कोरोना संक्रमणले फोक्सोलाई कसरी असर गर्छ?

251







डा सन्तकुमार दास

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ। संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन्।

मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि दीर्घरोगी नै बढी छन्। त्यसमा पनि कोरोना भाइरसले फोक्सोमा असर गर्ने भएकाले फोक्सोका बिरामी अन्य बिरामीभन्दा बढी प्रभावित देखिएका छन्।

कोरोना भाइरसले फोक्सोमा कसरी असर गर्छ? फोक्सोका बिरामी भएका मानिसहरु भाइरस संक्रमण हुनबाट कसरी बच्ने भनेर हामीले त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ तथा कोभिड–१९ फोकल पर्सन डा सन्तकुमार दासलाई सोधका छौं। उनले कोरोना भाइरसले फोक्सोमा गर्ने असरबारे यसरी बताएः

कोरोना भाइरस भाइरल निमोनिया हो। पहिलो, भाइरस शरीरमा प्रवेश गरिसकेपछि अक्सिजन र कार्बनडाइअक्साइड एक्सचेन्स गर्ने ठाउँलाई असर गर्छ। जसलाई एल्वेओली भनिन्छ। त्यो बेलुन जस्तो फुलेको हुन्छ। भाइरस त्यहाँ गएर गुणात्मक रुपमा वृद्धि हुन्छ।

त्यसले हाम्रो फोक्सोको भाइरससँग लड्ने क्षमता एक्टिभेट गर्छ। त्यो एक्टिभेट हुदाँ एन्टिबडी र एन्टिजेन रिक्याक्सन हुन्छ। शरीरले एन्टिबडी बनाउँछ र एन्टिजेट भाइरस हो। यी दुई बीचमा रियाक्सन हुँदा इन्फ्लामेसन हुन्छ। इन्फ्लामेसन भनेको एन्टिबडी र एन्टिजेनको बीचमा संर्घष हुनु हो। यसले एल्वेओलीहरु बिग्रन थाल्छन्। त्यो बिग्रन थालेपछि रगत सप्लाई गर्ने नलीहरुबाट पानी निस्कन थाल्छ। त्यो पानी निस्कन थालेपछि एल्वेओली जसमा हावा भरिएको हुन्छ, जहाबाट अक्सिजन र कार्बनडाइअक्साइड एक्सचेन्ज हुन्छ, त्यसमा पानी जम्मा हुन्छ। त्यहाँ पानी भरिएपछि मानिसले अक्सिजन लिन सक्दैन र शरीरमा अक्सिजनको कमी हुन जान्छ। यो संक्रमणको पहिलो अवस्था हो। यो समयमा बिरामी धेरै गम्भीर भइसकेको हुँदैन।

भाइरल निमोनियाले अर्को इन्टस्र्टटियममा असर गर्छ। इन्टस्र्टटियम भनेको दुई वटा अल्वेओली छुट्याउने बीचको भाग हो। त्यसमा पनि कोरोना भाइरसले असर गर्छ। यो अवस्थालाई हामीले भाइरल निमोनिया भन्छौं। यो सुरुको अवस्था हो।

यो भाइरल निमोनिया बढ्दै गइसकेपछि यो एक्युक्ट रेस्पेरेटिभ डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) हुन्छ। जसले फोक्सोको तन्किने र खुम्चिने क्षमता कम हुन जान्छ। मानिसको फोक्सो त श्वास फेर्दा फुल्ने र श्वास लिँदा खुम्चिने हुन्छ। तर भाइरसका कारण (एआरडिएस) भएपछि यो फोक्सोको फुल्ने र खुम्चिने क्षमता ह्रास हुँदै जान्छ। जसको कारणले मानिसले श्ववास फेर्न सक्दैन र शरीरमा अक्सिजनको मात्रा कम हुँदै जान्छ। त्यसपछि बरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता पर्छ। यो भाइरसका कारण हुने निमोनियाको दोस्रो चरण हो।

