एसिड आक्रमणः दुई बर्ष वित्यो न शरिरको घाउ निको भो न मनको घाउ -भिडियो सहित
- रामकुमार श्रेष्ठ –

नवलपरासी, ८ मंसिर । कावासोतीकी वसन्ती परिवारमाथि एसिड आक्रमण भएको दुई बर्ष वितिसक्यो तर न उनको शरिरमा लागेको घाउ निको भएको छ न मनको घाउ ।
पूर्वी नवलपरासीको कावासोती १६ डण्डा हरबासी निवासी ३१ बर्षीया वसन्ती परियार त्यो घटना पछि उपचार गरेर घर आए पनि घरबाट बाहिर निस्कन सकेका छैनन् ।
२०७५ साल असोज ८ गते सोमबारका दिन घरका लागि तरकारी किनमेल गर्न डण्डा हाटबजार गएको वसन्ती परिवारलाई हाटबजारबाट फर्कदै गर्दा साँझ साढे ६ बजेतिर बाटो ढुकेर छिमेकी विमाल श्रीपालीले एसिड आक्रमण गरेका थिए ।
उनी घर बाहिर निस्कँदा छरछिमेकी कोही नबोल्ने गरेका कारण पनि घरबाट बाहिर निस्कन उनलाई मन लाग्दैन भने शरिरमा एसिडका कारण लागेको घाउले गर्दा पनि उनलाई घाममा निस्कन मिल्दैन ।
त्यति मात्र होइन उनको एउटा आँखामा एसिड परेका कारण समस्या भएकोले घुलो धुवा, घाममा हिड्न असहज भएको छ । वसन्ती भन्छिन् – पहिलो सँगै हिडडुल गर्ने साथीहरु पनि भेट्न आउँदैन । मसँग बोल्दा भेट्दा इज्जत नै जान्छ जस्तो गर्छन् ।
एसिड आक्रमणले उनको अनुहारको पुरै भाग विग्रिएको छ त्यति मात्र नभएर नाक, आँखा, टाउको, हात समेत विग्रिएको छ ।
एउटी सुन्दर महिला अहिले कुरुप जस्तै भएकी छिन् । वसन्ती भन्छिन् – कहाँ त्यो रुप कहाँ आजको यो रुप । सम्झन पनि मन लाग्दैन ।
एउटा आँखा खुल्लै
एसिड आक्रमणका कारण उनको एउटा आँखा नै विग्रिएको छ । एउटा आँखा निदाउँदा पनि खुल्ला हुने र नदेख्ने भएका कारण उनलाई थप पीडा हुने गरेको छ ।
रात भरी निदाउँदा पनि आँखा खुल्लै भए पनि विहान उठ्दा उनलाई त्यो आँखा साह्रै दुख्ने, पोल्ने गर्दछ । वसन्ती भन्छिन् – एउटा आँखा बन्द नै नहुने भएका कारण विहान उठ्दा आँखा पोल्छ । आधा घण्टा लगाएर सफा नगरेसम्म निक्कै गाह्रो हुन्छ । विहान किन भयो होला जस्तो लाग्छ ।
उपचार खर्च असीमित
उनले अहिलेसम्म ८ लाख बढी उपचार खर्च गरिसकेका छन् । उनलाई सहयोगको नाममा दुई चार हजार सहयोग आए पनि अन्य उपचार खर्च घर जग्गा धितो राखेर बैंकबाट कर्जा झिकेर गरे ।
उपचारका लागि निकालेको कर्जा तिर्न नसक्दा थप उपचार गर्न नपाएको उनी बताउँछिन् ।
उनको शरिरमा अझै पनि अनुहारमा परेको खाल्डा पुर्ने, एउटा आँखाको नानी फेर्ने, नाक, हातमा प्लाष्टिक सर्जरी गर्न बाँकी नै छ । त्यसैगरी एसिडका कारण उम्रन छाडेको उनको कपाल तान्न पनि बाँकी छ ।
अहिलेसम्म ८ लाख बढी खर्च गरेका बसन्तीलाई अझै उपचार खर्च कति लाग्छ यकिन थाहा छैन । उनले भनिन् – कपाल तान्न मात्रै सोध्दा कपाललाई मात्रै डेढ लाख खर्च लाग्छ भनेर भन्नुभयो आँखाको लेन्स, हात, मुखको सर्जरी, नाकको सर्जरी गर्दा कति लाग्छ थाहा छैन ।
उनले अहिले पनि एसिड परेको ठाउँमा दिउँसो घामले डढ्नबाट जोगाउन र पोल्नबाट जोगाउन अझै क्रिम लगाएर बस्नु पर्ने बाध्यता छ ।
बसन्ती भन्छिन् – सरकारले हामी जस्ता एसिड पीडितहरुलाई सबै उपचार निशुल्क गरिदिए हुने थियो ।
छोराछोरीको लागि बाँचेको छु

बसन्ती परियार एसिड आक्रमणमा पर्न अगाडि निक्कै सुन्दरी थिइन् । अहिले उनले त्यो रुप पुरै गुमाएकी छिन् । उनको मन शान्त पार्न आफन्त र स्वास्थ्यकर्मीहरुले सबै ठिक हुन्छ भन्दै ढाडस दिने गरेपनि उनको मनमा आफू पहिले जस्ती हुन्छ भन्ने कत्ति पनि लागेको छैन ।
उनी भन्छिन् – पुरानो दिन सम्झिएर अर्थै छैन । छोरा छोरीको लागि बाँचेको छु । उनीहरुको आमा छैन भन्ने नपरोस भनेर मन सम्हालेर बसेको छु । रुप हेर्दा त दुख लाग्छ तर बच्चाहरु हेरेर मन बुझाउँछु ।
कानुनप्रति सअन्तुष्टि
एसिड आक्रमणमा परी आफ्नो सुन्दर रुप गुमाएका वसन्ती परियारलाई आफूमाथि आक्रमण गर्ने दोषी विमल श्रीपालीले पाएको सजायप्रति असन्तुष्ट व्यक्त गर्ने गरेकी छिन् ।

