कोरोना कहर, रेडियो कर्म र अनुभव

231







बिश्वभरी फैलिएको कोरोना भाईरस संक्रमणले हाम्रो देश नेपाललाई पनि अछुतो भने राखेन । नेपालमा पनि कोरोना संक्रमणको उच्च जोखिम बढ्न थालेपछि नेपाल सरकारले २०७६ चैत ११ देखि देशलाई नै लकडाउनमा राख्यो । कोरोना भाईरस नेपालमा प्रवेश भएसँगै हरेक जनमानसमा त्राससँगै एउटा न एउटा कथा बनेको छ, कथा बन्दैछन् । कोही भोकमरीमा परेको छन्, कतिका रोजगारी गुमेका छन्, कसैलाई रोगले नभई शोकले पिरेको छ त कसैलाई चौपट भएको व्यापारको पिरलो छ। यस्तै कथा मध्ये मेरो पनि आफ्नै एउटा कथा छ । जुन आज सार्वजनिक गर्न सान्दर्भिक सम्झेकी छु ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस कोभिड १९ को महामारी युरोप, अमेरिका हुँदै दक्षिण एसियामा पनि फैलियो । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिएसँगै सरकारले गरेको लकडाउनका कारण सम्पुर्ण पसल, ब्यवसाय, होटल, रेष्टुरेन्ट, सवारीसाधन, बिधालय बन्द भएपनि रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायतका संचारमाध्यम भने बन्द भएनन् । विपतका बेला संचारमाध्यमको अझै बढि सूचना प्रवाह गर्ने जिम्मेवारी हुन्छ । त्यस जिम्मेवारीबोधलाई आत्मसात गर्दै म कार्यरत ह्याप्पी एफ.एम पनि सूचना, समाचार र कोरोना भाईरसको सचेतना सम्प्रेष्णमा दत्तचित्त भएर लागिरहयो, लागिरहेकै छौ । लकडाउनका समयमा रेडियो बन्द नगर्ने तर रेडियोमा भएका स्टाफ अलि कम गराएर सामाजिक दुरी कायम गरि रेडियोबाट समाचार, सूचना अनिवार्य प्रसारण गर्ने रेडियोको व्यवस्थापकीय पक्षबाट जानकारी आएसँगै डर र त्रासकै विच पनि म लगायत केही सिमित कर्मचारी रेडियोमा भौतिक रुपमै उपस्थित भएर काम सुचारु राख्यौँ । रेडियोमा दैनिक १० जना भन्दा बढि कर्मचारीसँगै काम गरिरहेको सन्दर्भमा कोरोना कहरकाबीच सिमित सहकर्मीसँगै काम सुरु गर्दा मनमा खिन्नता त थियो तर विषम परिस्थितीलाई आत्मसात गरि अघि बढ्ने चुनौती सामना गर्नुलाई पनि मैले त्यतिबेला अवसरका रुपमा लिने निर्णय गरिसकेकी थिए ।

 

हामी बिहानको समयका लागि एक जना, दिउँसोको समयका लागि दुई जना र बेलुकाका लागि एक जना मात्र आउने निर्णय गरेका थियौँ । जस अनुरुप म सदाजस्तै दिउँसाको सिफ्टमा आउने गरें । मेरो घर रेडियोबाट नजिक भएकाले पनि मलाई दिउँसोमा आउन सरहरूले आग्रह गर्नुभयो । यो महामारीको समयमा करिब ३ महिना म एक्लै रेडियो भित्र बसेर टेक्निसियन, समाचार लेख्ने देखि पढ्ने, सूचना तयार गर्ने, प्रोग्रामहरू फाईनल समेत म आँफू एक्लैे गर्न थालेँ । बिहानको सिफ्टमा सहकर्मी विविका, दिउँसोको सिफ्टमा स्टेशन म्यानेजर आदर्श सुशील र म र बेलुकाको सिफ्टमा सहकर्मी राजन थकाली सर मात्रै भएर हामीले रेडियोको १७ घण्टे प्रसारणलाई जारी राख्यौँ । लकडाउनका सरुवाती दिनहरुमा सुशील सर कार्यालयमा उपस्थित भएपनि विश्व ज्योति माध्यामिक बिधालयमा डिजिटल कक्षा सुरु भएपछि सर उतै ब्यस्त हुनुभयो । यो समयमा म्यानजिङ डिरेक्टर दिपेश कडरिया सरले पनि घरबाट नै हामीसँगै जोडिएर काम गरिरहनु भएको थियो । समाचार कक्षकै सहकर्मी माधव सुवेदीले पनि घरबाटै र बेला बेलामा सामुदायिक प्राकृतिक चिकित्सालयबाट न्युज, रिपोटिङ गरिरहनुभएको थियो ।

