सार्वजनिक सवारीमा जीपीएस प्रणाली


सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।




विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताए । उनले बोलपत्र मूल्याङ्कन भई सम्झौता बाँकी रहेको बताए । उनका अनुसार एक वर्षमा सबै सार्वजनिक यातायातमा जीपीएस जडानको काम नेपाली कम्पनीले गर्ने भएको छ । छ महिना सफ्टवेयरको काम गर्ने र छ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाइ छ । जीपीएस जडान खासगरी सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन गरिने हो । सवारी साधनको निगरानी गर्न जीपीएस प्रणाली जोड्न लागिएको हो । जीपीएस जडान गरिएपछि दुर्घटना न्यूनीकरण हुने दाबी उनको छ ।

तीव्र गतिका कारण दुर्घटना हुँदै आएकोमा गति तीव्र भएको खण्डमा तुरुन्त चालकलाई म्यासेज जाने उनले जानकारी दिए । त्यसरी चालकको निगरानी हुने र उसको व्यवहार परिवर्तन हुनुका साथै अटेर गरे कारबाहीसम्म गरिने जनाइएको छ ।




त्यस्तै गाडी कहाँ छ भन्ने कुराको जानकारी प्राप्त हुने र यात्रुले पनि प्रयोग गर्न मिल्ने गरी जीपीएस लागू गरिने जनाइएको छ । यात्रुले आफू जाने स्थान र रुट अनुसार टिकट बुक गर्नसक्ने तथा गाडीको अवस्था वा गाडी कहाँ छ भनेर हेर्न सक्ने छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।




सम्बन्धित
Loading...