सौराहामा आन्तरिक पर्यटक भित्र्याउन साइकल यात्रा
सरकारले साउनदेखि लकडाउन (बन्दाबन्दी) अन्त्य गरि सकेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्ण रुपमा खुल्ला छ । पर्यटन क्षेत्र भने साउन १५ गतेदेखि संचालनको तयारीमा छ । होटल संचालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायीहरु पर्यटक भित्र्याउन लागि परेका छन् ।
चितवनमा आन्तरिक पर्यटक भित्र्याउनका लागि युवाहरुको एक टोली आज (शनिबार) विहानै साइकल यात्रामा निस्किएका छन् । पर्यटकीय नगरी सौराहाबाट निस्किएको साइकल यात्रा टोली कसरा पुगेर फर्किएको छ ।
सौराहामा विहान क्षेत्रीय होटल संघको तर्फबाट टिसर्ट प्रदान गर्दै संघका अध्यक्ष दीपक भट्टराईले विदाई गरे । कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । सोही क्रममा बोल्दै बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र स्वास्थय चेतना समेत जगाउने उदेश्यलेको गरिएको साइकल यात्रा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।

उनले साइकलबाटै पर्यटकीय क्षेत्रहरुमा पुग्न सकिने स्थलहरुको प्रचार गरी साइकलबाटै भ्रमण गर्ने सकिने वातावरण तयार पार्नु जरुरी रहेको बताए । सौराहादेखि कसरासम्मको साइकल यात्रा पश्चात अब छिट्टै नै सौराहादेखि लोथरसम्मको साइकल यात्राको कार्यक्रम रहेको उनले जानकारी दिए ।
यस्तै क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले पछिल्लो समय साइकल चलाउनेको संख्या बढ्दै गइरहेको भन्दै साइकल मार्फत नै आन्तरिक पर्यटन प्रवद्र्धनमा लागि परेको बताए ।