यो समयमा मलाई भने रेडियोमा एक्लै काम गर्न गाह्रो पनि थियो र धरै कुरा सिक्ने मौका पनि थियो । ह्याप्पी एफ.एम सेल्फ अपरेटिङ रेडियो भएकाले अन्य रेडियो भन्दा अलि फरक छ । ह्याप्पीमा काम गर्न आउने जोकोहीले पनि टेक्निसियन अनिवार्य सिक्नुपर्ने हुन्छ । मैले पनि सिकेकी थिए । त्यती बेला बाध्यताले सिक्नु पर्ने थियो र मैले पनि सिकेकी थिए । जुन कोरोना कहरमा सहायकसिद्ध बन्यो । रेडियोमा काम गर्ने रहर पलाएसँगै मलाई  समचार शाखामा काम गर्ने रहर भएर होला मलाई टेक्निसियन भएर काम गर्न खासै रुचि थिएन । तर यो कोरोनाले स्टाफहरू कम भएकाले टेक्निसयन, समाचार देखि सबै कुरा म एक्लै गर्नुपर्ने थियो । सहकर्मी साथीहरू धेरैजना आउन छाड्नु भयो । अन्तिममा म एक्लै रेडियोमा बिहान ११ बजे देखि बेलुकी ७ः३० बजे सम्म हुन्थे । सुरूको एकदुई  दिन त खासै केही लागेन तर लगभग एक हप्ता पछि भने मलाई न्यास्रो र एक्लोपन महसुस हुन थाल्यो । कहिलै पनि अफिसमा एक्लै नबसेको मान्छे म एक्लै बस्न थालेपछि आतिन थालेको थिए । दिन काट्नका लागि भित्ते पात्रोका दिनहरुमा गोलो घेरा लगाउने समेत गर्थे । अफिसमा म अलि चन्चल स्वभाबको, सहकर्मी साथीहरूसँग कामसँगै रमाईलो पनि गर्ने ब्यक्ति थिए । तर यो महामारीमा एक्लै समय बिताउन निकै गाह्रो पर्न थाल्यो । टेक्निसियन देखि समाचार सबै कुराको काम गर्दैगर्दा मलाई एक किसिमको अत्यास लागेको थियो । एक्लै भएकाले अफिसमा कोही नचिनेको र नजानेको मान्छे आउछन् कि भनेर सरहरूले मलाई ढोका लगाएर बस्न समेत अनुरोध गर्नुभएको थियो । मैले सरहरूले भनेको कुरालाई पनि फलो गरिरहेको थिए । केटी मान्छे एक्लै बसेर काम गरिरहँदा अपरिचित व्यक्तिबाट दुव्र्यवहार हुन सक्ने भएकाले पनि मैले भित्रबाट चुकुल लगाएर काम गर्ने गरेकी थिए । कोही मान्छे आए उहाँहरू के कामले आउनुभएको सोधेर मात्र ढोका खोल्नु भनेर सरहरुले भन्नु भएको थियो । मैले पनि त्यसै गरिरहेको थिए । दिनहरू कोरोनाको समाचार लेखेर, सूचना सम्प्रेषण गरेर जेनतेन वितिरहेको थियो । बाहिर बन्द भएकाले कार्यक्रमहरू नभए पछि कोरोनाको समाचार बाहेक खासै अरु केही समाचार पनि हुदैनथ्यो । मैले पनि त्यही अनुसारले समाजमा भएका घटना, कोरोनाले निम्त्याएको परिस्थिति यस्तै बिषयमा समाचार र रिपोर्टहरू तयार गरि रेडियोमा पढ्ने, अनलाईनमा अपलोड गर्ने र पेजमा सेयर गर्ने गरिरहेको थिए । मेरो दैनिकी यसरी नै बितिरहेको थियो । सहकर्मी साथीहरूलाई नदेखेको नभेटेको पनि थुप्रै दिन भैसकेको थियो । उनीहरू घरमा गरेको कुराहरू मलाई सेयर गर्थे भने मैले अफिसमा एक्लै गरेका कामहरू सेयर गर्थे ।

