परासीमा सडक निर्माणको काम गुणस्तरहीन भएपछि स्थानीयको विरोध

257












परासी । पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीमा भइरहेको सडक निर्माणको काम गुणस्तरहीन भएको पाइएको छ । पटक पटक गुणस्तरहीन काम हुँदै आएपछि स्थानीयले बिरोध गर्दै आएका छन् । लकडाउनपछि पुनः सुरु गरिएको सडकको काममा पनि गुणस्तरहीन भएको पाइएपछि स्थानीयले बिरोध गर्न थालेका हुन् ।

जिल्ला सदरमुकामको निलो गेटदेखि बुद्धचोकसम्म डेढ किलोमिटर सडक फोर लेनको रुपमा विस्तार हुँदैछ । ३ वर्षअघिबाट सुरु गरिएको काम अझै सम्पन्न हुन सकेको छैन । ३ पटकसम्म म्याद थप गरिएको छ । निर्माणका क्रममा सडकको काम अधुरै छाड्दा सदरमुकामकै अवस्था बिजोग देखिएको छ । सडकमा परेका खाल्डा खुल्डी समेत नपुर्दा सवारी साधन आवतजावतमा कठिनाई भएको छ । निर्माण सामाग्री सडक छेउमा लथालिङ छाडिएको छ । पैदल हिड्ने स्थानमा खनेर छाडेको काम पनि अधुरै छाड्दा पैदल यात्रुलाई समेत सास्ती भएको छ ।


शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले सडक निर्माणको काम सुरु गरेको हो । अहिले सडकको टिक ड्र्ेनको सोलिङको काम भइरहेको छ । त्यसमा प्रयोग भएका इट्टा र अन्य सामाग्री गुणस्तरहीन प्रयोग भएको पाइएपछि स्थानीयले बिरोध गरेका हुन् । सडक निर्माणका लागि महालक्ष्मी सुनकोशी वल्र्ड वाईज जेभी काठमाण्डौंले कुल १५ करोड ९७ लाखमा ठेक्का लिएको छ ।

गुणस्तरहीन इट्टा प्रयोगबारे फिल्डमा रहेका निर्माण कम्पनीका ओभरसियर फकरी आलमले उद्योगबाट पठाउँदा केही कमसल पठाएको स्वीकार गरे । कमसल इट्टा नै प्रयोग गरेर ड्रेनको काम गरिएको छ । डिभिजन कार्यालयबाट भएको निर्माण कार्यको स्थानीय स्तरमा अनुगमन र सहजीकरण गर्न रामग्राम नगरपालिकालाई पनि जिम्मेवारी दिइएको छ । तर कमिशनको चक्करमा कसैले पनि वास्ता नगर्दा गुणस्तरहीन काम हुँदै आएको स्थानीय रामभवन यादवले आरोप लगाए ।

सडक निर्माण कार्यका लागि नगरपालिकालाई समन्वय तथा सहजीकरण समितिमा राखिएकोले गुणस्तरहीन भएको पाइएमा काम रोक्न लगाउने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । निर्माण कार्य अन्तरगत अहिलेसम्म ७५ प्रतिशत काम सकिएको इन्जिनियर कटुवालले जानकारी दिए । सम्पन्न हुन बाँकी रहेका काममा कालोपत्रे, सडक पेटी रङरोगन, पेन्टिङ र टिक ड्र्ेन निर्माण रहेका छन् ।



You might also like
Loading...