नवलपुरमा कोरोना भाइरसः तथ्यांक संकलन र संक्रमितको पहिचान मै समस्या

368







नवलपुर । स्वास्थ्यका कर्मचारीहरुलाई पूर्वी नवलपरासीमा कोरोना भाइरस कोभिड १९ का संक्रमितहरुको तथ्यांक संकलनमै समस्या हुने गरेको छ ।
जिल्लामा लक्षण देखिएका कतिपय विरामीहरु सोझै काठमाडौं, चितवन र बुटवल जाने र उतै परीक्षण गरेर रिपोर्ट आउँदा समस्या हुने गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कतिपय बेला रिपोर्ट आएको २÷३ दिनसम्म जानकारी पनि नहुने तथा कतिपय बेला जिल्लाको संक्रमित हो भन्ने थाहा भए पनि को हो संक्रमित भनेर पहिचान गर्नै ग्राहो हुने गरेको छ ।
जिल्ला भित्रै पनि स्थानीय तहमा भएको स्वाब संकलनमा कतिपयले गलत ठेगाना टिपाइदिने र कतिपयले गलत सम्पर्क नम्बर टिपाइदिने गरेका कारण संक्रमण पुष्टि भएपछि खोज्नै समस्या हुने गरेको चापागाईले बताए।

संक्रमितहरुको सम्पर्कमा आएका र लक्षण देखिएकाहरुलाई जिल्लामै स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरे पनि अन्य रोगहरुसँगै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाहरु सोझै जिल्ला बाहिरको अस्पतालमा जाने र ति अस्पतालहरुले जिल्लामा बेलैमा रिपोर्ट नपठाइदिंदा समस्या भएको चापागाई बताए ।
त्यस्तै अनुभव कावासोती स्वास्थ्य शाखा प्रमुखको पनि छ । कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले स्वाब संकलन गर्न जाँदा फरक नाम र फरक वडा टिपाइदिने र कतिपयले जिल्ला समेत फरक टिपाइदिने गर्दा संक्रमण पुष्टि भईसकेपछि खोज्न समस्या हुने गरेको बताए ।

नवलपुरमा शुक्रबारसम्मको तथ्यांक अनुसार नवलपुरमा संक्रमितको संख्या १२९९ पुगेको छ । जसमध्ये १० जनाको निधन भएको छ भने ८५० जना निको भएका छन् ।

 

You might also like
Loading...