तेस्रो भनेको बिरामी सक्डमा जान्छ। यो अवस्थामा संक्रमण बढ्दै गएपछि रगतको माध्यमबाट पूरै जिउमा फैलन्छ। पूरै जिउमा संक्रमण फैलिएपछि ब्लडप्रेसर कम हुन्छ। यसलाई सेप्टिक सक भनिन्छ। जब बिरामी सेप्टिक सकमा जान्छ तब मल्टिअर्गान फेलियर हुन्छ। अर्थात् बिरामीको शरीरका अन्य अंगले समेत काम गर्छ छोड्छ। यो कोरोना भाइरसका कारण निम्त्याउने सबैभन्दा गम्भीर अवस्था हो।

कोरोना भाइरसबारे वैज्ञानिकले पत्ता लगाएको कुरा के भने अटो इम्युनी डिजिजको अवस्था देखिएको छ। आफ्नो शरीरमा भएको एन्टिजिन विरुद्ध शरीरमा एन्टिबडी बनाउन थाल्छ। हुन त अन्य धेरै रोग पनि अटो इम्युनी डिजिज हुन्छ। यसले पनि फोक्सोमा भएको रगतका कोषिकाहरु खराब हुने देखाएको छ।

त्यसबाहेक थम्बो एम्बोलिक इफेक्सट्स जसले कहिलेकाहीं रगतमा सानोसानो एम्बोलीहरु बनेर रक्तप्रवाह हुने स्थानमा बस्छ। रगत प्रवाहमा बसेर असर गर्ने विभिन्न अध्ययनले देखाएका छन्।

सामान्य मान्छेलाई कोभिड–१९ निमोनिया भएको भए फोक्सो फाइब्रोसिस (फोक्सोको भाग सुक्ने) सबै संक्रमितको हुन्छ।

कोभिड–१९ले फोक्सोको भागलाई सुकाउँछ। जसलाई माइल कोभिड भएको छ, निमोनिया भएको छैन, सामान्य रुघाखोकी, ज्वरो मात्र भएका बिरामीलाई फोक्सो फाइब्रोसिस (फोक्सोको भाग सुक्ने) धेरै भएको पाइएको छैन।

तर, जसलाई कोभिड निमोनिया नै भएको छ ती व्यक्ति लगभग ९० प्रतिशत संक्रमितको कुनै न कुनै रुपमा लङ फाइब्रोसिस भएको हुन्छ।

आइसियुमा भर्ना भएको बिरामीको फोक्सोको भाग सुक्ने प्रतिशत बढी हुन्छ। ५० प्रतिशतभन्दा बढी फोक्सोको भाग सुकेको हुन्छ।

धेरै गम्भीर नभएको वार्डमा मात्र भएको बिरामीको लगभग २० देखि ३० प्रतिशत फोक्सोलाई असर गरेको देखिएको छ। निको भइसकेको बिरामीको पनि फोक्सोको भाग सुकेको हुन्छ।

त्यसैले निको भएको व्यक्तिमा पनि श्वास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, भ¥याङ चढ्न गाह्रो हुने र कसैकसैलाई घरमा पनि अक्सिजन चाहिने हुन्छ।

मुख्य कुरा के भने, यसरी खराब भएको फोक्सोको भाग कति समयमा रिकभर हुन्छ भन्ने अझै पत्ता लागेको छैन। किनभने यो ७, ८ महिना मात्र भएकाले यसबारे अध्ययनहरु भइरहेको छ। रिपोर्ट आउन बाँकी नै छ। तर अहिले हेर्दा भने २, ३ महिनामा विस्तारै सुधार भएको भने देखिएको छ। कहिलेसम्म रहन्छ भन्ने यकिन त अध्ययनपछि नै थाहा होला।

कोभिड–१९ ले सुरुमा फोक्सोमै असर गर्छ। किनकी, फोक्सो तथा दमका बिरामीको फोक्सोको केही भाग पहिले नै खराब भइसकेको हुन्छ। यस्ता बिरामीलाई कहिलेकाहीं घरमै पनि अक्सिजनको आवश्यकता परेको हुन्छ।

यस्ता बिरामीलाई कोभिड–१९ संक्रमणको पहिलो चरणमै निकै समस्या हुन्छ। आइसियुसम्म जानुपर्ने हुन्छ। त्यसैगरी, धूमपान गर्ने मान्छे, मधुमेह, मिर्गौलाका रोगी, दमका बिरामी, कलेजो रोगको बिरामी, क्यान्सरका बिरामीलाई बढी असर गरेको देखिन्छ।

