३२ वर्षदेखि ‘म्याउ-म्याउ बिरालो’ खोज्दै सोती
लमजुङ कुन्छामा जन्मिएका ७२ वर्षीय दीपक सोतीले हरेक दिन केही न केही लेखिरहेका हुन्छन् । साहित्य क्षेत्रमा लागेर जीवन विताएका सोतीले १४ वर्षदेखि कविता लेख्न शुरु गरे ।
सानै उमेरदेखि साहित्यमा चाख राख्ने सोतीका प्रकाशित अप्रकाशित थुप्रै गीत कविताहरु छन् । सोतीले चाहेर पनि उनका कतिपय रचनाहरु भने पाण्डुलिपीमै सिमित छन् । किन प्रकाशित हुन सकेनन्, त उनका कृतिहरु ? सोती भन्छन्– परिस्थितिले त्यस्तै बनाउँदो रैछ ।
सोतीले पहिलो पटक विद्यालय पढ्दै गर्दा २०२१ सालमा ‘नरोक मलाई’ भन्ने पहिलो कविता रचना गरे । त्यो कविता शान्ति हाइस्कुल कुन्छामा सुनाउँदा दोस्रो स्थान हासिल गरेको सम्झन्छन् ।
जब राजा महेन्द्रबाट बक्सिस् पाए ..
०२३ सालमा कुन्छाबाट चितवनको रामपुरमा आयोजित साहित्यिक कार्यक्रममा भाग लिन सोती चितवन झरे ।
प्रतिष्ठित कविहरुकाबीच कट्टु लगाएर गएका सोतीलाई बालकविको संज्ञा दिँदै कविता सुनाउने अवसर दिलाएछन् भीमनिधि तिवारीले ।
केदारमान ब्यथितको अध्यक्षतामा भएको त्यो कार्यक्रममा राजा महेन्द्रको समेत उपस्थिति थियो । त्याहाँ सोतीले यस्तो कविता सुनाए की महेन्द्रको ताली बज्यो ।
मेरा आवाजहरुलाई,
शत्रुका आँखाले, पेट भरेर राखेका हुन्छन्
त्यसैले,
हरियो बाँसको पलङमाथि,
पहेँलो झुलको कात्रोभित्र
चीर निन्द्रामा नपरेसम्म सुख छैन मलाई ..
पहिलो पटक यति ठूलो मञ्चमा कविता सुनाउँदा ताली मात्र बजेन । सरकारबाट बक्सिस् पाउँदा सोतीलाई खुसीको सीमा रहेन ।
कविता लेखेकै कारण तत्कालिन पञ्चायती ब्यवस्थाको सास्ती नभोगेका पनि होइनन् उनले । गण्डकीको अञ्चलाधीसले उनलाई तारिख समेत बोकाए ।
मेरी मस्र्याङ्दीको पाण्डुलिपीबाट नै राज्य विरुद्ध कविता लेखेको भन्दै गण्डकी अञ्चलका अञ्चलाधिसले सोतीलाई पक्राउ गर्न लगाएका थिए । तत्कालिन राजा बीरेन्द्रबाट पनि तीन चार पटक बक्सिस पाएका थिए उनले । आफ्नो कविताबाट प्रभावित भएर नै बीरेन्द्रबाट बक्सिस पाएको उनी बताउँछन् ।
वि.सं. २०३० सालमा पोखरामा आयोजिक कार्यक्रममा भाग लिन सोतीले आफ्नो कविता पठाए । कविता स्वीकृत भएपछि बाचन गर्ने मौका पाए उनले । राष्टूकवि माधवप्रसाद घिमिरेले त्यो कविता नसुनाउन सुझाव दिए सोतीलाई । तर उनले मानेनन् ।
जब उनले कविता पाठ गर्दै गए, राजाले ताली बजाए । अरु सबैले ३ सय रुपैयाँ पाएको त्यो कार्यक्रममा सोतीले राजाबाट अतिरिक्त ५ हजार रुपैयाँ बक्सिस् पाए । त्यही बक्सिस्ले उनलाई साहित्य क्षेत्रमा अघि बढ्ने झनै हौसला मिल्यो ।
३२ वर्षदेखि खोज्दै “म्याउ म्याउ बिरालो“
दीपक सोतीले २०२८ सालतिर रमाइलो बालगीत लेखे ‘म्याउँ म्याउँ बिरालो’ । उनले लेखेको यो रचना हरेकजसो बालबालिकाको मुख मुखमा झुण्डिएको छ ।
