प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारका ७६ जनामा संक्रमण, प्रधानमन्त्रीलाई नेगेटिभ
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
https://www.youtube.com/watch?v=-2saA-5ZMiw&t=32s
यसअघि सामाजिक सञ्जालमार्फत विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र राजन काफ्लेले आफू कोरोना संक्रमित भएको र सम्पर्कमा आएकालाई सचेत रहन आह्वान गरेका थिए ।
प्रधानमन्त्री ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटारमा कार्यरत ७६ जनामा एकैपटक संक्रमण भएको रिपोर्ट आएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ ।
प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको निकटमा रहेर काम गर्ने उनको सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको अवस्थाका बारेमा चासो बढेको छ ।
प्रधानमन्त्री ओलीको पिसिरआर रिपोर्ट भने नेगेटिभ आएको छ । सचिवालयका सदस्यहरुको भन्दा एक दिनअघि, बिहीबार, स्वाब लिएर गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका चिकित्सक डा दिलीप शर्माले बताए ।
https://www.youtube.com/watch?v=YQAUGRwpYkE&t=159s
प्रधानमन्त्रीलाई जोखिम कति ?
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार सहित सचिवालयका चार सदस्य एकैपटक कोरोना संक्रमण भएपछि प्रधानमन्त्रीलाई जोखिम कति छ भन्ने चासो बढेको छ ।
अङ्ग प्रत्यारोपण गराएका व्यक्तिहरु कोरोना संक्रमणको उच्च जोखिममा हुने र बढी जटिलता हुने विज्ञहरुले बताउँदै आएका छन् । यस्ता व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ भनिएको छ । सात महिनाअघि ६८ वर्षीय प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । यसैकारण प्रधानमन्त्रीको अवस्थाबारे चासो भएको हो ।
डा. शर्माले भने, ‘संक्रमणको जोखिम सबैलाई छ । अहिले प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाबाट जोगिन सबै सधैँ सचेत रहनुपर्छ ।’
नेपालमा कोरोना संक्रमण दर बढ्दै गएकोले सबैले विशेष सावधानी अपनाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख राजनीतिक सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा आउने सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।
प्रेस सल्लाहकार थापाले फेसबुकमा स्टाटस लेख्दै आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा रहेका सबैले विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
शुक्रबार लिइएको उनीहरुको स्वाब परीक्षणको रिपोर्ट शनिबार अपराह्न आएको हो । प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहको पनि केही दिनअघि पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ जना सुरक्षाकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको छ । बालुवाटारमा खटिएका नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