अहिले मृत्युदरको अवस्था हेर्दा पनि मिर्गौला रोगीको बिरामीको मृत्यु बढी भएको देखिएको छ।

दीर्घरोगीले संक्रमणबाट बच्न के कुरामा ध्यान दिने? 
उहाँहरुलाई के सल्लाह छ भने, संक्रमणको समयमा दीर्घरोगीहरु घरबाहिर ननिस्केकै राम्रो हो। किनभने, दीर्घरोगीले नियमित औषधि खाने र रियलिटिभ हेल्दी रहने। रियलिटिभ हेल्दी भनेको आफ्नो स्वास्थ्य अवस्था ठिक्क कन्डिसनमा राख्ने।

ज्वरो आयो, श्वास फेर्न गाह्रो भयो वा अन्य कुनै समस्या भए त अस्पताल आउनु नै प¥यो। त्यो बाहेक उहाँहरु घरबाहिर ननिस्कने।

परिवारमा कसैलाई कोभिड भयो र त्यो व्यक्ति घरमा दीर्घरोगीको सम्पर्कमा छैन भने यस्ता रोगीलाई घरमै आइसोलेटमा राखेको राम्रो हो। के देखिएको छ भने, परिवारमा कसैलाई पोजिटिभ आएपछि दीर्घरोगीलाई परीक्षण गर्न अस्पताल ल्याउँदा संक्रमण सरेको छ। त्यसैले दीर्घरोगीमा कुनै लक्षण छैन, ज्वरो वा अन्य समस्या नभए र घरमा राख्न सम्भव भएसम्म घरमा नै आइसोलेसनमा राखेको राम्रो हो। १४ दिनसम्ममा उहाँलाई केही समस्या भएको छैन भने परीक्षण गरिरहनुपर्ने आवश्यक हुँदैन।

उहाँहरुले खाइरहनुभएको औषधि नियमित खान दिनुपर्छ। खाना मिलाएर स्वस्थ खाना र आराम गर्न दिनुपर्छ। बिरामीको फलोअपको समय भएको छ वा औषधि थपघट गर्नुपर्ने हो भने आफूलाई धेरै समस्या भएको छैन भने आफू नगएर परिवारका अन्य सदस्यलाई चिकित्सकलाई भेट्न पठाउने वा चिकित्सकलाई फोन सम्पर्क गर्नुपर्छ।

मैले मेरा पुरानो बिरामीलाई फोनमा र भाइबरमा सोध्न भनेको छु। उहाँहरुलाई त्यहींबाट परामर्श दिने गरेको छु। त्यसले गर्दा संक्रमणको सम्भावना कम हुन्छ।

कोरोना भाइरस अझै केही समय हामीमाझ रहन्छ। तर हामीले सधैं कोरोना भनेर घर बसेर पनि हुँदैन। अहिले पनि पूरै खुलेको वा बन्द भएको अवस्था पनि होइन। न्यु नर्मलको अवस्था हो। अब हामीले न्यु नर्मलमा बाँच्नका लागि पुरानो व्यवहार सच्याउँदै जनस्वास्थ्यको मुख्य मापदन्ड अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र नियमित हातको सरसफाइ गर्नैपर्छ।

यो समयमा सामान्य मान्छेभन्दा वुद्धवृद्धालाई बचाउनु छ। यो समयमा संक्रमितसँगै वृद्धावृद्धालाई आइसोलेसन गर्नुपर्छ। यदि घरमा वृद्धवृद्धा हुनुहुन्छ भने उहाँहरुलाई नजिकबाट नभेटेको राम्रो हुन्छ। केही कुरा गर्नुपर्‍यो भने टाढैबाट गरेको राम्रो हुन्छ।

शिक्षण अस्पतालले कुन दीर्घरोगीलाई बढी असर देखिएको छ, कसको मृत्यु कति प्रतिशत भएको छ भन्ने अध्ययन गरिरहेको छ। त्यसको प्रतिवेदन चाँडै प्रकाशित हुनेछ। अहिले डाटा इन्ट्री हुँदैछ। त्यसको प्रारम्भिक अध्ययनमा पनि फोक्सोका बिरामी सबैभन्दा बढी असर गरेको देखिएको छ।

साभार: स्वास्थ्य खबरबाट

You might also like
Loading...