तत्कालिन प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास बैष्णवले आफ्नै कोठामा ओस्ताज भैरबहादुर थापालाई बोलाएर सोतीको बाल गीत ‘म्याउँ म्याउँ बिरालो’ रेकर्ड गर्न लगाएका थिए । भैरवबहादुरको संगीत र उनकी छोरी संगीता थापाको श्वरमा गीत रेकर्ड भयो ।
उक्त गीत रत्न रेकर्डिङको ८१ नम्बरमा दर्ता भएको सोतीलाई सम्झना छ । तर रत्न रेकर्डिङ बन्द भइसकेको अवस्था छ । तैपनि उक्त रेकर्ड नेपाल टेलिभिजनमा सुरक्षित रहेको सोतीको विश्वास छ ।
आफ्नो रचना रेकर्ड भएको थाहा पाएर पनि उनले खासै वास्ता गरेनन् । ०४५ सालपछि भने आफ्नो रचना खोज्दै सोती रेकर्डिङ स्टुडियोदेखि रेडियो नेपाल र नेपाल टेलिभिजन धाइरहेका छन् । ३२ वर्षदेखि खोजी गरे पनि उनको रेकर्डको भने अत्तोपत्तो छैन । रेडियो नेपालदेखि ब्रोडकाष्टिङ रेडियोहरु भारत, चीन र श्रीलंकाका रेडियोमा बज्ने गरेको गीत यूट्यूबमा लाखौंले हेरेका छन् । यूट्युबमा आइपुग्दा भने उनका रचना तोडमोड गरिएका छन् ।
‘त्यसको रोयल्टीको निम्ति मुख्य कुरा मैले क्यासेट खोजिरहेको छु ।,’ उनले भने– ‘क्यासेट पाइन्छ, रचना तपाईँकै रैछ, भूकम्पमा ती क्यासेटहरु सबै फुटे, अब हामी तिनलाई बनाउँदैछौं भनेर नवराज लम्सालले भन्नुभयो ।’ सोतीले रेडियो नेपालकै ललिजंग रावलसँग पनि कुरा गरिरहेका छन् ।
यो गीतको ३/४ लाख रुपैयाँ रोयल्टी पाइसक्नपर्नेमा अन्याय भएको भन्दै यसको मुद्दा नै लाग्ने भनेर खोजी गर्न पहल गरिदिने दीपक जंगमले पनि आश्वासन दिएका छन् सोतीलाई । गीत रेकर्ड भइसकेपछि रेकर्डिङ स्टुडियोबाट ८० रुपैयाँ पाएका थिए सोतीले ।
एकता प्रकाशनमा अरुले नै सम्पादन गरी उक्त गीत छापियो । आफ्नो रचना रहेको भन्दै प्रकाशन गृह पुगे उनी । उनको नाम उल्लेख गरिदिने राखिदिने प्रतिवद्धता जनाउँदै प्रकाशनले २ हजार रुपैयाँ दियो ।
‘नाम बिर्सिएँ, वस्ती थरका एक जनाले सम्पादन गरिएको पुस्तकमा बेनामे गीत छापिएछ’, सोतीले भने – ‘सम्पादकको त्रुटी रहेको प्रकाशनले औंल्याएको छ ।’
यस्तो थियो उनको रचना
म्याउ म्याउ बिरालो मुसो मारी खाउ
मेरो नाना काटि गर्ने मुसाहरु खाउ ।
कराहीको दुधु, खाइदियौ भने
म त भोकै हुन्छु, नखाइदेउ भन्छु ।
बाबा भन्छिन् खाली, बुबु चोर्न जाली
आमा भन्छिन्, चोरले भाडाहरु फोर्ले ।
बुबु चोर्यौ भने लठ्ठीले नै हान्छु
न आइज न यता, चोर्ने म्याउँ भन्छु ।
चोर्लिस नि की लात्तीले हान्छु ।
*************
सोतीका सिर्जनामा सामाजिक चित्रणहरु प्रशस्त पाइन्छन् । उनले समाजको चित्रण गरेर राष्टूवादी कविता मात्र कोरेनन्, क्रान्तिकारीलाई ब्यङग्य गर्न पनि पछि परेका छैनन् ।
साथी भन्छ, म क्रान्तिकारी,
एक होटल एक बोतल एक साडी,
तीन चिजको अधिकारी ।
भोक लाग्छ होटल जिन्दाबाद,
पीर लाग्छ बोतल जिन्दावाद
बोतललाई साडी जिन्दावाद
तीन चिजमा अधिकारी
म कति क्रान्तिकारी ?
