नेकपाको किचलो र दुई अध्यक्षको जुँगाको लडाईं


 

 

 

 

 

 

 




 नरनाथ पाण्डे 

संघीय चुनाव अघि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी मिलाएर एउटै पार्टी बनाई फरक चुनाव चिन्ह भए पनि संयुक्त रुपले घोषणापत्र जारी गरी चुनावमा गई करिब दुई तिहाई बहुमत बटुलेर सरकार समेत गठन गर्न सफल भएको नेकपा विगतमाझैं यतिबेला पुनःफुटको संघारमा छ भन्दा फरक नपर्ला । सरकार गठनकै बेला भएका अनेक विवादका बीच ईतिहासमै एउटै पार्टीका दुई अध्यक्षभएको यो नौलो पार्टीको अभ्यास नेपाली माटोमा प्रायःअसफल भईसकेको छ । जनताले नेकपा नेताका विकासप्रेमी नाराका आधारमा भोट दिएर दुई तिहाई बहुमत पु¥याइ दिएर परीक्षणका लागि वैधानिक तरिकाले सत्तामा पु¥याएकै हुन् । तर जनचाहना अनुसारका कुनै पनि काम गर्न नसकेको यो सरकार बाहिरी भन्दा पनि आन्तरिक विवादमा रुमल्लिएरै अढाई वर्ष व्यतित गरिसकेको छ । अहिले नेपालका कम्युनिष्टहरुको बोली चालिएका तर्फ र व्यवहार अर्कोतर्फ देखिएको महसुस् जनतालाई भएको छ । सर्वहारा वर्गको नेतृत्व गर्ने, राष्ट्रभक्त र जनताका सच्चा सिद्धान्त बोकेको पार्टी भनेर वर्षौंदेखि भन्दै आएको, क्रान्तिका नाममा रगतको खोलो बगाएर र भौतिक संरचना ध्वस्त पारेको घटना समेत बिर्सिएर विकास र समृद्धिको आशामा जनताले सत्तामा पनि पु¥याएकै हुन् । तर पूर्व माओवादी र पूर्व एमाले दुवै एकीकरण भई नेकपा बनेको यो पार्टीले दुई तिहाइकै बहुमत ल्याएर पनि आफ्नो इज्जत जोगाउन सकेन । यो स्थायी सरकार हो र ५ वर्ष आरामले काम गर्ला भन्ने जनताको कल्पना पनि पुरा हुन नसक्ने अवस्थामा अहिले पार्टी पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टी मिलेर देशलाई जुरुक्कै उचालेर विकास र समृद्धिको पाटोमा लैजालान् भनेको त देशलाई झनै डुबाउने परिस्थिति सृजना भएको सुन्न, देख्न र लेख्न पर्दा आफैंलाई समेत लाज लागिरहेको छ ।




यस अवस्थाले गर्दा जतिसुकै दुई तिहाइ मत ल्याए पनि सरकार बनाउने र चलाउने भनेको जम्मा आधा कार्यकाल नै रहेछ भन्ने कुरा देखिएको छ । किनकि नेपालको संविधानमा कुनै पनि प्रधानमन्त्रीले एकपटक विश्वासको मत लिएपछि कम्तीमा दुई वर्षसम्म उसका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनपाईंदैन भन्ने व्यवस्थाले अब बन्ने सबै प्रधानमन्त्री र सरकारको आयु दुई वर्ष मात्रै हुने हो कि भन्ने आशंका बढेको छ । यस्तो अवस्थामा दुई तिहाई भएपनि, १० वटा पार्टी मिलेर सरकार बनाए पनि आखिर दुई वर्ष नै आयु हो भने किन एउटै पार्टीलाई बहुमत दिनुप¥यो र ? चाहना भए जति पार्टी सबै सरकारमा गए पनि त आखिर दुई वर्ष मात्रै हो । अब यो नाम मात्रैको नेकपाको दुई तिहाई बहुमतले पनि आखिर पुरा समय अवधि सरकार चलाउन पाएन, सकेन वा चलाउन दिइएन त्यो आफ्नै ठाउँमा छ तर अवस्था त्यस्तै देखिएको छ ।

