दलित पुरुषलाई जिउँदै जलाइयो





भारतको उत्तर प्रदेशको एक गाउँमा एक जना दलित पुरुषलाई जिउँदै जलाइएको छ।

अमेठीको बन्डुहिया गाउँकी ग्राम प्रधान छोट्काका पति अर्जुन कोरीलाई गाउँका केही युवाहरूले पैसाको विषयमा विवाद हुँदा बिहीबार जलाएका थिए।




घटनापछि उनको प्राथमिक उपचार सार्वजनिक स्वास्थ्य केन्द्रमा गरिएको थियो। त्यहाँबाट उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा पठाइएको थियो। फेरि थप उपचारको लागि लखनउ लग्दै गर्दा शुक्रबार बिहान अर्जुनको मृत्यु भएको थियो।

समाचार संस्था एनडिटिभीका अनुसार उनको शरिरको ९० प्रतिशत जलेको थियो। ग्रामका प्रधानले पतिलाई जलाएको भन्दै पाँच जनामाथि आरोप लगाएकी छन्।

उत्तर प्रदेश प्रहरी हत्या आरोपमा उजुरी दर्ता गरेको छ। घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

अर्जुन बिहीबार साँझ साढे ६ बजे चिया खान भन्दै घरबाट निस्किएका थिए। चिया खान निस्किएका उनी गायब भएका थिए। गाउँका कृष्णकुमार तिवारी लगायत पाँच जनाले चिया पसलबाट उनलाई उठाएर लगेका छोट्काले बताएकी छन्।

अमेठीका एसपी दिनेश सिंहका अनुसार बिहीबार मध्यराति प्रहरीले अर्जुनलाई कृष्णकुमारको घरको कम्पाउन्डमा अचेत अवस्थामा फेला पारेको थियो। तत्कालै उनको उपचारको लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। घटना भएको गाउँ भाजपाकी केन्द्रीय नेता स्मृति इरानीको निर्वाचन क्षेत्र हो।




सम्बन्धित
Loading...