कावासोतीमा मंसिर ५ गतेसम्म विद्यालय बन्द


कावासोती । नवलपुरको कावासोतीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्थाहरुलाई आगामी मंसिर ५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ ।
यसअघि नगरपालिकाले कात्तिक १६ गतेसम्म विद्यालय बन्द गर्न नगरभित्रका विद्यालयहरुलाई निर्देशन दिएको थियो ।
नगरपालिकाको बिपद ब्यवस्थापन समितिको पछिल्लो बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कात्तिक १६ गतेदेखि मंसिर ५ गतेसम्म नगरभित्रका सबै शिक्षण संस्थाहरुमा प्रत्यक्ष रुपमा विद्यार्थी सम्पर्क हुनेगरी मुखामुख विधिबाट पठनपाठन हुने कार्यमा रोक लगाउने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमण समुदायमा तिब्र रुपमा फैलिइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि शिक्षण संस्थाहरु संचालनमा रोक लगाउने निर्णय भएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए ।
सरकारले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि असोज पहिलो साताबाट धमाधम खुलेका नगरपालिका भित्रका विद्यालयहरु यसअघि कार्तिक २ गतेदेखि १४ गतेसम्म बन्द गर्न नगरपालिकाले निर्देशन दिएको थियो ।
कक्षा ११ को परीक्षा भने पूर्व निर्धारित समयतालिका अनुसार नै पूर्ण सावधानीका साथ सन्चालन हुने कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताए ।







सम्बन्धित
Loading...