*************
सोतीको ‘मेरी मस्र्याङदी’ कविता संग्रह (२०२८) पहिलो प्रकाशित कृति हो । ‘दुई बत्ति निभेर’ कविता संग्रह (२०३०), ‘समालोचक’ शोक काब्य (२०४१), ‘जगदम्बा’ काब्य २०४५ र ‘मेरी आमा रुँदी हुन्’ कविता संग्रह (२०६७) प्रकाशित छन् ।
धरा मासिक साहित्यिक पत्रिका उनका सम्पादित कृति हुन् भने गोरखापत्र, माधुर्य, मिर्मिरे, गरीमा, प्रज्ञा, पल्वल, दौंतरी, लालूपाते, सरस्वती लगायतका पत्रिकामा उनका फुटकर कविताहरु प्रकाशित छन् ।
केदारमान ब्यथितको समयमा तथा डा.बासुदेव त्रिपाठी उपकुलपति हुँदा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान तथा धरा साहित्यिक मासिकबाट पनि २०४५ सालमा सोती पुरस्कृत भएका थिए ।
उनले बालकृष्ण समदेखि गोविन्दराज बिनोदीसम्मलाई भेटे । कुनैबेला भूपि शेरचन र बालकृष्ण समसँग हौसिए भने सिद्धिचरण श्रेष्ठ, केदारमान ब्यथित र राष्टूकवि माधवप्रसाद घिमिरेबाट ज्ञान बटुले उनले ।
राजेश्वर देवकोटा, श्यामदास बैष्णव, लोकेन्द्रबहादुर चन्ददेखि गोकुल जोशी र धर्मराज थापा सोतीका दौंतरी बने । दैवज्ञराज न्यौपाने, क्षेत्रप्रताप अधिकारीसँग पनि साहित्यिक जमघट भइरहन्थ्यो उनको ।
नया सडकको चित्र
हिजोआज साहित्यिक श्रष्टाहरुबीचको एकताको खाँचो महशुश गर्छन् सोती । तर आफू चर्चामा आउनका लागि एउटाले अर्काकोबारेमा लेखिदिने चलन चलेको भने उनी दुखी छन् ।
‘काठमाडौंको नयाँ सडकमा गयो, सोतीजी तपाईँको विषयमा मैले लेखिदिन्छु, मेरो विषयमा तपाईँले लेखिदिनुपर्यो भन्ने एउटा टिम छ’, सोती भन्छन्,– ‘त्यो टिम चाँही दीर्घजीवी हुँदैन ।’
दीर्घजीवी हुनेहरु दुःखै पाएर पनि बाँच्छन् । दीर्घजीवीहरु कहिल्यै नमर्ने उनको बुझाई छ । भन्छन् – श्यामदाब बैष्णव, भानुभक्त कहिल्यै मरेनन्, उनीहरुले अर्को युग ल्याए ।
राजनीतिदेखि माथि उठेको, समाजमा योगदान गरेको मान्छे अहिले चिप्लिए पनि भविष्य उज्वल हुने सोती बताउँछन् ।
लेखनका निम्ति भएका कविताहरु सधैं जीवित रहने सोतीको बुझाइ छ । अहिलेका कविताहरु लेखनका निम्ति नभई ब्यवसायका निम्ति भएको सोतीको ठम्म्याईँ छ । ‘लेखनका निम्ति भएका कविताहरु सधैंका लागि बाँच्दा रहेछन्। लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सिद्धिचरणको विश्वब्यथा, उर्वशी कहिले मर्दैन ।’ उनी भन्छन् ।
वर्तमान व्यवस्थाप्रतिको चिन्ता
भूपि शेरचनलाई कम्युनिष्ट भनेर चारैतिर खेदिन्थ्यो । तर राजा बीरेन्द्रले उनलाई प्रज्ञा बनाए ।– उनी भन्छन् – त्यो बेला राजाको प्रशस्ती गाएका कविताहरुलाई पनि राजाले बक्सिस् नदिएको उनी सम्झन्छन् ।
बर्तमान ब्यवस्थाप्रति सोती चिन्तित छन् । ब्यवस्थाप्रति भन्दा पनि अहिलेका पात्रहरुप्रति उनको घृणा बढेको छ । हाल नवलपुरको पिठौलीमा बस्दै आएका सोती आफ्नो गाउँको प्राइमरी स्कुलको उद्घाटन गर्न प्रचण्ड आउँदा आफ्नो पहिचयबाट उपस्थित हुन नपाएकोमा हिनताबोध छ । ‘केही साथीहरुले मलाई पत्रकार बनाएर त्यो मञ्चमा लगे ।’ उनी भन्छन् ।
