कोरोना त्रासः आफ्नै परिवारबाट प्रताडित एक नर्सको पीडा


  • नरनाथ पाण्डे – 



स्थानीय अस्पतालमा विगत ५ वर्ष अघिदेखि काम गर्दै आएकी चन्द्रिका (नाम परिवर्तन) हिंजो आज निकै तनावमा छिन् । तनाव पनि यति बढी कि कहिल्यै नसोंचेको पीडाबाट ग्रसित छन् । उनलाई यस्तो दिन आउला र भोग्नुपर्ला भन्ने कल्पनै थिएन र कल्पना बाहिरको कुराको अहिले सामना गरिरहेकी छिन् । एक छोरा सहित सभ्य परिवारमा बस्दै आएकी र श्रीमान् विदेश भएको परिवेशका बीच करारको जागिर खाईरहेकि नर्सलाई अहिले आमा, बाबु, हुर्के बढेको समाज र परिवार नै बिरानो लाग्न थालेको छ । दुनियाँमा मानिस र पारिवारिक सम्बन्धको महत्व यतिबेला कोरोना नामक भाईरसले सम्झाइदिएको छ । मानिस पनि यो प्रकृतिको एउटा अंश हो र प्राकृतिक नियम अनुसार चल्नुपर्छ, सर्वेसर्वा हुन पाईंदैन भनेर विकसित तथा अविकसित देशका सबै खालका मानिसहरुलाई सिकाइरहेको कोरोनाले चन्द्रिकालाई पनि मानव र मानवीय साईनो बारे गतिलो पाठ सिकाइरहेको छ र अझै केही समय सिकाइरहने छ ।
सन् २०१९ को अन्तमा चिनको वुहान राज्यमा देखापरि हाल विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना (कोभिड–१९) ले यतिबेला संसारका सबै मुलुकमा आफ्नो रौद्ररुप देखाइरहेको छ । प्रकृतिको कोखबाट उत्पन्न भई मै हुँ भन्ने धनी मुलुकका हुनेखाने मानिसहरुबाट शुरु भएको यो रोग अहिले नेपालमा समेत महामारीको स्थितिमा छ ।मानिसमा रहेको संसारको सर्वोत्कृष्ट प्राणीको घमण्ड कोरोना जस्तो अदृश्य भाईरसले तोड्न सफल भएको छ । यो सँगै यो भाईरसले मानिस आफू को हो, प्रकृतिमा के गर्न हुने र के गर्न नहुने भन्नेकुराको समझ सिकाइरहेको छ । यसका साथै चन्द्रिकाको जीवनमा पनि मानिसको नाता सम्बन्ध के हो, मानिस सामाजिक प्राणी हो कि होइन, मानिसले आफ्नो स्वार्थ पूर्तिका लागि के कस्ता हर्कतहरु गर्नसक्छ, मानिसले आफ्नो हितका लागि अरुका हित र पिडालाई के कसरी हेर्ने गर्छर भविष्यमा मानिसको शैली र संस्कार के हुनसक्ला भन्ने कुराले परिक्रमा गरिरहेका छन् ।


