निजी अस्पतालहरू कमाउनक‌ै निम्ति मात्र खोलिएका हुन् ?

608












  • अर्जुन अविरल – 


म रजहरको आईसोलेसन गएको पन्ध्र दिन भएको थियो । तेस्रो पटक लिईएको स्वावको नतिजाको पर्खाईमा थिएँ । घरबाट फोन आयो छोरीलाई सञ्चो छैन । चार र पाँच दिन अघि नै खोकी लागिरहेको छ भने पछि खोकीको औषधि मगाएर खुवाउन पठाएको थिएँ । त्यो औषधि खुवाउँदा पनि सञ्चो भएनछ । रातिमा लगातार खोकी लाग्ने र घ्यार घ्यार आवाज आएपछि परिवार आत्तिएछन् । म गएको छ दिनमा नै परिवार सबैको पिसिआर चेक भएको थियो । नवौं दिनको दिन रिपोर्ट आयो । छोरा, छोरी र श्रीमतीमा रिपार्ट नेगेटिभ आयो । तर पनि छोरीमा केही खोकी लागिरहेको रहेछ ।

कोरोना नभई अरू कारणले पनि त खोकी लागेको होला भनेर सधैं जाँचिरहने मेडिकलबाट खोकीको औषधी मगाउन पठाएको थिएँ । झन् खोकी बढि रहेपछि त्यहीं गएर जाँचेर औषधी मगाएर ल्याउन भनें । हाम्रो कोठाबाट करिब १ किलोमिटरको दुरीमा त्यो मेडिकल थियो । त्यहाँ लगिदिने मान्छे कोही थिएन । आफ्नै स्कुटर थियो । तर बच्चालाई कस्ले समाई दिने रु वा चलाएर त्यहासम्म पुर्याईदिने मान्छे थिएन । हिडेरै भए पनि त्यहाँ पुगिन्छ जाउ भनेर श्रीमतीलाई अह्राएँ ।

श्रीमतीले मेडिकलमा एकपटक फोन गरिछन् आउन मिल्छ कि नाई भनेर । मेडिकलवालाले नआउन भनेछन् । यदि फेरि तपाईहरूलाई देखियो भने हाम्रो मेडिकल नै केही दिन शिल गर्नुपर्छ बरू सिएमसि लैजानु राम्रो उपचार हुन्छ भनेर सुझाव दिएछन् । अहिलेसम्म कति विश्वास गरेर सामान्य रूघाखोकीदेखि जे देखिए पनि त्यही लाने गर्थें तर यो बेला बाहिरै राखेर सामान्य ज्वरो नापेर सुझाव दिएको भए पनि हुन्थ्यो । माक्स, पञ्जा लगाएर यसो हेरिदिएको भए पनि हुन्थ्यो । उल्टो फोनबाटै सिएमसि लैजानु, यहाँ नआउनु भनेपछि साह्रै घृणित गरेको झै मानें ।

त्यो मेडिकलभन्दा नजिकै अरू दर्जनौं मेडिकलहरू थिए । कोठा बाहिर निस्के पछि २०० मिटर नजिकै पनि दुई/तीन वटा मेडिकल थिए । जुनलाई बढि विश्वास गरिन्थ्यो त्यहीबाट यस्तो व्यवहार भएपछि अरू प्राईभेट मेडिकलको नाम सम्झन पनि चाहिनँ । सिएमसि पुर्याउन पनि डर थियो । सिएमसिबाटै कोरोना सरेर धेरै जना यहाँ आउनु भएको थियो । त्यहाँ पनि अस्त व्यस्त थियो । अप्रेशन जस्तो संवेदनशील विषयमा पनि लापरवाहीले कुरूवा समेतलाई त कोरोना देखिएको थियो । त्यस्ता घटनाको पीडितबाट सबै कुरा सुनिएको थियो । त्यही बेला मेडिकलकै सहरमा अस्पताल चाहार्दा चाहार्दै ३ जनाको मृत्यु भएको खबर पनि आईरहेको थियो । यस्तो अवस्थामा सिएमसि पुर्याउन मनले मान्थेन । अर्कोतर्फ त्यहाँ पुर्याउने बित्तिकै कोरोना टेस्ट गर्नु पर्छ । कावासोतीदेखि भरतपुर पुर्याउनु यो अवस्थामा सामान्य पनि १५/२० हजार चाहिन्थ्यो । त्यसको जोहो कोठामा थिएन । कसैसंग सापट माग्नुपर्थ्यो । छिमेकीलाई कोरोना देखिएपछि एक्कासी बन्द भएको पसल अनि आठ दिनसम्म त म हुँदै कोठामा थुनिएका थियौं ।

