चिहान खनिरहेको विद्यार्थी आन्दोलन

222







  • संघर्ष दाहाल –

एउटा समय थियो, पेटूोलको मूल्य वृद्धि हुँदा सडक बल्थ्यो। शुल्क बृद्धि हुँदा कलेज घेरिन्थ्यो । यातायातको भाडामा सन्तुलन कायम राख्न विद्यार्थी सडकमा ओर्लन्थे । यति मात्र हैन विदेशमा प्रजातन्त्रको हरण हुँदा काठमाडौँमा मशाल बलेको गर्विलो इतिहाँस छ, विद्यार्थी आन्दोलनको । यही विद्यार्थीले पञ्चायतको निँदहराम गरेको इतिहाँस छ ।

विद्यार्थीले नै जनयुद्धमा कलमले रगतको इतिहाँस लेखे । दोस्रो जनआन्दोलनको सफलतामा विद्यार्थीले बलिदान दिए । समग्रमा नेपालको परिवर्तनमा विद्यार्थी र विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रह्यो । राजनीतिक व्यवस्था नै परिवर्तन गर्ने ल्याकत राखेको नेपालको विद्यार्थी आन्दोलनलाई दक्षिण एसियामै उदाहरणीय रुपमा हेरिनुपर्छ । तर, आज त्यही विद्यार्थी आन्दोलन कुहिरोको काग झंै कतै रुमल्लिएको छ ।

हिसाबकिताबमा व्यस्त विद्यार्थी संगठन

पछिल्लो समयमा मुलुकमा त्यस्ता कैयौं सामाजिक अन्यायका घटनाहरू भए, जहाँ कोही पनि न्यायका खातिर बलिदान दिन तयार व्यक्ति, समूह वा संगठन मुकदर्शक भएर बस्न सक्दैन ।

File Photo

 

२०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अपराधीलाई पक्राउ र कारबाहीको माग राखेर हप्तौँसम्म देशका विभिन्न स्थानमा आन्दोलनहरू भए । निर्मलाको न्यायको लागि आन्दोलन गर्दा कतिको ज्यान गयो, कति अझैं घाइते छन् । तर विद्यार्थी संगठन संगठित रुपमा कतै पनि सडकमा देखिएन, कर्मकाण्डी औपचारिकतामा बाहेक ।

अन्तरजातीय प्रेम गरेका कारण रुकुममा नवराज विक उनका ५ जना साथीसहित भेरीमा बगाइए । आधुनिक लोकतन्त्र भनिएको आजको समयमा प्रेम गरेकै कारण यति ठूलो सामूहिक हत्या हुँदा पनि कुनै विद्यार्थी संगठनले आवाज उठाएनन् । आफैले नेतृत्व लिएर आन्दोलन गर्ने त परकै विषय भयो, दलित राजनीतिक तथा अधिकारकर्मीले गरेको आन्दोलनमा ऐक्यबद्धता दिनसम्म फुर्सद पाएनन् विद्यार्थी संगठन र तिनका नेताहरूले ।

पछिल्लो समय दिनैपिच्छे अनलाइन र अखबारमा छाइरहने समाचारका शीर्षक एकैनासका हुन्छन्, ‘दलित भएकै कारण हत्या’, ‘खान नपाएर मृत्यु’, ‘बालिका बलात्कार’, ‘महामारीका लागि खरिद गरिएका सामग्रीमा भ्रष्टाचार’ आदि ।

पेट्रोलको १ रुपैयाँ मूल्य बढ्दा सडक बन्द गर्ने विद्यार्थी संगठन नवराजहरुले प्रेमको खातिर अमूल्य जीवन गुमाईसक्दासमेत कमिसनको जोडघटाउमा नै व्यस्त हुन्छन् ।

सत्ताधारी विद्यार्थी संगठन सिंहदरबारमा ठेक्का टेन्डर मिलाउन व्यस्त हुन्छ । प्रतिपक्षी भनिएको पार्टीको विद्यार्थी संगठन नेविसंघ आफ्नै आन्तरिक नेतागिरीमा व्यस्त छ । अन्य संगठनका नेता पार्टीको घेराभन्दा माथि उठ्न सकेका छैनन्, खोज्नेलाई उनीहरूको पार्टीले पनि साथ दिएको देखिँदैन ।