दुई ठूला नेता बीच भएको भनिएको गोप्य भद्र सहमति नै यो अवस्था ल्याउने आधार बनेको छ । यसैगरी दुई ठूला महत्वाकांक्षी नेता र आफूलाई सर्बेसर्वा ठान्ने, अलि कति पनि गल्न नचाहने, जहिले पनि जुंगाको लडाईं लड्ने बानी भएका नेताहरुको बानी सुधार हुननसक्दा र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा पनि यो अवस्था आएको हो भन्न सकिन्छ । पार्टी पद्धतिबाट सामूहिक निर्णयबाट बनेको नेकपा भए पो सबै नेता कार्यकर्ता जिम्मेवार हुने थिए । यो पार्टी त केवल दुई जना हालका अध्यक्षको एक्लाएक्लै निर्णयले बनेको हुनाले अहिले आएर यी दुवै नेताको जुँगाको लडाईंको शक्तिले पार्टी फुटाउने कि जुटाउने भन्ने अवस्था आएको छ । व्यक्तिवादी चरित्र हावी हुँदा देखा पर्ने यस्ता प्रतिअसरहरुको हेक्का अब अन्य पार्टीले पनि राख्नुपर्ने बेला भएको छ ।

यसै पनि विश्वमा कम्युनिष्ट शासन र पद्धति लोप हुँदै गइरहेको अवस्था देखिएको छ । पुराना माक्र्सवाद, लेनिनवाद, माओवाद जस्ता सिद्धान्त तत्कालिन अवस्थाको लागि राम्रो सिद्धान्त भए तापनि अहिलेसम्म उही पुरानो सिद्धान्त बोकेर हिंड्नाले र ती सिद्धान्त समय सापेक्ष रुपमा परिमार्जन गर्नु त कता कता त्यसमा भएकामा र ह्रस्व दीर्घ समेत परिवर्तन गर्नुहुँदैन भन्ने चिन्त नभएका कम्युनिष्टहरुका कारण विश्वमै कम्युनिष्ट पतनहुँदै गइरहेको यथार्थ हो । यसैबीच नेपालमा मदन भण्डारी जस्ता दुरदर्शी नेताको जन्म भयो जसले कम्युनिष्ट पार्टीमा नयाँ सिद्धान्त जनताको बहुदलीय जनवाद प्रकाशमा ल्याए । पुराना विचार र सिद्धान्त मान्ने कम्युनिष्टहरुलाई पनि यो सिद्धान्त समय सापेक्ष ठिकै लाग्दै गयो र अहिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालका प्रायः कम्युनिष्टहरुले यही सिद्धान्त अनुसरण गरिरहेको पाईन्छ । कम्युनिष्ट पार्टी भन्ने बित्तिकै बन्दुकको शक्तिको आडमा परम्परावादी राज्यसत्ताको हस्तक्षेप गरी नयाँ जनताको जनवादी सिद्धान्त अनुरुप शासन सत्ता सञ्चालन गर्ने पार्टी हो भन्ने बुझिन्छ । यसैका प्रयोगहरु नेपालमा पटक पटक भइसकेका छन् । झापा बिद्रोहदेखि माओवादीको जनयुद्ध र मधेसका भूमिगत सशस्त्र समूहसम्म आई पुग्दा नेपालमा हरेक खालका प्रयोगहरु भए । ती सबै प्रयोगहरुले कुनै समयमा काम लाग्ने खालका परिणाम देखाए भने कुनै समयमा असाध्यै अफाप पनि भए । जे होस् जनताको बहुदलीय जनवादको सिद्धान्तमा टेकेर हिंडिरहेको तत्कालिन एमालेले पुराना कम्युनिष्ट सिद्धान्तलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानु पर्ने मान्यतालाई अघि सार्नु र पुँजीवादी कम्युनिष्टतर्फ अघि बढ्नु नै नेपाली माटोमा कम्युनिष्टप्रति जनताको आकर्षण हो । यही कारणले नै कम्युनिष्टहरु संसारबाट लोप भइरहँदा नेपालमा भने झन् उर्बर बन्दै गए । परिणाम तत्कालिन माओवादीको सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्ने रणनीति पनि फेल भयो र बाध्य भएर माओवादीहरु पनि नेपालको शान्ति प्रक्रियाको मूलधारमा समाहित भए । फलस्वरुप अन्य दलहरुलाई परास्त गरी वैधानिक बाटो वा चुनावबाटै कम्युनिष्टको सत्ता चलाउनु पर्ने कुरामा दुई ठूला कम्युनिष्ट पार्टीहरु चुनावको मुखमा एकबद्ध भएका हुन् । यसरी नेपालको कम्युनिष्ट आन्दोलनमा यो नयाँ प्रयोग थियो र जनताले पनि भारी मत दिएर नेकपालाई सत्तामा पु¥याएका हुन् ।