आज म आएको पनि १५ दिन भईसकेको थियो । मेरो परिवार २३ दिनदेखि कोठाम‌ै थुनिएको थियो । यो अवस्थामा छोरीलाई थोरै सञ्चो नहुँदा उपचार नपाउने जस्तो देखियो । करिव ५/६ किलोमिटर पर जिल्ला अस्पताल थियो। त्यहाँ पनि कोरोना देखिएपछि इमर्जेन्सी सेवाबाहेक अरू सेवा बन्द थियो । त्यहाँ पुर्याईदिने मान्छे पनि कोही थिएन । एम्बुलेन्स नै बोलाउनु पर्थ्यो ।

जिल्लाका जनस्वास्थ्य प्रमुखदेखि सबै पालिकाका स्वास्थ्य प्रमुख र पत्रकारहरू रहेको कोभिड १९ को जानकारी विशेष एउटा म्यासेञ्जर समूह थियो । त्यो समूहमा कोरोना संक्रमितको परिवारले अन्य रोग लाए पनि उपचार नपाउने हो रु भनेर मैले प्रश्न गरें । कसैको उत्तर आएन । मेरो परिवारको अवस्था बारे म बसेको आईसोलेसन तथा प्राकृतिक चिकित्सालयका निर्देशक र व्यवस्थापक दुवैलाई जानकारी गराएँ ।

मैले अब जिल्ला अस्पताल नै पुर्याउनु पर्ला भनेर एम्बुलेन्सको नम्बर खोज्दै थिएँ । यति बेलै चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले फोन गर्नु भयो । नआत्तिनु गाह्रो अवस्था नै रहेछ भने हामी एम्बुलेन्स पठाउँछौं । जनताले बनाएको यो अस्पताल, सधैं जनताको काम गर्न तत्पर छौं भनेपछि आधा तनाव कम भयो । पछि डा. विनोद पौडेलले पनि भेटेर नै कुरा गर्नु भयो । भरतपुर अस्पतालका डाक्टरको सम्पर्क नम्बर दिनुभयो । यसैमा परामर्श लिनु आत्तिन पर्दैन भनेर आस्वासन दिनुभयो ।

मैले यताबाट परामर्श लिदैं गर्दा उता श्रीमतीले नजिकै रहेको पतञ्जली आयुर्वेद केन्द्रका गणेश आचार्यलाई फोन गरिछन् । उहाँले त्यही आएर ज्वरो नाप्ने मिटर दिनु भएछ । महमा थोरै तुलसी पकाएर खुवाउन पनि पठाउनु भएछ । एकछिन नआत्तिन भन्नुभएछ । हामीहरूको स्वाव लगेको पनि दुई दिन भईसकेको थियो । विहानको १० बजेसम्म हाम्रो रिपोर्ट आईपुग्ने सुचना पाएकाले बेलुकासम्म त घर पुगिन्छ भन्ने कुरामा ढुक्क थिएँ । त्यसैले पनि बेलुकासम्म विचार गर्न भनें । म आईपुग्छु अनि कतै लैजाउँला भनें । तर त्यो दिन नतिजा आएन ।

छोरीलाई खोकी अलि कम हुँदै छ भन्ने जानकारी पाएँ । भोलिपल्ट नतिजा प्रकाशन भयो तर म सहित धेरै साथीहरूको नतिजा पोजेटिभ नै आयो अरू एकहप्ता कुर्नु पर्ने भो । एक्काईसौं दिनको दिन चौथो पटक पुन स्वाव संकलन भयो । तेईसा‌ैं दिनको दिन कोरोना नेगेटिभ नतिजा आयो । घर फर्कें छोरीलाई सञ्चो भईसकेको थियो । सामान्य चेकजाँच गर्न पनि डराएपछि निजि अस्पतालप्रति मेरो धारणा नै परिवर्तन भयो । सबै निजी मेडिकलको व्यवहार त्यस्तो नहोला तर एउटा मेडिकलले गर्दा मेरो मनमा हजारौं प्रश्नहरू उब्जिएका छन् ।
के निजी अस्पतालहरू कमाउनक‌ै निम्ति मात्र खोलिएका हुन् कि सेवा पनि दिईरहनु पर्छ ? सामान्य उपचारले हुने ठाउँमा हजारौं, लाखौंको खर्च किन गराईन्छ ? के सरकारी अस्पतालमा योग्य डाक्टरहरू छैनन् ? लुट्नसम्म लुट्ने र अन्तिममा पन्छिने काम गर्न सुहाउँछ ? यस्ता प्रश्न नजन्मिने गरि निजी अस्पतालले सेवा दिनुपर्छ । होईन भने फेरि पनि शिक्षा र स्वास्थ्य सरकारले जिम्मा लिनु पर्छ भनेर आन्दोलन गर्नुको विकल्प देखिदैन । म जस्ता यस्तै हजारौं जनता छन् जो निजी अस्पतालबाट पीडित र अपहेलित भएका छन् ।

– लेखक दाउन्ने साप्ताहिकका प्रधानसम्पादक हुन्।

 



You might also like
Loading...