जताततै कोरोना त्रास, कोरोना संक्रमितहरुलाई हेर्ने अव्यवहारिक सामाजिक दृष्टिकोण, संक्रमित र शवलाई गरिने व्यवहारका साथै यस्तै अन्य कुराहरुको चित्त नबुझ्दो अवस्था र विभिन्न मनमा उत्पन्न भएका अनेक प्रश्नहरुको उत्तरको खोजीमा लागिरहेकि चन्द्रिकाको जीवनमा एक दिन नसोंचेको त्यस्तो अवस्था आयो जब उनी अस्पतालको नर्सको भूमिकामा काम गर्दै जाँदा सामाजिक र पारिवारिक दृष्टिकोणको पत्तो पाईन् । उनी कार्यरत अस्पतालमा उनी, अन्य स्टाफ र विरामीहरुसँग नियमित सम्पर्क हुनेगर्छ नै । कोरोना भाईरस प्रत्यक्ष सम्पर्क हुँदा श्वासप्रश्वासबाट एकदेखि अर्कोमा सर्ने रोग भएका कारण जो कोही व्यक्ति पनि संक्रमित हुने प्रबल सम्भावना छ । त्यसकारण आफू जोगिन र अरुलाई पनि जोगाउन सुरक्षाका उपायहरु अपनाउनु नै रोगबाट बच्ने उत्तम उपाय भएका कारण चन्द्रिका निकै सचेत थिईन् । यसैक्रममा उनको अस्पतालमा कार्यरत दुईजना स्टाफहरुलाई कोरोनाको संक्रमण (पि.सि.आर.) पोजेटिभ देखियो । जुन घटनाले उनी लगायत अन्य स्टाफहरु पनि बिचलित हुनपुगे र आफूलाई पनि संक्रमण हुनसक्ने सन्त्रासमा सबै रहेका थिए । जब दुईजना स्टाफमा कोरोना संक्रमण देखियो अस्पतालको सरसफाई गर्न र अरु संक्रमण फैलिन नदिन अस्पतालका सबै सेवा बन्द गरी स्थानीय प्रशासनले अस्पताल सिल ग¥यो । त्यहाँ कार्यरत अब प्रायः स्टाफहरु क्वारेन्टाईनमा बस्नुपर्ने भयो र पि.सि.आर. परीक्षण गरी रिपोर्ट नआउँदासम्म सबै सँगै यताउता गरेर अस्पतालभित्रै बस्ने र सामूहिक खाना खाने व्यवस्था गरी करिब १ हप्ता क्वारेन्टाईनमा बसे । १ हप्तापछि सबैको पिसिआर परीक्षण भयो र नतिजा २ दिनपछि आयो । भाग्यवश उक्त नतिजामा सबै स्टाफहरुको रिपोर्ट नेगेटिभ आयो । त्यसपछि सबैले खुशी बाँड्दै अबका दिनमा अझ बढी सतर्कताका साथ आफू पनि बच्ने र अरुलाई पनि बचाउने गरी काम गर्नुपर्ने भन्दै अस्पतालका सबै सेवा सुचारु गरी काम गर्ने सहमति भयो ।
उक्त दिनपछि सबैजना स्टाफहरु आ–आफ्ना घरमा जान पाउने भए । आफ्नो रिपोर्ट पनि नेगेटिभ आएपछि अरु स्टाफ जस्तै रमाएकि चन्द्रिका उक्त दिन घर जान पाउने र परिवारसँग बसेर खुशी साट्ने सुनौलो प्रतिक्षामा थिईन् ।तर चन्द्रिकाको जीवनमा सोही दिन नसोंचेको घटना घट्न पुग्यो । उनले जब आफू त्यो दिनको डिउटी सकेर घर जाने उमंगका साथ घरमा फोन गरी आफू आजका मितिसम्म सकुशल रहेको र आजै घर आउने भएको खुशी बाँडिन् र घरबाट समेत सकारात्मक खुशीका साथ आफूहरु स्वागत गर्न आतुर भएको खबर पाईन् अनि आफ्ना लत्ताकपडा मिलाउन थालिन् । सबै स्टाफहरु एक एक गर्दै आ–आफ्ना घर गए । उनी पनि अब घर जान भनी के हिंड्न थालेकि थिईन् घरबाट अकस्मात आएको एउटा फोनले उनको सारा खुशी क्षणभरमै चकनाचुर त भयो नै त्यो भन्दा पनि ठूलो असर उनको मानवीय संवेदनशीलताको चरम उल्लंघन घर परिवारबाटै भएको पहिलो घटना आफ्नै जीवनमा आईपरेको कुराले निकै चिन्तित भईन् । जब उक्त फोनमा उनलाई परिवारले पुनः सल्लाह गर्दा नेगेटिभ रिपोर्ट भएपनि घरमा नआउन, आएमा परिवार सबैलाई डर हुने, मानिस आफ्नो हुने तर रोग आफ्नो नहुने, समाजले नराम्रो दृष्टिले हेर्ने, घर नै अछुत जस्तै हुने जस्ता आदि आदि कुराहरु सुन्नुपर्दा उनका सारा खुशीहरु हराए, हातखुट्टा लगलग काम्न थाले, जीउ थरथर काम्न थाल्यो, चिडचिड पसिना आयो र होश उडेजस्तै भई बलिन्द्रधारा आँशु एकाएक नरोकिकनै खस्न थाले । कसैले देखिहाल्छ कि भनेर एकान्तमा गईन् र घण्टौं रोईरहिन् । अब के गर्ने कहाँ जाने भन्ने कुरा मनमा खेलाउन थालिन् । आखिर म मा के कमजोरी भयो, म घर जान किन नहुने, मेरो कोरोना परीक्षण त नेगेटिभ छ त, जब मसँग रोग नै छैन भने अरुलाई कसरी सर्छ, घरमा नआउनु भनेर