कांग्रेस वरिष्ठ नेता पौडेल रिहा





काठमाडौँ- प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।

स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका नेता पौडेल पक्राउपछि भएको चौतर्फी दबाबपछि प्रहरीले उनलाई रिहा गरेको हो ।




रिहाइपछि पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्।  अहिले घटनाको विषयमा थप रणनीति तय गर्न नेताहरु कांग्रेस तनहुँ जिल्ला कार्यालयमा भेला भएका छन्।

तनहुँमा भएको तनावका बीच प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेललाई तत्काल रिहाई नगरे देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत टेलिफोनमार्फत पौडेलको रिहाईको माग गरेका थिए ।

पौडेल पक्राउप्रति सभापति देउवाले भने- सरकारको सशक्त प्रतिरोध गर्छौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन्। देउवाले नेता रामचन्द्र पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत भएको भन्दै उनले सरकारको त्यस्तो सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

देउवाले विज्ञप्ति जारी गर्दै सरकारको यो निन्दनीय व्यवहारको भ्रत्सर्ना गर्दै नेता पौडेललाई तत्काल रिहा गर्न र रिहा नगरे उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार रहन सरकारलाई चेतावनी दिएका छन्।

‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

पुल उद्घाटनको क्रममा तनहुँको दमौलीमा काँग्रेस र नेकपाबीच विवाद भएपछि पौडेललाई प्रहरीले आज अपराहन्न हिरासतमा लिएको थियो ।

 




सम्बन्धित
Loading...