नेकपा यसरी सत्तामा पुगेपछि संसारभर वैधानिक तरिकाले कम्युनिष्ट सरकार नेपालमा बनेको उदाहरण हेर्ने लहर जाग्यो । नेपालको कम्युनिष्ट आन्दोलनका उतार चढाव, विभिन्न कालखण्डहरु हुँदै परिमार्जित कम्युनिष्ट सिद्धान्तको प्रयोग र वैधानिक कम्युनिष्ट सरकार साँच्चै अध्ययन गर्न लायक विषय वस्तुहरु बनेका थिए । पूँजीवादी व्यवस्थाको होड चलिरहेको अहिलेको अवस्थामा नेपालमा कम्युनिष्ट स्थापित भएको विषयवस्तु सबैका लागि पाच्य हुने कुरै भएन । फलस्वरुप यो सरकार टिकाउन हुँदैन भन्ने पक्षमा विश्वका शक्तिशाली पूँजीवादी राष्ट्रहरु नै हामफालेर नेपालको यो स्थितिको अनुसन्धान गर्ने, छिद्रहरु खोज्ने, कुनै कमीकमजोरी पत्ता लगाई असफल बनाउने, भए नभएका कृत्रिम परिवेशहरु सृजना गरी आतंक फैलाउने, कुनै नेता गणलाई फकाउने, लोभ देखाउने र भए नभएका षड्यन्त्रहरु गर्न कम्मर कसेर लाग्न थाले । यिनै कारणहरुले गर्दा देशभित्र र बाहिरका दृश्य अदृश्य तत्वहरुको चुंगुलमा ओली सरकार पर्न गयो । सरसर्ती हेर्दा बाहिर तिरको, अन्य दलहरुको सरकारलाई अवरोध नदेखिए पनि भित्री पाटो भनेको आफ्नै दलको अवरोध बाहिर देखापरेको अवस्था यद्यपि छ ।