कतिसम्म भने अमुख विद्यार्थी संगठनको नेता त्रिवि सेवा आयोगमा आफ्नो र नेताका आफन्तलाई जाागिर खुवाउन धर्ना बसिरहेका विद्यार्थीमाथि जाइलाग्न पुग्छन् । कथित ठूला भनिएका विद्यार्थी संगठनहरू विश्वविद्यालयको भागबण्डालाई आधार बनाएर बहस गर्नसक्छन् न कि शैक्षिक ऐजेण्डा उपर एक शब्द बोल्न सक्छन्। शैक्षिक ऐजेण्डाकै आन्दोलनमा समेत पार्टीको विज्ञप्ति पर्खिने विद्यार्थी संगठनसँग सामाजिक अन्याय, राष्ट्रियता वा कुनै पनि अधिकारका ऐजेण्डामा आवाज वा आन्दोलनको अपेक्षा गर्नु नै बेकार भइसकेको छ ।
बागबजारमा कन्सल्टेन्सि खोलेर बसेको आजको विद्यार्थी आन्दोलनले बौद्धिक बहसको विकास गर्ने कुनै सामथ्र्य राख्दैन ।

विश्वविद्यालयहरूमा बहस भन्दा बढी हुने विवादको विषय नै आफ्नो पार्टीको शिक्षक वा कर्मचारीको पद व्यवस्थापन हो । विचारको सिर्जना हुने विश्वविद्यालय नै जब गाई चराउने र बाँध्ने गोठ बन्छ तब हुने नै यस्तै हो ।

त्यस्तो विश्वविद्यालयका डिपार्टमेन्टहरूमा लाइब्रेरी, पुस्तक, वा कुनै अध्ययन सामग्री भए नभएको बारे विद्यार्थी नेताहरूलाई कुनै चाँसो नै हुँदैन। किनभने उनीहरूलाई त्यसको आवश्यक्ता पर्दैन। उनीहरूलाई आवश्यक पर्ने संगठनको लेटरप्याड कुनै जग्गा दलाली गर्ने नेताले एक कल फोनको भरमा छापेर ल्याइपु¥याउँछ।

बरु उनीहरूलाई चाँसो छ भने व्यापारीहरूलाई कलेज खोल्न सम्बन्धन दिलाउने विषयमा छ। त्यही सम्बन्धन पाएका निजी कलेजहरूबाट महिनावारी असुलि गर्नुमा चाँसो छ ।

त्रिविको केन्द्रीय क्याम्पसमा विद्यार्थी संगठन कक्षा कोठामा भेटिदैनन्। कांग्रेसको विद्यार्थी संगठन विष्ट बाको चिया पसलमा खुम्चिएको छ। सत्ताधारि नेकपाको विद्यार्थी संगठन उपकुलपति, रेक्टर, डिन वा विभागिय प्रमुखको कार्यकक्षमा भेटिन्छ। अन्य संगठनलाई न प्रशासनले महत्व दिन्छन् न त विद्यार्थीसम्म पुग्न उनीहरूसँग कुनै ऐजेण्डा नै छ।

संरचनामा समस्या

यी सबै समस्याका कारण कुनै एक व्यक्ति हैन, सिंगो संरचना हो । जसको निर्माण समाजले नै गरेको हो र नियन्त्रण कुनै व्यक्तिले । संगठनको नेता बनाउने प्रक्रियामै समस्या छ । विद्यार्थीको नेता विद्यार्थीले छान्न पाउँदैनन् । उनीहरूको विकास तलबाट नभई माथिबाट हुने गर्दछ । नेताले पार्टिभित्र आफ्नो प्रभुत्व कायम राख्न, आफ्नो भनाईको बढी वकालत मात्र हैन प्रचार गर्न पनि र समय समयमा आफ्नो खर्च चलाउन चन्दा उठाउसक्नेलाई संगठनको मूल नेतृत्व चयन गर्छ ।

यो कुनै एउटा मात्रै पार्टीको कुरा नभएर समग्र पार्टी र संगठनको प्रवृत्तिको कुरा हो । जब व्यक्तिले नेता चुन्छ भने ऊ सँगठनप्रति वा विद्यार्थीका समस्याप्रति कसरी जवाफदेही हुनसक्छ ? निश्चय नै ऊ आफ्नो नेताकै ‘जी–हजुरी’ मा व्यस्त हुन्छ ।

