कोरोनाप्रतिको सामाजिक दृष्टिकोण बदलौं

665












नरनाथ पाण्डे, कावासोती—८, नवलपुर,


१. पृष्ठभूमि, सन् २०१९ को अन्तमाचिनको वुहान राज्यमा देखापरि बिस्तारै विश्वव्यापी महामारीको रुप लिईसकेको कोरोना (कोभिड–१९) ले यतिबेला संसारका सबै मुलुकमा नाङ्गो नाच देखाइरहेको छ । विकसित मुलुकका विकसित मानिसहरुबाट शुरु भएको यो रोग अहिले नेपालमा समेत भयावहको स्थितिमा छ । कुनैपनि राष्ट्र यो रोगको चपेटाबाट मुक्त छैनन् । संसारमा अहिलेको अत्याधुनिक समयमा पनि मानिसले प्रकृति माथि हालसम्म विजयप्राप्त गर्न सकेको रहेनछ र भविष्यमा समेत प्रकृतिलाई चुनौति दिने खाल काकार्यहरु गरेमा विनाशको ढोका खुल्नेछ भन्ने गतिलो पाठ अहिलेको महामारीले सिकाएको छ । कोरोनाको कहर समाप्त हुनुको साटो झन् बढ्दै गइरहेको अवस्था छ । यसबाट मुक्त हुन विभिन्न देशले विभिन्न खालका उपायहरु नअपनाएका होइनन् तर ती सबै फिका सावित भएका छन् । मानिसमा रहेको पृथ्वीको सर्वेसर्वा प्राणीको दम्भ कोरोना जस्तो सुक्ष्म भाईरसले यति छिटै मेटाउन सफल भएको छ । नयाँ भाईरस भएका कारण यसको थप अध्ययन र अनुसन्धान निरन्तर चलिरहे पनि ठ्याक्कै यहीहो भनेर भन्न नसकिने स्थिति छ । यो रोगको औषधी बन्ने सम्भावना त न्यून छ नै, खोप समेत विश्व स्वास्थ्य संगठनले बनेको छ भनेर भन्न सकेको छैन । विकसित मुलुकले खोप त तयार गरेका छन् तर विश्व स्वास्थ्य संगठनले प्रमाणित गर्ने आधारहरु भेट्याउन नसक्दा कुनैले पनि आधिकारिक स्वीकृति पाएका छैनन् । यसबाट के बुझिन्छ भने यो चानचुने रोग होइन ।
२. कोभिड–१९ ले गरेको विनाश, महाप्रलयकारी कोभिड–१९ रोग हालसम्मकै विनाशकारी रोगको रुपमा देखा परिरहेको छ । यसका कारण विश्वभर सारा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, आध्यात्मिक हरेक क्षेत्रमा प्रभाव परेको छ । यसको विनाश त्यतिमा मात्र सिमित नभई मानिसको मृत्यु समेत तीब्रतर ढंगले गराउन सफल भएको छ । मृत्युजन्य प्राण घातक यो रोग अहिलेको युगमा विनाशकारी रोगको रुपमा आएको छ । यसले सबै देशका उद्योग धन्दा, कलकारखाना बन्द भएका छन्, लाखौं वा करोडौं मानिसहरुको रोजगारी गुमेको छ, आर्थिक रुपमा सबै देश लगभग टाट पल्टिरहेका छन् । अन्य खालका रोगको त प्रसंग नै आउँदैन र अरु रोगबाट मर्ने मानिसको त गणना नै हुन छोडिसकेको अवस्था छ । संसारमा हुने विभिन्न मृत्युका कारणहरु एका तर्फ छन् भने अर्कोतर्फ कोरोनाको पल्लाभारी भएको अवस्था छ । जुनसुकै कारणले भएका अन्य मृत्युहरु ओझेलमा परी कोरोनाको कारण भएको मृत्युलाई नै अहिले प्राथमिकता दिइएको छ । यो २१ औंशताब्दीहो र अहिले दुनियाँमामानिसले पत्ता लगाउन बाँकी प्रायःकुनै चिजबिज नै छैन । विकास र प्रविधिको चरम वैज्ञानिक यस युगमा मानिस माथि भएको यो विनाश अपत्यारिलो भएर पनि पत्यार मान्नुपर्ने अवस्था छ । यो रोगले संसारभर अनाहकमा लाखौं मानिसहरुको ज्यान लिइसकेको छ भने लाखौं मानिसहरु अझै मृत्युको पालो कुरेर बसिरहेका छन् । ज्यान बचाउनु जत्तिको महत्वपूर्ण कुरा मानिसमा अरु केही छैन । तर मानिसले ज्यान बचाउने यस्ता कुरामा अथक परिश्रम पनि गरिरहेकै छ तर सबै प्रयास विफल प्रायः भइसकेका छन् र मृत्युदर रोकिएको छैन । मानव सभ्यताको लागियो भन्दा ठूलो विनाश र खतराको घण्टी अरु हुनै सक्दैन ।

एकपटक यो रोगबाट संक्रमित भएपछि अर्को पटक यो रोग लाग्दैन र लागि हालेमा पनि कुनै असर बिना रोग आफैं निको हुन्छ । त्यस बीचमा निको भएका व्यक्तिले अरुलाई रोग सारि हाले पनि सर्ने व्यक्तिलाई पनि कुनै असर नगरी निको हुने खालको अवस्था आउँछ । त्यसकारण यो रोग सँगखासै डराउनु आवश्यक नभए तापनि उच्च सतर्कता अपनाउनै पर्छ ।

३. कोरोना सम्बन्धी सामाजिक दृष्टिकोण, कोरोनाको यस्तै भयावह अवस्था, चुनौति र देखिइरहेका मृत्युले मानिसमा त्रास पैदा गर्नु अस्वाभाविक होइन । मानिसलाई सचेत गराई एक अर्कामा संक्रमण फैलन नदिन निकै चासो पूर्वक विभिन्न संघ, संस्था र व्यक्तिले दिईएका स्वास्थ्य चेतावनीका कारण मानिसमा त्रास फैलिएको हो । हुन पनि यो रोगको भाईरसका विभिन्न पुष्टि हुन बाँकी विशेषताहरुका कारण यसै भन्न सकिने स्थिति त छैन तर यो रोग श्वास प्रश्वासका माध्यमबाट तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने कुरा प्रमाणित नै भएको छ । यस अवस्थामा अलि बढी चेतावनी मुलक सामग्रीहरु प्रकाशन तथा प्रसारण भएका हुन् । यसका साथै प्रविधिका कारण सामाजिक सञ्जालमा आउने विभिन्न मन गढन्ते कुराहरुका कारण मानिसहरु थप आतंकित भएका हुन् । आतंकसँगै यो रोगको बारेमा समुदायले बनाएको मनस्थितिमा बढी प्रभाव परेको छ । नेपालमा मात्र होइन संसारका प्रायः सबै देशमा यो समस्या भएको कुरा बुझ्न सकिन्छ । कोरोनाको त्रासका कारण एकातर्फ मानिसलाई चिन्तित बनाएको छ भने अर्कातर्फ आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्र तहसनहस भएका कारण मानिस घरभित्रै बसिरहनु पर्दा विभिन्न मनोवैज्ञानिक समस्या पर्नाले आत्महत्या गर्नेको संख्या समेत बढिरहेको अवस्था छ । कोरोना सम्बन्धी सही सूचना नपाउने, सही सूचना ओझेलमा पर्ने र अनावश्यक बढीचढी सूचनाहरु जो कोहीले दिने गर्दा मानिसमा यस्तो अवस्था आएको कुरा निश्चित हो ।
