सरकारले काठ ओसारपसारमा राेक लगाएपछि देवघाटमा शव जलाउने दाउरा अभाव





चितवन ।  दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार अहिले भएका दाउराले तीन दिनलाई भन्दा पुग्दैन । उनले भने “रुखका जरा, छरिएरका टुक्राहरु सङ्कलन गर्दा मुस्किलले एक हप्तालाई पु-याउन सकिएला ।” सरकारले सालको काठ ढुवानीमा रोक लगाएपछि दाउराको अभाव हुँदै आएको छ ।




सालको काठको अवैध ओसारपसार नियन्त्रणका लागि नेपाल सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभर सालको काठको ढुवानीमा रोक लगाएको थियो । विशेषगरी तराईका जिल्लामा सालको काठको अवैध ओसारपोसार रोक्न सरकारले काठ उक्त निर्णय गरेको थियो ।

देवघाट क्षेत्र विकास समितिले चितवन र नवलपरासी बर्दघाट सुस्तापूर्वको जिल्ला वन पैदावर आपूर्ति समितिबाट खरिद गरी सालको दाउरा ल्याउने गर्छ । यसअघि गत चैत ६ गते नवलपरासीबाट ५० चट्टा दाउरा  आठ लाख ८३ हजारमा खरिद गरी १० गते ल्याउने तयारी भएकोमा सो दिन ल्याउन नसकिएको र त्यसपछि लकडाउनको कारण ल्याउन नसकिएको अध्यक्ष पौडेलले जानकारी दिए । एक चट्टा दाउराले १४ वटासम्म शव जलाउन सकिन्छ ।




सम्बन्धित
Loading...