  लकडाउनमै अफिसमा एकदिन यस्तो घटना घट्यो :

सधैझै मैले भित्रबाट चुकुल लगाएर काम गरिरहेकी थिए । अचानक कसैले जोडसँग ढोका ढक्ढकायो । भित्रबाटै सोधि हेरेँ, बाहिर स्टेशन म्यानेजर आदर्श सुशिल सर हुनुहुँदो रहेछ । मैले ढोका खोलिदिए । सर अफिसमा पसेर आफनै काममा व्यस्त हुनुभयो । म ढोको लगाएर अन ईयर रुममा छिरेँ । त्यस बेला विश्व ज्योति माध्यमिक  विद्यालयमा अनलाईन क्लास सुरु भएको थियो । सुशिल सर त्यही कामको भिडियो खिच्ने, युट्युवमा फाइलहरू अपलोड गर्ने काममा दिनहुँ व्यस्त हुनुहुन्थ्यो । ढोका फेरि उसैगरि कसैले ढक्ढकायो । पुन गएर फेरि उसैगरि सोधेँ । कोही विज्ञापन दिन आएको भनेर भन्नुभयो । मैले ढोका खोलिदिएँ । ढोका खोल्ने वित्तिकै सँगै आएका तीनजना मध्ये एकले भन्नुभयो – अफिसमा पनि कोही ढोका लगाएर बस्छन् ? मैले जवाफ फर्काउन नपाउँदै उहाँहरुले फेरि प्रश्न गर्नुभयो । विज्ञापन बजाउन थियो, यसको (कागजको पाना देखाउँदै) रेकर्ड गरिदिनुस न । मैले अफिसमा सर हुनुुहुन्छ, हात सेनिटाईज गरेर जानुस न भनेपछि उहाँहरु मलाई फरक ढंगले हेर्दै अफिस कोठा तिर लागे । म भने पुनः अन ईयर तर्फ । त्यतिबेला उनिहरुको मनले के सोच्यो, कि त उनिहरु जानुन कि भगवान जानुन ।  विज्ञापनको कुरा गरेर फर्किने बेलामा उनिहरुले पुनः मतिर हेर्दै मुसुमुसु हास्दै निस्किए । उनिहरुको हेराईमा मैले फरक सोचाईको अनुभुति  गरेँ । सायद उनिहरुको मनमा मप्रति गलत सोचको भावना जागृत भयो, र त त्यस्तो व्यवहार प्रस्तुत गरे । उनिहरुको त्यो व्यवहारले मेरो मनमा अनेक कुरा खेल्न थाल्यो । एक्ली केटीमान्छे देखेपछी आँखा सन्काउने, यो केटा मान्छेको जात। यस्तै सोच्यो मनले यो बेला। थाहा छैन सहि सोंच्यो या गलत। बाहिर हेर्दा सबै राम्रो  देखिन्छ तर भित्र कसरी काम गरिरहेको छ त्यो कसैले पनि बुझदैनन् भन्ने लाग्यो । यस्तो समयमा पनि सबैलाई सहि सूचना सम्प्रेषण गर्न आफ्नो ज्यानको माया नमानि, परिवार नहेरि अफिसमा आएर काम गर्दै गर्दा कसरी त्यस्तो शब्द भन्न सकेको होला जस्तो लाग्यो । एक त मलाई एक्लै अफिसमा रहेर काम गर्दैगर्दा आँफु भित्र लागेको त्यो अत्यास त्यस माथी उनीहरूले बोलेको त्यो शब्द मन भित्र काडा नै बिझाएको जस्तो भएको थियो । त्यो कुरा मनमा राख्नै सकिन । उनिहरू अफिसबाट जाने वितिकै मैले सरलाई पनि भने उनिहरूले भनेको कुरा, मलाई एकदमै नराम्रो लाग्यो भनेर, सरलाई पनि नराम्रो लागेछ कि कुनी एकछिन त केही बोल्नु भएन त्यस पछि आँफै भन्नू भयो तिमीले यहाँ के, कति काम गरिरहेकी छौ त्यो हामीलाई थाहा छ उनिहरूले भनेको कुरालाई मनमा नलिनु, बाहिरी मान्छले जे पनि सोच्छन् जे पनि बोल्छन् । हामी मिडियामा काम गर्ने मान्छे उदार स्वभाव र निर्दिष्ट लक्ष्य लिएर हिड्नु पर्छ । यस्ता सानातिना कुरामा अल्झिनु हुँदैन ।