छरछिमेकी र समुदायले कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण निकै कारुणिक छ । कोरोनाको भूतले सताएको मन मस्तिष्कमा आफ्नै घर छिमेकी वा टोलको कुनै पनि व्यक्ति यदि संक्रमित भएको प्रमाणित भएमा उसलाई सामाजिक बहिष्कार गर्ने प्रणालीको विकास भईरहेको छ । कोरोना संक्रमितको घर भनेर व्यानर समेत राखिदिने छिमेकीहरुका कारण संक्रमितको मनोभावना कस्तो बन्ला ? मानसिक तथा सामाजिक ढाडस दिनुपर्ने संक्रमितलाई समाजले गर्ने छि छि र दुरदुरको अवस्थाले संक्रमितको अवस्था झन् बिग्रने कुरा सुनिश्चित छ । पहिलापहिला कोर रोग भनेर चिनिने कुष्ठरोगीलाई यस्तै व्यवहार गरिन्थ्यो र मानिस प्रताडित बनी घर समाज छोडेर हिंड्नुपर्ने अवस्थाथियो र यद्यपिकुनै समुदायमा अझै पनि यो सोंच हावी नै रहेको छ । जबकि कम मात्रामा सर्ने, व्याक्टेरियाबाट हुने, औषधी सेवन गर्न थालेपछि सर्दै नसर्ने र पूर्णरुपमानिको हुने रोगलाई त हाम्रो समाजले पूर्वजन्मको पापबाट लाग्ने रोग र रोगीलाई पापीभनेर घृणा गरिन्छ भने अझझन् कोरोना जस्तो कुनै औषधीउपचार नभएको, अति छिटो सर्ने र मृत्युको मुखमा पु¥याउने रोगलाई र संक्रमितलाई हेर्ने दृष्टिकोण घातक नहुने त कुरै भएन । यो रोगको यथार्थ नबुझी कागको पछि दगुर्दा हाम्रो समाज आफैं नांगिदै गईरहेको लक्षण देखापर्न थालेको छ । रोगको बारेमा त अब मानिस चाहिने भन्दा बढी नै सचेत भैसकेका छन् तर अबको सचेतना कार्यक्रम कोरोना रोग प्रतिको सामाजिक दृष्टिकोण र गर्नुपर्ने व्यवहारको बारेमा हुनुपर्ने देखिन्छ ।
कोरोना संक्रमितको स्याहार सुसार देखि मृत्यु भएपछिका अवस्थाहरुलाई केलाई हेर्ने हो भने मानिसमा मानवीय संवेदना हराएकै जस्तो देखिन्छ । संक्रमितलाई घर, परिवार, छिमेकी, अस्पतालका कर्मचारी, सुरक्षानिकाय, सवारी साधनका चालक आदिले गर्ने व्यवहार बारे अध्ययन गर्ने हो भने संक्रमितको मृत्यु कोरोनाको जटिलताका कारणले भन्दा अनावश्यक त्रास र भयबाट भएको देखिन्छ । संक्रमितलाई आश्वासन, माया, ममता, हौसला, लाक्षणिक उपचार, मनोरञ्जन, व्यायाम, प्राणायाम आदिबारे सहयोग गर्नुका सट्टा छि छि र दुर दुर गराउनाले बिरामीमा पर्नजाने मनोवैज्ञानिक असर नै छिटो मृत्युको कारण हो । यदि जबसम्म मानिसले गर्ने यस्तो व्यवहारमा शीघ्र सुधार ल्याउन सकिंदैन तबसम्म आत्महत्या र रोगका कारण हुने मृत्युदर झन् बढ्ने निश्चित छ ।