त्यहि कार्यक्रममा हो, कुनैबेला आफूसँगै डुल्ने, चिया खाने गरेका नेता देवेन्द्र पौडेललेसमेत आफूलाई नचिनेपछि दंग परे सोती ।
‘कति मात लागेर माथि चढेछन् बा ।’ उनी भन्छन् ।
अहिलेको ब्यवस्थालाई बिरोध गर्ने ठाउँ देख्दैनन् उनी । तर ब्यवस्था अनुसार काम नहुँदा र पात्रहरु खराब भइदिँदा बदनामी भएको बताउँछन् सोती ।
‘पञ्चहरुले त कहिल्यै पनि भत्तै खाएनन्, अहिलेका नेताहरुले चाँही तलब भत्ता खाने भए । त्यो ब्यवस्थामा भ्रष्टलाई कारबाही हुन्थ्यो, अहिलेको ब्यवस्थामा सम्मान हुने गरेको छ ।’ – उनले त्यो ब्यवस्था र अहिलेको ब्यवस्थाको भेद खुट्याए ।
अहिलेको ब्यवस्थामा साहित्यकारलाई बजेट दिलाउन मेयरलाई दोसल्ला ओढाउनु पर्ने अवस्था रहेको उनी आफैले देखे । ‘साहित्यकारहरु पनि उस्तै, कार्यक्रम नै नगरी बजेट झ्वाम् ।’ उनले थपे – मिलिजुली खवाफ ।
*************
दरबार हत्याकाण्डपछि बज्रपात
२०५८ सालको दरबार हत्याकाण्डपछि सोतीलाई पोखरा बस्न मन लागेन । त्यो बेला उनलाई आफू प्राज्ञ भएँ भन्ने विश्वास थियो तर दरबार हत्याकाण्डपछि त्यो विश्वास चकनाचुर भयो ।
त्यसपछि तराई झरेका सोतीको साहित्यकार सदानन्द अभागीसँग भेट भयो नवलपुरमा ।
‘उहाँ (अभागी) हरिभक्त कटुवालको चेला हुनुहुँदो रैछ,’ सोतीले भने, ‘म हरिभक्त कटुवालसँग साहै्र भिजेको मान्छे । कटुवाल गृहमा पनि कताकता भेटेजस्तो लाग्छ ।’ लक्ष्मी जयन्तिका दिन अभागीले नै नवलपुरमा सोतीको सम्मान गरे ।
सदानन्द अभागी, गोविन्द बिनोदीको जोडबलले रोटरी क्लवले बाँडेको हिरालाल प्रधानको जग्गा भेटाएपछि उनी लमजुृङ फर्किएनन् । लमजुङका आफ्ना केही जग्गा जमिन क्लवलाई सुम्पिए ।
धर्मराज थापाका दौंतरी
सोतीले कुनै बेला लोकगीत संकलन गर्ने गर्थे । धर्मराज थापासँग लोकगीत संकलन गर्दै हिड्ने क्रममा सोतीले पनि धेरै लोकगीतहरु गाए, ती गीतहरु रेडियो नेपालमा बज्ने गरेको उनी सम्झन्छन् ।
‘आउँछ कि कतै भनेर आज बगर कुरेकी’, ‘जुनेली रातमा मस्यास्र्याङदीे काखमा गाउँदैन रोएर’ जस्ता पुराना गीतहरु दीपक सोतीका रचना हुन् ।
०३७ सालमा घुम्दै आउँदा नवलपुरमै उनको प्रेम विवाह भएको थियो । सोतीका ३ छोरा र एक छोरी छन् । एउटा छोराले काठमाडौंमा अफसेट प्रेस सञ्चालन गरेका छन् भने अरु दुई भाइको अध्ययन सकिएको छैन ।
प्रेस पनि ऋणमै रहेकोले हाल जर्मन स्टाफ नर्स अध्ययनरत छोरीको कमाइबाट सोतीले गुजारा चलाएका छन् । अप्रकाशित रचनाहरु प्रकाशन गर्न छोरीले प्रकाशन गरिदिने बताएपछि भने सोती खुशी देखिन्छन् ।
छोराको शोकमा समालोचक शोक काव्य
कान्छा छोराको नाम समालोचक राखेका उनले छोरा गुमाएपछि छोराको वियोगमा समालोचक शोक काव्य लेखें। जुन काव्य गौरी शोक काव्यसँग दाँजेर साहित्यकारहरुले प्रशंसा गर्ने गर्दछन्।