दैनिक अफिसमा के हुन्छ, के गरे सबै कुरा मैले घरमा गएर भन्ने बानी थियो । सधैको दिन भन्दा त्यस दिन मेरो मुहार मलिन थियो । मनमा खिन्नता भएपछी मुहारमा झल्किंदो रहेछ। त्यो दिन पनि त्यस्तै भयो।  मम्मीले मेरो अनुहार मलिन देख्ने बित्तिकै आज काम भ्याईनभ्याई थियो क्या हो भनेर सोध्नुभो। मैलें अँ मात्रै भनेर टाउको हल्लाएँ । घरबाट मलाई बाहिर रिपोर्टिङमा नजाने भित्र अफिसमै बसेर काम गर्ने सर्तले म दैनिक रेडियो गएको थिए । घर जाने बितिकै साबुनपानीले हात धुने गर्थे । दिउँसोको कुरा मम्मीलाई भन्न चाहिन तर एलिसा जो मेरो ट्विन्स बहिनी उसलाई केही कुरा नभनि मलाई निन्द्रा पनि लाग्दैन । अन्तत  मैले एलिसालाई भने उसले मलाई काम गर्दै जाँदा यस किसिमका घटनाहरू घट्छन । त्यसलाई मनमा लिएर बसेर अगाडि कसरी बढ्छेस,  तँ सहि छस भने केही फरक पर्दैन भनेर ढाडस दिई । मलाई पनि उसले भनेका कुरा हो भन्ने लाग्यो ।

सहकर्मी साथीहररूलाई अफिसबाट नै फोन गर्थे, के-के काम गरें भनेर सुनाउथें । सधैं हामी सबै सहकर्मी अफिसमै खाजा खान्थौ तर सबै घरमा बस्न थालेपछि मलाई एक्लै खाजा खाने जागर पनि लाग्दैन थियो । घरि-घरि अफिसको बार्दलीबाट बाहिर निस्केर हेर्थे । बाटो सुनसान, पसलहरू सबै बन्द, झनै मन आतिने गर्‍थ्यो । कमलो मनकी म,कहिले काहीँ रून पनि मन लाग्थ्यो तर रोएर पनि हुने केही थिएन।  बिस्तारै आफ्नो मनलाई सम्झाउन थाले । बरू आँफूले नजानेको कुरा कसरी सिक्ने भन्न तिर लागे । दिनहरू यसरी नै बितिरहेका थिए, अफिस अनि घर । घरबाट मम्मीले यो समयमा  अफिस नजानु पनि भन्नुभयो आमाको मन त हो भोलि केही पो हुने होकी भनेर पनि होला । मम्मीलाई  सम्झाउँथे । यो समयमा, म रेडियो नजिकै भएको के काम त? भनेर मम्मिलाई भन्ने गर्थे। मलाई पनि डर त लाग्थ्यो।  मलाई केही भए त सहुँला तर घरपरिवारलाई केही भए के होला जस्तो लाग्थ्यो । तर मनलाई सम्हाल्दै आफ्नो कामलाई निरन्तर दिएँ ।

लकडाउनको  समय भनेर  साथीहरूले परिवारसँग समय विताएर विभिन्न खानेकुराको परिकारहरू फेसबुकमा हाल्दै गर्दा मलाई पनि घरमै भएको भए के-के बनाउँथे होला जस्तो हुने गर्थ्यो । मेरो बहिनी एलिसा घरमै हुन्थी।  उसलाई पनि टाईम पास गर्न गारो भएको थियो। उसले बेलाबेलामा विभिन्न परिकार बनाएर मलाई म्यासेन्जरमा पठाउँथी । मैले पनि उसले पठाएको फोटो, भिडियो फेसबुकमा हालेर चित्त बुझाउने गर्थें ।