यतिबेला प्रचण्ड र ओली नै यो पार्टी फुटाउने वा जुटाउने निर्णयकर्ता बनेका छन् यद्यपि अब दुई अध्यक्षको कुरा मिलेर मात्रै हुन्नभन्ने उद्घोष माधव नेपालले पनि गरेका छन् । लिखित रुपमै पार्टीका बैठकमा औपचारिक ढंगले एक अध्यक्षले अर्को अध्यक्षलाई आरोप प्रत्यारोप गरेरजग हँसाउने खालको केटाकेटी खेल खेलिरहेका छन् । यी नेताहरुको दादागिरी र स्वेच्छा चारिताले पार्टीलाई त डुबायो नै, यसका कारण अप्रत्यक्ष रुपमा देशलाई नै अघि बढ्नबाट अवरोध खडा भईरहेको छ । देशमा विकास निर्माणका कार्यहरु अवरुद्ध बनेका छन्, कोरोनाको महामारीको व्यथा, बाढी पहिरोको व्यथा थन्किएर बसेको छ, अन्तर्राष्ट्रिय सीमा मिलाउने काम अवरुद्ध छ, राज्यलाई आर्थिक, भौतिक, सांस्कृतिक तवरले अघि बढाउने काम रोकिएका छन्, सबैको ध्यान प्रधानमन्त्री को बन्ने र सरकार कसले चलाउने भन्नेमा मात्रै केन्द्रित रहेको छ र वास्तवमा देश नै बन्धक बनिरहेको छ ।

अन्तमा, जिम्मेवार पार्टी र देश हाँकि सकेका शीर्ष नेताहरुको हविगतका कारण जनतामा नैराश्यता बढेको र बढ्दो भ्रष्टाचारबाट सबै वाक्कदिक्क भईसकेका छन् । फल स्वरुप सरकार कमजोर भएको मौकामाहिन्दू राज्य बनाउने, संघीय राज्य खारेज गर्ने, धर्म निरपेक्षता हटाउने, गणतन्त्र खारेज गर्ने र राजसंस्था स्थापना गर्ने माग राखेर हाल मरिसकेको राजतन्त्र पुनः व्युँताउने कसरतमा केही दल तथा समूहहरु मिलेर सक्रिय भई लागिरहेका छन् । जुन गणतन्त्रवादी भन्नेहरुका लागि, जनताको संविधान बनाएको दाबी गर्नेहरुका लागि, नेपालमा समाजवाद आउनै लागेको दाबी गर्नेहरुका लागि, सुखी र समृद्ध नेपाल बनाउने नारा ल्याउनेहरुका लागि, विकासले फड्को मारी नेपाललाई स्वीट्जरल्याण्ड् बनाउने चुनावी मसला बाँड्नेहरुका लागि गतिलो झापड पनि हो । यसले जनताको चाहनामा कुठाराघात मात्रै गर्दैन कि भाई भाईको लडाईंले जग हँसाई समेत गराएको छ । यसका साथै साँच्चै कम्युनिष्ट पार्टीप्रति आस्था राख्ने तमाम कार्यकर्ता र शुभेच्छुकप्रति त यो लाजको विषय समेत भएको छ ।

त्यसकारण अब यी दुई पार्टी मिलेर बनेको नेकपा एउटै पार्टी हुनु जरुरी छैन । दुई वा सो भन्दा बढी पार्टी बनाई आ–आफ्नै पसलथापेर अरु नाम मात्रका कम्युनिष्ट पार्टी जस्तै बनेर बसे हुन्छ । जनताप्रति र राष्ट्रप्रति जिम्मेवार हुन नसक्ने नाम मात्रैको एउटा पार्टी अब जनतालाई आवश्यक छैन । त्यसकारण अलग अलग भएर आ–आफ्ना एजेण्डा ल्याई पुनःजनतालाई आश्वस्त पार्दै गए देशको, पार्टीको र जनताको भलो हुनेछ । अतः अब नाम मात्रैको एउटा पार्टी नेकपाको अस्तित्व समाप्त भइसकेको हुनाले वारपार गरी देशलाई बन्धनबाट मुक्ति दिलाउन सबैको प्रयास होस्, सद्बुद्धि पलाओस् र नयाँ बन्ने पार्टीहरु नयाँ उमंगका साथ आउन्, शुभकामना छ ।

  • (लेखक मध्यविन्दु बहुमुखीक्याम्पस कावासोती, नवलपुरका प्राध्यापक हुन्)
    कावासोती—८, नवलपुर
    ९८५७०४०४६३



सम्बन्धित
Loading...