कोरोना संक्रमति ट्रम्पले भनेः केही दिन वास्तविक परीक्षाको घडी

43







कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थालाई लिएर अनेक अट्कलबाजी भइरहेका बेला उनले एक भिडियो सन्देश जारी गरेका छन् ।

उनले आफ्नो स्वास्थ्यमा सुधार आएको महसुस गरेको भन्दै केही दिन ‘वास्तविक परीक्षाको घडी’ हुने बताएका छन् ।

कोभिड–१९ संक्रमण पुष्टि भएपछि ट्रम्पको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरू भइरहेका बेला ट्विटरमा भिडिओ पोस्ट गर्दै उनले आफूले स्वास्थ्यमा सुधारको महसुस गरिरहेको बताएका छन् ।

राष्ट्रपतिका चिकित्सकले राष्ट्रपतिको स्वास्थ्यमा राम्रो भइरहेको र सङ्क्रमण पुष्टि भएयता उल्लेख्य सुधार आएको जनाएका छन् ।

खतराबाट अझै बाहिर आइनसकेको अवस्थामा स्वास्थ्यकर्मीको टोली राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्वक आशावादी रहेको डा.सीन कोन्लीले एउटा विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

चार मिनेट लामो भिडिओमामा राष्ट्रपति ट्रम्पले वाशिङ्टनस्थित द वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरका चिकित्सक तथा नर्सहरूलाई धन्याद दिएका छन्।

‘म यहाँ आउँदा मेरो स्वास्थ्य त्यति राम्रो थिएन। अहिले म पहिलाभन्दा राम्रो महसुस गरिरहेको छ,’ उनले भनेका छन्, ‘मेरो विचारमा आउँदा केही दिन वास्तविक परीक्षाको हुनेछ। अब हेरौँ के हुन्छ।’

उनले आफू निर्वाचन प्रचारप्रसारमा फर्किन चाहेको समेत बताएका छन् । ३ नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दैैछन् ।

डाक्टर कोन्लीले राष्ट्रपति ट्रम्पलाई अहिले अतिरिक्त अक्सिजन नदिइएको र विगत २४ घण्टादेखि उनलाई ज्वरो नआएको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प केही दिन द वाल्टर रीडमै रहनेछन् ।

कोन्लीले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्ण आशावादी रहेको बताएपनि उनी अस्पतालबाट कहिले डिस्चार्ज हुन्छन् भन्नेबारे अहिले नै भन्न नसकिने बताए ।

ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मीडोजले भने राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनको स्वास्थ्य सुधार हुने दिशातर्फ गएको स्पष्ट सङ्केत पाइनसकेको बताएका छन्।

अमेरिकी राष्ट्रपतिको निर्वाचन हुन जम्मा ३२ दिनमात्रै बाँकी रहँदा ट्रम्प कोरोना भाइरस संक्रमित भएका हुन्।

You might also like
Loading...