मैले रेडियोको अनईयरमा रहेको भित्ते पात्रोमा आँफू रेडियोमा एक्लै बसेको कति दिन भयो भनेर गोलो घेर समेत लगाएकि थिएँ । सहकर्मी साथीहरुसँग फेरि पहिला जस्तै गरि भेट हुने दिन कहिले आउला, कहिले हामीसँगै भईएला भनेर दिन गनिरहेकी हुन्थें ।

नेपालमा पनि पत्रकारहरूलाई कोरोना लाग्यो भन्ने समाचार धेरै आउन थाले।  मलाई पनि डर लाग्न थाल्यो ।डर लागे पनि काम त गर्नुपर्ने । नवलपुरमा पनि पत्रकारहरूको आर.डि.टि टेस्ट गर्ने कुरा भयो । म पनि बेला बखत नजिकै हुने साना जमघटका कार्यक्रममा जाने गरेकी थिएँ। नजानुको बिकल्प नहुने ठाउँमा जानै पर्‍थ्यो। सकेसम्म त फेसबुक र फोनबाटै समाचार बनाउने गरेकी थिएँ। बाहिरी कार्यक्रममा जाने गरेकाले कतै मलाई पनि संक्रमण भएको छ कि भन्ने मनमा एक किसिमको डर थियो । त्यति बेला पिसिआर भन्दा बढि आरडिटिको टेस्ट गरिन्थ्यो । देवचुली नगरपालिकामा पत्रकारिता गरिरहेका ११ जना पत्रकार साथीहरूको दुम्कौली प्राथमिक स्वास्थ केन्द्रमा आरडिटी गर्ने  भनिएको थियो । मलाई अघिल्लो दिन नै जानकारी गराईएको थियो भोलि आरडिटी गर्ने भनेर। एकदमै डर लागिरहेको थियो । वनको बाघले खावोस नखावोस मनको बाघले लगभग खाईसकेको  थियो भन्दा फरक नपर्ला। बिहान ११ बजे केन्द्रमा पुग्नुपर्ने थियो। घरमा सबैलाई जानकारी गराएकी थिए । खाना पनि राम्रो सँग खान मन लागेन । दुई गाँस खाएर डराउँदै, भगवानको नाम जप्दै घरबाट निस्किए । घरबाट निस्किने बेलामा मनमा धेरै कुरा खेल्न थाल्यो । आरडिटी पोजेटिभ आयो भने घरमा आउन नि पाउँदिन होला भनेर अलि पर पुगेसी फर्किएर घरतिर हेरें। मनमा खिन्नता भईरहेको थियो । म अफिस पुगें, सुशिल सर आईपुग्नु भएको रहेछ । सरलाई भनें- सर एकदम डर लागिराछ, पोजेटिभ आयो भने त बर्बाद हुन्छ। सरले केही हुँदैन किन आतिएको भनेर सान्त्वना दिनुभयो।  सान्त्वना दिए पनि मनमा डर बसिसके पछि  कसको के लाग्छ र ?

