अझै सञ्चालन हुन सकेन बुटवल–नारायणघाट सडक बिस्तार कार्य

राजमार्गमा बगर बिछ्याएर टालटुल





नवलपुर । छ महिनादेखि रोकिएको बुटवल–नारायणघाट चार लेन सडक विस्तारको काम अझै सूचारु हुन सकेको छैन । कोरोना भाइरस संक्रमणका कारण चैत ११ गतेदेखि लकडाउन गरिएपछि भर्खरै शुरु भएको सडक विस्तारको काम रोकिएको थियो ।

बुटवल–नारायणघाट सडक खण्डमा चार लेन सडक निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्षअघि बुटवलबाट सडक विस्तारको शिलान्यास गरेका थिए । यो सडक विस्तारको ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससिइसी)ले पाएको छ ।




त्यसपछि उक्त कम्पनीले बुटवलदेखि दाउन्ने र दाउन्नेदेखि नारायणघाट गरी दुई खण्डमा निर्माण कार्य शुरु गरेको थियो । पश्चिममा गैंडाकोट क्षेत्र र पूर्वमा बुटवल क्षेत्रमा काम शुरु भए पनि बन मन्त्रालयबाट रुख कटानीबारे समयमै निर्णय नगर्दा परियोजनाको कामले गति लिन सकेन ।

उता, सडक छेउमा गाडिएका बिजुलीको पोल र तार हटाउने काम पनि अझै शुरु भएको छैन । सरकारी तवरबाट हुनुपर्ने निर्णयहरुसमेत समयमै नहुँदा कामले गतिलिन नसकेकाबेला काम शुरु भएलगत्तै कोरोना महामारीले काम पूर्ण रुपमा प्रभावित हुन पुग्यो ।

कम्पनीको चाइनिज कामदारहरु चिनियाँ नयाँ वर्ष मनाउँन भन्दै गत बैशाखमा नै चीन गएका थिए । चीनबाट कोरोना संक्रमण शुरु भएपछि घर गएका ती कामदारहरु पनि समयमा फर्किन पाएनन् भने चैतदेखि लकडाउन शुरु भयो । लकडाउनकैबेला यस्ता ठूला परियोजनाको काम नरोक्ने सरकारले निर्णय गर्यो । तर यो कम्पनीले कामदार नभएको भन्दै काम शुरु गरेन ।

बुटवल–नारायणगणगढ १ सय १३ किलोमिटर सडकलाई तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चार लेनमा स्तरोन्नति गर्न सन् २०१९ को फेब्रुअरीमा सिएससिइसीसँग ठेक्का सम्झौता भएको थियो ।

बगर बिछ्याएर टालटुले काम

सडक विस्तार गरिने भएपछि वर्षाले बिग्रिएको पूर्वपश्चिम राजमार्गको दाउन्ने–नारायणघाट सडक खण्डमा पनि टालटुले काम मात्रै भइरहेको छ । चार लेन सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले भत्एिका सडकका खाल्डाखुल्डीमा बगर बिछ्याउने देखि सामान्य टालटुलको काम मात्रै गर्दै आएको जसले गर्दा सडक दुर्घटनाको जोखिम झनै बढेको छ ।

वर्षाले गर्दा सडकको सैंयौं ठाउँमा बनेका खाल्डाखुल्डीमा निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससिइसी)ले खोलाको बगर ल्याएर पुर्ने काम गर्दा दुर्घटनाको झनै जोखिम बढेको हो । राजमार्गको खाल्डो पुर्न भन्दै बगर बिछ्याउँदा गाडीको टायरले ढुंगा उछिट्टिएर बाटोमा हिड्ने तथा मोटरसाइकलमा हिड्नेहरुलाई चोट लाग्ने जस्ता घटनाहरु भइरहेका छन् ।




सम्बन्धित
Loading...