सेनाको कुटाईबाट मारिएका राजकुमार चेपाङको शव पोष्टमार्टमका लागि काठमाडौंमा
सेनाको कुटाईबाट मारिएका राजकुमार चेपाङको शव पोष्टमार्टमका लागि काठमाडौं पठाईएको छ ।
चितवनमा पोस्टमार्टमका लागि दक्ष चिकित्सक नभएकाले काठमाडौं पठाईएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले आइतबार साँझ नै सबैको सहमतिमा शव काठमाडौं पठाईएको जानकारी दिए । ‘काठमाडमौंमा फरेन्सी दक्ष चिकित्सक भएकाले सबैको सहमति काठमाडौं पठाईएको हो’–मेसु डा.तिवारीले भने । साउन ७ गते राती उपचारको क्रममै भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय चेपाङको शव पोष्टमार्टम हुन सकि रहेको थिएन ।
साउन १ गतेका दिन चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले राजकुमारसहित पाँच जना युवालाई कुटपिट गरेको थियो । कुटाईबाट घाइते भएका राजकुमारको स्वास्थ्य अवस्था विस्तारै जटिल बन्दै गएपछि साउन ७ गते राती भरतपुर अस्पताल ल्याईएको थियो । उनको सोही अस्पतालमा राती नै मृत्यु भएको थियो । राजकुमारको शव आज (सोमबार) विहान ४ बजे त्रिवि शिक्षण अस्पतालमा पु¥याईएको नेपाल चेपाङ संघ चितवनका सचिव इन्द्रजित प्रजाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘शव विहान ४ बजे काठमाडौं पुगेको छ, आजै ११÷१२ को समयमा पोष्टमार्टम गर्ने तयारी छ ।’
आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि क्रिया खर्च र शव व्यवस्थापनका लागि एक लाख रुपैयाँ दिने सहमति भएको थियो । शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढाईने चेपाङ संघका सचिव सचिव इन्द्रजितले बताए । उनले भने–‘प्रक्रिया अघि बढाउनका लागि पोष्टमार्टमका लागि सहमति भएको हो, बाँकी रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्छ, अन्य विषयमा सहमति भएको छैन’–सचिव प्रजाले भने ।