ह्याप्पी एफ एमबाट  म अनि स्टेशन म्यानेजर र प्रबन्धक निर्देशक भएर केन्द्रमा पुग्यौं । उहाँ पुग्दा कोही आईसक्नु भएको थियो भने कोहि आउन बाँकी थियो । आरडिटी परिक्षण सुरू भयो । मेरो मनमा झन डर पैदा भयो। धड्कन पनि अझै तेज चलेजस्तो लाग्यो। परिक्षणका लागि पहिलो अरू पत्रकारहरू जानुभयो । मेरो पालो आयो। सरहरुले नडराउ केही हुन्न भन्नू भो। तर मन भने कहाँ डराउन छोड्थ्यो र ? सानो सुई जस्तोले हातको औलाबाट रगत लिने रहेछ। पत्रकारहरूमा सबैजना पुरुष हुनुहुन्थ्यो, म एकजना मात्र महिला थिए । मनमा डर एकदमै लागिरहेको थियो ।  पालो मेरो आयो ! सुई घोच्दा एक्कासी मेरो मुखबाट “मम्मी“ भन्ने शब्द निस्कियो । त्यँहा रहनुभएका केही पत्रकार साथीहरू त हास्नु पनि भयो तर मेरो आँखा भरिएर आयो । दु:खमा सबैले सबैभन्दा पहिला आमा नै सम्झिन्छन् । सायद डरले होला मेरो हातको हत्केला पसिनाले भिजेको थियो। पसिना भएकाले एकैपटकमा रगत लिन मिलेन। फेरि सुई घोंचियो। फेरि उस्तै दुखाई।   आरडिटीको रिपोर्ट तुरुन्तै आउने भएकाले मलाई झनै डर लागिरहेको थियो । अरू सहकर्मी साथीहरू “बिन्दास पारामा हुनुहुन्थ्यो।  मलाई के होला भन्ने डर लागिरहेको थियो । एकछिन हामी गफ गर्दै गर्दा रिपोर्ट आयो । रिपोर्ट नेगेटिभ थियो । त्यस पछी मलाई अलि ढुक्क भयो । रिपोर्ट लिएर हामी रेडियो स्टेशन फर्कियौं। अफिस आईनपुग्दै मैले आइकबाटै एलिसालाई फोन गरें। रिपोर्ट नेगेटिभ आएको बताएँ। उ पनि खुशी भई। मम्मिलाई भन्दें भनें, सायद तुरुन्तै भनी पनि होला। मलाई मम्मिको फोन आएन।

त्यस पछी दिनहरु सामान्यतया  रेडियोकर्म  गरेर नै वितिरहेको थियो।

आरडिटी नेगेटिभ आएपछी स्वास्थ्य सुरक्षा अपनाएर देवचुली नगरपालिका भित्रका कार्यक्रममा म रिपोर्टिङको लागि स्थलमै पुग्ने गरेकी थिए । त्यसरी कार्यक्रममा पुगेर घर फर्किंदा बाहिरी मान्छेहरूको हेर्न दृस्टीकोण पनि फरक हुन्थ्यो । उहाँहरूले जे भने पनि म उहाँहरूको कुरालाई कुनै वास्त गर्दिनथें । कसैकसैले त पत्रकार नानी कोरोना सोरोना त लाछैन नि भनेर मजाक गर्नुहुन्थ्यो। मैले हासेरै टार्दिन्थें। तर कता कता मनमा भने एक किसिमको डर लाग्थ्यो । कार्यक्रममा जाँदा त्यहाँ आएको मान्छेलाई पनि कोरोना देखियो रे भन्दा ब्यक्तिसँग टच नभए पनि डर चाहिँ मनमा धेरै थियो । ब्यक्तिको रिपोर्ट नेगेटिभ नआए सम्म मनमा शान्ति हुने थिएन । कोरोनाको समयमा नेपालमा विभिन्न किसिमका घटनाहरू घटिरहँदा मलाई पनि यो समाजले नराम्रो दृष्टिकोणले हेर्ने पो होकी भन्ने डर लाग्थ्यो । धन्न म रेडियोबाट बाहिर त्यति धेरै हिडिरहेको थिईन र हाम्रो ठाँउमा त्यति धेरै संक्रमण पनि फैलिरहेको थिएन् ।

कोरोनाका कारण लकडाउन हुन थालेको पनि ३ महिना पुग्न थालिसकेको थियो । अब त मलाई अफिसमा कोही आएर बस्दा पनि अनौठो लाग्न थालेको थियो । एक्लै बस्ने बानी जो परेको थियो ।

फ्याटफुट कार्यक्रमहरू पनि हुन थालेका थिए । त्यसमा पनि म र स्टेशन म्यानेजर सुशील सर पुग्ने  गरेका थियौं । हाम्रो नगरपालिकामा लगभग संक्रमण देखिन थालिसकेका थिए । नवलपुर जिल्लामा एक मात्र अस्थाई कोभिड अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा रहेको थियो । नवलपुर जिल्लाभरिका संक्रमित ब्यक्तिहरूलाई उपचारका लागि त्यही आईसोलेसनमा राखिने गरिएको थियो । हामी पनि केही दिन यताबाट अस्पतालमा त्यहाँको ब्यबस्थापन कस्तो रहेको छ भनेर रिपोर्टिङको लागि गईरहेका थियौं भने अन्य सानोतिनो कार्यक्रमहरूमा पनि गईरहेका थियौं । नवलपुरमा संक्रमण फैलिरहेको थियो । हामीले पनि सुरक्षा अपनाएर आफ्नो कामलाई निरन्तर दिईरहेका थियौं ।

