चितवनमा एक वर्षमा २६१ सवारी दुर्घटना, सबैभन्दा बढी जोखिम मोटरसाइकल
चितवनमा विगत एक वर्षमा भएका २६१ सवारी दुर्घटनामा १०७ जनाले ज्यान गुमाएका छन् । दुर्घटना घटनाहरुमा सबैभन्दा जोखिमपूर्ण मोटरसाइकल बनेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकअनुसार चितवनमा गत आर्थिक वर्ष २०७६÷२०७७ मा जम्मा २६१ सवारी दुर्घटनामा प्रहरीले दुई करोड ३१ लाख चार हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टका अनुसार जिल्लाामा सबैभन्दा धेरै सवारी दुर्घटना मंसिर महिनामा ३५ वटा भएका छन् भने सबैभन्दा कम वैशाख महिनामा ७ वटा मात्र भएका छन् । जिल्लामा भएका जम्मा २६१ सवारी दुर्घटनामा १०७ जनाले ज्यान गुमाएका छन् । जसमा ८८ जना पुरुष र १४ जना महिला रहेका छन् । त्यस्तै दुर्घटनामा पाँच जना बालकले ज्यान गुमाएका छन् ।
चितवनमा भएका एक वर्षको दुर्घटनाको अवस्था हेर्दा वर्षभरीमा सबैभन्दा धेरै १७९ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् भने सबैभन्दा कम ४ वटा टिपर दुर्घटनामा परेका छन् । जिल्लामा भएका सवारी दुर्घटनाहरुमा फागुन महिनामा १४ जनाले ज्यान गुमाएका छन् भने सबैभन्द कम वैशाख र जेठ महिनामा २÷२ जनाको मृत्यु भएको छ ।
जिल्लामा गत आर्थिक वर्षमा ३० हजार ८५९ सवारीलाई कारबाही गर्दा दुई करोड ३१ लाख चार हजार राजस्व उठेको छ । जसमा सबैभन्दा धेरै फागुन महिनामा राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख भट्टले लकडाउनको अवधिमा र लकडाउन हटेपछि सवारीको व्यवस्थापनमा चितवन ट्राफिकले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनमा पास नभएका सवारी र अन्तर जिल्ला चल्ने सवारी साधन नियन्त्रण गर्ने मुख्य काम गरेका थियौं । जोरबिजोरमा लागूभएका सवारीलाई चेकजाँच र अनुगमन गरी नियन्त्रणमा लिने काम हामीले लकडाउनमा ग¥यौं ।’
ट्राफिक प्रमुख भट्टले लकडाउन खुलेसँगै सवारीको चाप बढेकाले प्रहरीको जिम्मेवारी पनि बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजार र पसलमा भीडभाड तथा आवतजावत बढेसँगै सवारी साधन बढ्दा दुर्घटनाको जोखिम पनि बढिरहेको छ ।’ अनाधिकृत पार्किङ नियन्त्रण गर्न दैनिकरुपमा ४० देखि ५० सवारी साधनलाई लक लगाएर राख्ने काम भएको उहाँले बताउनुभयो । त्यसैगरी कोरोनाको त्रास समूदायमा फैलन्छ कि भन्नेमा प्रहरी पनि सचेत रहेको छ । ट्राफिक प्रहरी प्रमुखले भन्नुभयो , ‘ आममानिसमा कोरोनाको सन्त्रास फैलिँदै गएकोले कोरोना सचेतना अभियान विभिन्न संस्थाहरुसँग लोकल लेभलमा काम गरिरहेका छौं । ’
त्यसैगरी प्रहरीले सवारीसाधनले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएको नअपनाएकोमा कडाइ गर्नुका साथै सवारीसधानले सुरक्षाका उपायहरु अपनाएका छन् कि छैनन् भन्ने पनि अनुगमन गरिरहेको छ । प्रहरीले चितवन जिल्लाभित्रको जोखिमलाई मध्यनजर गरेर रात्रिकालिन चेकजाँचलाई नै कडाइ गरिरहेको छ । बर्षा याममा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भइरहने भएकोले पनि चितवन ट्राफिक प्रहरीमा थप चुनौती र जिम्मेवारी थपिएको छ । सडक व्यवस्थापका लागि नारायणगढ–मुग्लिन सडक सुचारु गर्ने काममा पनि खटिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।