भरतपुर–२० का वडाअध्यक्षको कोरोना संक्रमणवाट मृत्यु
चितवन असोज २५ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको हो ।उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए ।
उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।
असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए। अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो ।
चितवनमा पहिलोपटक कोरोनाबाट जनप्रतिनिधिको मृत्यु भएको हो । अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।


