले बताएका छन् ।
त्यसपछि स्थानीयले क्वारेन्टाइनमा रही पोजेटिभ आएको र उनको संगतमा रहेकालाई पुनः १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताए । वडा कार्यालयमा संक्रमित व्यक्ति जथाभावी हिँड्डुल गरेर जोखिम बढाएको विषयमा छलफल भयो । छलफलले होमस्टे छाडेर अन्त नजाने भनी सहमति गरेको १७ नम्बर वडा अध्यक्ष ललित तामाङले बताए । सोही समयमा विवाद मिलेको भए पनि वडा कार्यालयमा भएको छलफललाई लिएर मंगलबार कुटपिट भएकोमा आफू दुःखित भएको वडाध्यक्ष तामाडले बताए ।
होमस्टे छाडेर अटेर गरेमा प्रशासनमा कुरा लैजाने भनेपछि संक्रमितको सम्पर्कमा रहेकाहरु पुनः त्यही क्वारेन्टाइनमा बसे । १४ दिनको बसाइँपछि साउन ६ गते उनीहरुको पिसिआर परीक्षण भयो । सबैको नतिजा नेगेटिभ आयो । कोरोना नहुँदा पनि जबर्जस्ती क्वारेन्टाइनमा राख्न बाध्य पारेको भन्दै कुटपिट भएको हुन सक्ने स्थानीयको भनाइ छ ।
#घाइते भनिएका दानबहादुर सार्की (सेटो टिसर्ट) र गोपाल परियार (दारी पालेको युवा) ।