रोक्नेले कहाँ बस्ने के खाने भनेर किन कुनै विकल्प दिएन, आखिर अस्पतालमा काम गर्दैमा म अहिले किन परिवारकै अछुत भएँ, अझ पोजेटिभ रिपोर्ट आएको भए के हुन्थ्यो होला, मैले घर परिवार र समाजबाट कति घृणा पाउँथे होला, के अरु व्यक्तिलाई कहिल्यै कसैगरी रोगको संक्रमण नहोला त, के उनीहरुलाई संक्रमण भएमा ती सधैंका लागि अछुत र घृणित नै हुन्थे त, आखिर यो रोगले किन मानिसमा मानवीयता हरायो, किन घर परिवार पनि टाढा बनायो जस्ता अनेकौं गन्थनहरु मनभित्रै केलाउँदै समय बितेको थाहा भएन । साँझ पर्नथाल्यो अरु साथीहरु सबै घरघर गएर रमाइलो गर्दै होलान्, यतिका दिनपछि परिवारसँग बसेर खुशी साट्दै होलान् अब म के गरुँ भन्दै आफ्नो मिल्ने साथीलाई पिडा सुनाउनु प¥यो भनी अस्पतालमा सँगै काम गर्ने साथीलाई फोन लगाईन् । साथीलाई सबै विवरण बताउन पनि नसक्ने गरी चन्द्रिका गलिसकेकि थिईन् र उनको स्वर बसिसकेको थियो । ती साथीसँगै करिब १० मिनेट फोनमा कुरा गर्दा निस्केका आँशुका भेलहरुले उनको सारा शरीर भिजाइसकेको थियो । साथीले फोनमा अन्त कतै नगई यहाँ मेरो घरमा आउ र यतै बसी अरु योजना बनाउँला भनेपछि चन्द्रिकाले यही बाटो नै उपयुक्त हो भनी साथीको घरमा गईन् । साथीको दुखद परिस्थिति देख्न नसकि दुवैले एक आपसमा अंगालो हाले र बेसरी रोए । केही क्षणपछि आफ्नो मन सम्हाल्दै हामी स्वास्थ्यकर्मीको लागि कोरोनाले बनाइदिएको परिस्थिति र एउटा नर्सको पहिचान हो भनी चित्त बुझाएर रुचाई नरुचाई खाना खाएर दुवैले भलाकुसारी गर्दै राती कतिबेला निदाए पत्तै भएन ।
बिहानपख चन्द्रिका ब्युँझिईन् र साथीतर्फ नजर डुलाईन् । ती साथी मस्त निदाएकि थिईन् र बिहानपख चराको चिरबिर शुरु भैसकेको थियो, यसैबिच उनको मस्तिष्कमा हिंजोका घटनाका कारण अनेकौं बादलहरु मडारिन शुरु गरे । उनले आफ्नो गल्ती के थियो भन्ने कुराको नै उत्तर खोजिरहेकि थिईन् । मनमा उत्पन्न अनेक द्वन्द्वहरुका कारण उनको दिमागमा अब त्यो घरमा नजाने बरु यतै कोठा खोजेर बस्ने कुरा गढिलो रुपले आयो र साथीसँग सरसल्लाह गरी साथीहरुकै सहयोगमा कोठा व्यवस्थापन गर्दा उत्तम हुने मनस्थिति बन्यो र हाल डेरा खोजेर बस्न थालेकि छन् । आफूलाई सम्हाल्दै जाँदा र धेरै दिन व्यतित भैसक्दा पनि हालसम्म पनि उनको मनस्थितिले आफूलाई घरपरिवारले नै बेसहारा बनाएको, घर परिवार र समाजको कोरोनालाई हेर्ने नकारात्मक दृष्टिकोण, रोग लागेपछि हताहत भैहालिने सोंच, अस्पतालमा काम गर्ने सबैलाई कोरोना हुनसक्ने सोंच, पिसिआर परीक्षणको नतिजालाई पनि विश्वास नगर्ने सोंच आदिका कारण समाज कता जाँदैछ, पारिवारिक संस्कार कता जाँदैछ, मानवता र मानवीय संवेदनशीलता के हुँदैछ भन्ने जस्ता तमाम कुराहरुले मनमा द्वन्द्व उत्पन्न गराइरहेका छन् । वास्तविक यस घटनाबाट पाठ सिकेर चन्द्रिकालाई जस्तो नियति अरुलाई भोग्नु नपरोस् भन्ने कुरामा सबै दत्तचित्त भएर लाग्नु आवश्यक छ । अबको चुनौति भनेको कोरोनासँग लड्न सुरक्षात्मक शक्ति दरिलो बनाउने र पारिवारिक तथा सामाजिक दृष्टिकोणमा बदलाव ल्याउनु नै हो । अन्तमा,कोरोनाप्रतिको पारिवारिक तथा सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने कुरामा र घरपरिवार तथा समाजको स्वास्थ्यकर्मीलाई गरिने व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । अबका दिनमा हामी सबै आखिर कोरोनासँगै बाँच्नुपर्ने भएकोले सबैको दृष्टिकोण सकारात्मक बन्दै जाओस् र मानवीय संस्कार कहिल्यै भुल्नु नपरोस् भन्ने शुभकामना दिन चाहन्छु । अस्तु

  • कावासोती—८, नवलपुर, ९८५७०४०४६३, [email protected]
    (लेखक नेपाल सरकारका स्वास्थ्य सेवाका पूर्व जनस्वास्थ्य निरीक्षक हुन्)




सम्बन्धित
Loading...