कोरोना विरुद्धको लडाईः नवलपुरमा ७ जना फर्किए, ३ जना थपिए
नवलपरासीको रजहर स्थित प्राकृतिक आईशोलेशनमा उपचाररत ७ जना आज सोमवार संक्रमणमुक्त भएका छन् । पोखरा प्रयोगशालाबाट आज प्राप्त ७ जनाको नेगेटिभ रिपोर्ट अनुसार नवलपुरमा संक्रमणमुक्त हुनेको संख्या ३ सय ३७ पुगेको छ ।
यस्तै सोमवार नवलपुरका ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको कुल संख्या ३ सय ९६ पुगेको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार भरतपुर प्रयोगशालामा भएको परिक्षणमा गैंडाकोटका २ जना र कावासोतीका १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा गैंडाकोट २ का ४२ बर्षका १ पुरुष र ३८ बर्षकी १ महिला तथा कावासोती १४ की २२ बर्षकी एक महिला छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैंडाकोटका संक्रमित मेडिकल कलेजमा उपचाररत बिरामीका कुरुवा आफन्त भएको जनाईएको छ ।