४. समग्रमा, कोरोना (कोभिड–१९) एउटा दर्दनाक विश्वव्यापी महामारीजन्य रोग हो र यो रोग फैलिइरहेको अवस्था हेर्दा एकपटक जो कोही व्यक्तिलाई यसको संक्रमण हुनसक्छ भन्ने लाग्छ । सबैलाई एकपटक संक्रमण भएपछि संक्रमितको शरीरमा यो रोग विरुद्ध लड्ने प्रतिरोध क्षमता स्वतः वृद्धि हुँदै जानेछ र यो रोगलाई शरीरले नै स्वतः समाप्त गरिदिनेछ । यो रोगको अन्तिम टुंगो नै यही भएकोले सबैले मनस्थिति बनाएर बस्दा उपयुक्त होला । यो रोगको संक्रमण भएपछि शरीरले ईम्युनिटि पावरको विकास गर्दै लैजान्छ जबसम्म रोग निको हुँदैन । रोग निको हुनु भनेकै उसको शरीरमा यो रोग विरुद्धको प्रतिरोध क्षमता राम्रो हुनु हो । रोगनिको भएपछि उक्त व्यक्तिले चाहेमा अर्को गम्भीर संक्रमितलाई रगत (प्लाज्मा) दान दिनसक्छ र अर्को व्यक्तिले जीवनलाभ गर्न सक्छ । यसरी हेर्दा यो रोग लागेर निको भएका व्यक्ति समाजका लागि महत्वपूर्ण सहयोगी हुन सक्छन् ।
यसका साथै सतर्कता अपनाउँदाअपनाउँदै रोगले आक्रमण गरिहालेमा पनि कुनै हतोत्साह हुनु जरुरी छैन बरु आत्मबल बढाई, पौष्टिक पदार्थ खाई, योग, ध्यान, व्यायाम र प्राणायाम गरी रोग छिटो निको बनाउन कम्मर कसेर लाग्नुपर्छ । यो भाईरसको आक्रमण भै हालेमा यसरी नआत्तिई व्यवस्थापन गर्ने, बाहिर हिंड्डुल र काममा नजाने, घरकै आईसोलेसनमा बस्ने र रोगका लक्षण तथा चिन्हहरु कडा रुपमा देखा पर्न थाले भने मात्र सुविधा सम्पन्न अस्पतालमा जानुपर्छ । अन्यथा बिरामीलाई घरमा परिवार, छिमेकी तथा समाजले सान्त्वना, हौसला र पोषणमा ध्यान दिनुपर्छ । यति गर्नसके पूर्ण रुपमा निको हुने रोगलाई समाजले नराम्रो दृष्टिकोणले हेर्न पुग्दा संक्रमित व्यक्ति छिटो मृत्यु शैयामा पुग्न सक्छ । अतः समाज, समुदाय, घर, परिवार सबैको आत्मीय सहयोग तथा हौसलाले निको हुने रोग समाजले राख्ने नराम्रो दृष्टिकोणका कारण सजिलै बिरामीलाई मृत्युको मुखमा पु¥याउन पर्याप्त हुनसक्छ । समाजको कोरोनाप्रतिको हेर्ने दृष्टिकोण परिवर्तनको अपरिहार्य छ । कतिपय अवस्थामा त आफूलाई संक्रमणको शंका लागेर पनि समाजकै डरले नभन्ने वान जँचाउने अवस्था आएको छ जुन रोग फैलिनुमा अर्को खतरनाक व्यवहार हो । अन्तमा, तपाई हामी सबै घर बाहिर निस्के कोरोनाको भुतले खान्छ भन्ने सोंच्ने र कुनै पनि मानिसलाई देखे कोरोना मानिस हो भनेर सम्झिई त्यही अनुसार व्यवहार अपनाउने हो भने मात्र यो रोगबाट बच्न सक्छौं।
त्यसकारण समाजमा कोरोना संक्रमितप्रति हामीले सानो सोंच बनाउने र कुदृष्टिले हेर्ने होइन कि गर्वका साथ भन्न सक्नुपर्छ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु माःकश्चित दुःख भाग्भवेत् ।
९८५७०४०४६३, [email protected], (लेखक नेपाल सरकारका स्वास्थ्य सेवाका पूर्व जनस्वास्थ्य निरीक्षक हुन्)



You might also like
Loading...