समाजवाद ल्याउने हाँक दिएको सत्तारुढ पार्टीकै नेताहरू भनिरहेका छन्, सरकार विचौलियाले चलाएको छ । उनीहरू भन्ने बिर्सेका छैनन् वा चाहेका छैनन्, उनीहरूले पनि विचौलिया नै उत्पादन गरिरहेका छन् । उसको नजिकको भनिएको विद्यार्थी नेता ठेक्कापट्टा गरेर उसैको घरभाडा तिरीदिने वा गाडी खरिद गर्ने पैसा जम्मा गरिदिरहेको छ ।

यो कुनै निश्चित व्यक्ति वा संगठनलाई भन्दा सुहाउने कुरो होइन । समग्र आन्दोलनको हिँडिरहेको देखिएको बाटो नै यही हो । त्यसैले आज सत्ताको प्रतिपक्षि हुनुपर्ने विद्यार्थी आन्दोलन नै विचौलियाको भुमिकामा देखा परेको छ ।

विद्यार्थी आन्दोलनको विरासत फर्काउन गर्नुपर्ने प्रयत्न

अहिले विद्यार्थी नेताहरू कलेज र विश्वविद्यालयको कोठा सँगको सम्बन्धबाट कोशौँ टाढा पुगेका छन् । सबभन्दा सुरुमा यस प्रक्रियाको अन्त गर्नुपर्छ । मुलत विद्यार्थी आन्दोलनको विरासत फर्काउने हो भने हालको संरचनालाई भंग गर्नुपर्छ । गरिब बस्तीको एउटा बालक कसरी उच्च शिक्षा हाँसिल गर्ने सपना बोकेर सहरका विश्वविद्यालयसम्म पुग्छ भन्ने बोध विद्यार्थी संगठन र तिनका नेताहरूलाई हुन जरुरी छ ।

त्यसका लागि सबैभन्दा पहिले कथित विद्यार्थी नेता बन्ने हालको प्रक्रियाको बन्ध्याकरण गर्नुपर्छ । अब, विद्यार्थी नेता कुनै अमुक नेताले फर्मानले हैन, विद्यार्थी र तलका कमिटिबाट निर्वाचित भएर आउनुपर्छ । व्यवहार, बाध्यता, सोँच र उमेरले विद्यार्थीका अंकलहरूलाई संगठनबाट विदा गरेर कक्षा कठामा पढ्दै गरेकाहरुले यसको नेतृत्व लिनुपर्छ ।

विद्यार्थी आन्दोलन उठ्न नसक्नुको मुख्य कारण आर्थिक अर्थात, चन्दा पनि हो । कार्यक्रम सफल बनाउन सहयोग हैन, आफ्नो उपकार गर्ने नेता र आफ्नो चाकरी गर्ने कार्यकर्तालाई खुशी तुल्याउने चन्दाले हालको विद्यार्थी आन्दोलनलाई भ्रष्टिकृत गरेको छ । आन्दोलनका लागि लिइने सहयोगलाई पारदर्शिता नगरिने हो भने विद्यार्थी आन्दोलन उठ्न सक्दैन । आर्थिक अपारदर्शिता र विद्यार्थी नेता बन्ने प्रक्रियाबीच घनिष्ठ सम्बन्ध छ । यसर्थ, आर्थिक पारदर्शिता हुने हो भने पार्टी नेता र विद्यार्थी नेताबीचको अप्राकृतिक गठबन्धन स्वत अन्त्य हुनेछ ।

जसले गर्दा संगठनहरू विद्यार्थी र शैक्षिक ऐजेण्डामा केन्द्रीत बन्नेछन् । र, पुनः विद्यार्थी आन्दोलनको गर्विलो इतिहाँसको पुनरावृत्ति हुनेछ । अन्यथा, कोमामा पु¥याइएको विद्यार्थी आन्दोलनले अब चिहान खनिसकेको छ, पुरिन मात्रै बाँकी छ ।

– दाउन्ने साप्ताहिकबाट

You might also like
Loading...