आफ्नो रुप विग्रियो, समाजले हेर्ने दृष्टिकोण बदलियो तर दोषी जेलमा सरकारी दालभात खाएर ससुरालीमा बसे झैैं गरेर बसेको छ । जसरी हाम्रो रुप विगारिएको छ । एसिड आक्रमण गर्नेहरुको पनि त्यसैगरी नै एसिड हालेर रुप विगारिदिनु पर्छ । – बसन्ती भन्छिन् – हुन त हामीले चाहेको जस्तो कानुन त आउन्न तर पनि यस्तो घटना रोक्न एसिड आक्रमण गर्नेलाई पनि एसिड हालेर अनुहार विगारिदिने कानुन बने बल्ल यस्तो घटना कम हुने थियो ।
अझै आक्रमणको त्रास
वसन्ती माथि आक्रमण गर्ने विमल श्रीपाली अझै पनि जेलबाट छुटेर आक्रमण गर्न आउँछ कि भन्ने त्रास बसन्तीमा देखिन्छ ।
बसन्ती भन्छिन् – त्यसले अझै पनि जेलमा राम्रो गरेझै गरेर सजाय कम गरी बाहिर निस्केपछि मार्छु भन्ने गरेको सुनेको छु ।
वसन्तीलाई आक्रमण गर्ने विमल श्रीपालीको घर र वसन्तीको घर नजिकै भएको कारण पनि बसन्ती घरबाट निस्कन असहज महसुस गर्दछिन् ।
उनी भन्छिन् – डर त लाग्दैछ तर पनि घर नजिकै छ । उनको परिवारलाई देख्दा मन खिन्न हुन्छ । मेरो छोरालाई जेल पठाएर यहाँ मज्जाले हिडेछ भन्छ कि झै लाग्छ ।
यसरी भएको थियो आक्रमण
श्रीमान र एक छोरा, एक छोरीको साथमा हाँसिखुसी जीवन विताइ रहेका बसन्तीलाई आफ्नो घर वरिपरिको वातावरण ठिक लागिरहेको थिएन । त्यसैले उनले आफ्नो श्रीमानलाई विदेशबाट बोलाइन ।
श्रीमान्सँग भारततिर छोरा छोरी सबै लिएर जानै उतै केही दुख गर्ने र छोरा छोरीको पठनपाठन सकिए पछि मात्र नेपाल फर्किने सोच बनाएकी थिइन् वसन्तीले ।
२०७५ साल असोज ८ गते सोमबार दिन थियो । गाउँ नजिकै डण्डा बजारमा हाटबजार लाग्थ्यो त्यही हाटबजारमा बहिनीसँगै तरकारी किनमेल गरेर बसन्ती फर्कदै थिइन् ।
सन्तीको रुपसँग जलेर बसेका विमल श्रीपालीले मौका कुरेर बसेका थिए । बसन्ती घर फर्कदा साँझको साढे ६ बजेको थियो । विमलले एक्कासी पछाडिबाट एसिड आक्रमण गरे । मुख भरी हुने गरे एसिड फालिदिए । बसन्तीलाई के भयो पत्तै भएन । उनको शरिर यसरी झमझमायो कि बसन्तीलाई आफ्नो शरिर आफ्नै हो कि होइन भनेर ठम्याउने गाह्रो भयो ।
बसन्तीले आफूलाई के भयो भनेर बुझ्न नपाउँदै विमलले बसन्तीमाथि एसिड फालेर मात्र चित्त बुझाएनन् । ज्यान लिने उद्देश्यले सांघातिक आक्रमण पनि गरे ।
विमलले बसन्तीको पेटमा पटक पटक छुरा प्रहार गरेर गम्भीर घाइते बनाए । संयोगले बसन्ती सँगै भएकी उनकी बहिनी र घटना लगतै घटना स्थल आइपुगेका बसन्तीका छोराका साथीले तत्काल उद्दार गरेर अस्पताल बसन्तीलाई अस्पताल पुर्याए र उनको ज्यान बचाए ।
बसन्तीले बेलैमा उपचार पाएर ज्यान त बचाइन तर उनको मनमा लागेका घाउ भने अझै आलै छ ।
बसन्तीका अनुसार त्यो दिन उनलाई बचाउन न कोही आए न त उनलाई सजाए दिलाउन घटनाका प्रत्यक्षदर्शीहरु साछी नै बस्न माने ।
काम पाए केही गर्छु
बसन्तीलाई अझै पनि घर परिवार र छोरा छोरीका लागि केही गर्न मन छ । बसन्तीले भनिन् – सरकारले हामी जस्तालाई सीप र क्षमता अनुसारको काम दिने भनेको थियो म धेरै पढेको छैन तर पनि सरकारले पियनको काम दिए पनि गर्न तयार थिएँ ।
बसन्ती थप्छिन् – छोरा छोरीलाई पढाइदिए हुन्थयो, हामी जस्तालाई निशुल्क उपचार गरिदिए हुन्थयो । सानो तिनो भए पनि सरकारी जागिर खान पाए हुन्थयो ।
बसन्तीसँगको कुराकानीका पुरा भिडियो