नवलपुरका पत्रकारको फेरि पिसीआर गर्ने कुरा भयो । एक किसिमले नगरौँ भन्ने सोचिरहेकी थिए।  फेरि मनमा डर पालिरहनु भन्दा बरू पिसिआर चेक गरौँ पोजिटिभ आए  आईसोलेसनमा बसौला नभए ढुक्क सँग काम गरौला भन्ने लाग्यो । पिसिआर टेष्ट आरडिटी भन्दा धेरै फरक थियो । अहिले आरडिटीको कुनै मान्यता नै थिएन् ।  पिसिआरको रिपोर्ट पनि कम्तीमा ४,५ दिनमा आउने गर्‍थ्यो । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले जिल्ला अस्पतालसँग समन्वय गरि पत्रकारको पिसिआर परिक्षण गर्ने ब्यवस्था मिलाएको थियो। सबै पत्रकालाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न भनिएको थियो।  हामीले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सँग समन्वय गरेर पिसिआर परिक्षण गर्ने निर्णय गर्यौ । पिसिआर देवचुलीमा रहेको नेपाल नमुना माध्यमिक बिद्यालयमा गरिंदै थियो । आरडिटी गर्ने बेलामा जस्तो मलाई त्यति डर भने लागेको थिएन। किन भने कोभिड अब हरेक मानिसका लागि सामान्य जस्तै भईसकेको थियो । पिसिआर टेष्टको दायरा पनि बढिरहेको थियो । हामी पनि पिसिआर टेष्ट गर्ने ठाउँमा पुग्यौं । अलि अलि डर त थियो मनमा तर पनि आँफूलाई कन्ट्रोलमा राखेकी थिएँ । स्वाब लिंदा सुइरो जस्तो कीट नाकको प्वालबाट भित्र हालेर लिईने रहेछ।  मलाई पनि त्यसै गर्नुभयो त्यहाँको स्वास्थकर्मिहरूले । हामी यस  पटक भने २ जनाले मात्रै पिसिआर गरेका थियौँ । बाँकी पत्रकारको केही दिनमा गरिने कुरा स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले भन्दै हुनुहुन्थ्यो।

मलाई लकडाउनले धेरै कुराहरू पनि सिकाएको छ । परेको बेला हामिले हरेक कुराको सामना गर्नुपर्छ भन्ने पनि भयो । पहिले त्यति धेरै जनाले गर्दा पनि नभ्याएको काम आज म एक्लै काम गर्न सक्ने भएकि थिए ।  बिस्तारै चलिरहेको समयलाई पनि चिन्न थालेकी  थिएँ । यो समयमा आँफूमा केही परिवर्तन ल्याउनु पर्छ भन्ने पनि मनमा लागेको थियो । खाली समयमा युट्युबमा नयाँ कुराहरू हेर्न थाले, किताबहरू अध्ययन गर्न थाले ।  बिस्तारै आँफूलाई पनि ब्यस्त बनाएँ । हेर्दाहेर्दै कोरोनाका कारणले लकडाउन हुन थालेको पनि ६ महिना पुग्यो । रेडियोको बजारको अवस्था डामाडोल जस्तै थियो। सहकर्मी साथीहरूलाई अझै बोलाउन सक्ने स्थिती नभएको सरहरुले भन्नुहुन्थ्यो । तर स्टेशन म्यानेजर र म्यानेजिङ्ग डिरेक्टर सर भने नियिमत आउन थाल्नु भएको छ । तर अझै पनि कोरोनाको त्रास भने हटेको छैन । अझै पनि भित्तामा रहेको भित्ते पात्रोमा रातो मार्करले गोलो घेरा लगाएर दिन गन्न भने मैले छोडेकी छैन।

You might also like
Loading...