नवलपुरमा क्रसर उद्योगको अनुगमनः सात दिन भित्र स्टक प्रमाणित गर्न प्रशासनको निर्देशन

531







रामकुमार श्रेष्ठ – 


नवलपरासी, ५ मंसिर । जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरका क्रसर उद्योग तथा बालुवा प्रसोधन केन्द्रलाई स्टक प्रमाणित गर्न सात दिने निर्देशन दिएको छ ।

नवलपुरमा रहेका क्रसर उद्योग र बालुवा प्रसोधन केन्द्रमा अस्वभाविक रुपमा गिटी बालुवा तथा क्रसर स्टक देखिए पछि जिल्ला प्रशासन कार्यालय नवलपुरले यस्तो निर्देशन दिएको हो ।

विहीबार र शुक्रबार गरी दुई दिनसम्म गरिएको अनुगमनमा अधिकांशमा आवश्यकता भन्दा बढी स्टक देखिएपछि स्टक प्रमाणित गर्न निर्देशन दिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

प्रमुख जिल्ला अधिकारी पंगेनीले भनिन् – स्टक जस्ताको त्यस्तै देखिन्छ । तर, दैनिक विक्री तथा निकासी भएको पनि देखिन्छ । यसले केदेखिन्छ भने अस्वभाविक स्टक छ त्यो प्रमाणित गर्न सात दिनको निर्देशन दिएका छौं ।

प्रमुख जिल्ला अधिकारीसँगको कुराकानीको पुरा भिडियो 

 

भ्याट बिल बरामद

कतिपय क्रसर उद्योग र बालुवा प्रसोधन केन्द्रले भ्याट छल्ने, नक्कली भ्याट बिल काट्ने, चेकिङ्गमा रहेको प्रहरीलाई देखाउने बिल र असली विल फरक हुने गरी विलहरु काटेको समेत पाइएकोले त्यस्ता विलहरु बरामद गरि अनुगमन टोलीले आवश्यक कारवाही अगाडि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी पंगेनीका अनुसार ति उद्योगहरुले भ्याट विल समेत नक्कली छाप्ने र नक्कली भ्याट विल काटेर राजश्व छलेको समेत पाइएको छ ।

बोर्ड समेत छैन

नवलपुरमा रहेका अधिकांश क्रसर उद्योग र बालुवा प्रसोधन केन्द्रले बोर्ड समेत नराखेको पाइएको छ ।

अनुगमनको क्रममा यस्तो भेटिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् । पंगेनीले भनिन् दुई दिन अनुगमन गर्दा एउटा क्रसर उद्योगले उद्योगको नाम सहितको बोर्ड राखेको र अन्यले बोर्ड समेत नराखेको पाइएको बताइन् ।

जंगल भित्रका गिटी बालुवा पनि दोहोन

अनुगमनको क्रममा मैनाघाटको एउटा रहेको एउटा बालुवा प्रशोधन केन्द्रले जंगल नै दोहोन गरेको पाइएको छ ।

नाम उल्लेखित बोर्ड समेत नराखेर सञ्चालनमा आएको उक्त प्रशोद्धन उद्योगले जंगलमा रहेको गिटी बालुवाले भरिएको सिंगो पहाड नै दोहान गरेर बेचेको पाइएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।

पंगेनीले उक्त प्रशोधन केन्द्रलाई तत्काल कारवाही प्रक्रिया अगाडि बढाइएको समेत बताइन् ।

अनुगमन जारी

नवलपुर प्रशासनले जिल्ला भित्र सञ्चालनमा रहेका क्रसर उद्योग तथा प्रशोधन केन्द्रहरुको अनुगमन थालेको छ ।

नवलपुरमा एक दर्जन बढी क्रसर उद्योग र ५ दर्जन बढी प्रसोधन उद्योगहरु सञ्चालनमा रहेका छन् ।

प्रशासनले विहीबार दुम्किबास आसपासका क्षेत्रमा सञ्चालनमा रहेको क्रसर र प्रशोधन उद्योगमा अनुगमन गरिएको थियो भने शुक्रबार अरुणखोला आसपासको क्षेत्रमा अनुगमन गरिएको हो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको नेतृत्वमा, सुरक्षा निकाय, कर कार्यालय, साना तथा घरुलु उद्योग, विद्युत कार्यालय, नापी कार्यालय, मालपोत कार्यालयका प्रतिनिधिको समेतको सहभागितामा अनुगमन शुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पंगेनीले अनुगमनलाई निरन्तरता दिने बताइन् । उनले भनिन् – हामीले ससाना विषयलाई पनि ध्यान दिएर अनुगमन गरेका छौं ।

क्रसर व्यवसायीका अध्यक्ष रायमाझीसँगको कुराकानी पुरा भिडियो

You might also like
Loading...