भाइटीकाको उत्तम साइत ११:३७ बजे




काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ।

मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ।




राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु हुन्छ। त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ।

कात्तिक २८ गते काग तिहार परेको छ। यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ।

सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ।



सम्बन्धित
Loading...