नवलपरासीमा उखु किसानले १८ करोड भुक्तान पाएनन, किसानहरु आन्दोलनको तयारीमा

272







रामकुमार श्रेष्ठ –
नवलपरासी  । पश्चिम नवलपरासीका उखु किसानहरुले अझै १८ करोड बढी रकम चिनी मिल तथा उद्योगबाट भुक्तान पाएका छैनन् ।
अघिल्लो बर्ष नै भुक्तान पाउनु पर्ने सहमति भए पनि अर्को सिजन शुरु हुने बेलासम्म भुक्तान नपाएपछि यहाँका किसानहरु आन्दोलनमा जाने तयारीमा जुटेका छन् ।
पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग एवं ईन्दीरा चिनी उद्योग गरि तीन वटा चिनी उद्योगले उखु किसानहरुको करोडौं रुपिया भुगतानी गर्न बाकी रहेको र अहिले सम्म बारम्बार बुझाउने प्रतिबद्धता गरेको भए पनि किसानहरुको उखुको रकम भुक्तानी नगरे पछि किसानहरु आन्दोलनमा जाने निश्कर्षमा पुगेको छन् ।
राष्ट्रिय कृषि श्रमिक संघ नेपाल नवलपरासीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापन पत्र बुझाई तत्काल रकम भुक्तान नगरे आन्दोलनमा जाने चेतावनी दिएको राष्ट्रिय कृषि श्रमिक संघ नेपाल नवलपरासीका अध्यक्ष निम नारायण चौधरीले बताए ।
उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार दुई बर्ष अघिकै पश्चिम नवलपरासीको लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा सुगर मिलले ८ करोड भुक्तान गरेको छैन । किसानलाई उखु भुक्तान नगरेकै कारण गत बर्ष यि दुई उद्योग सञ्चालनमा आउन सकेन । जसले गर्दा बाग्मति खाँणसारी मिलले मात्र गत बर्ष उखु क्रसिङ्ग गरेको थियो ।
बाग्मति खाँडसारी मिलको गत बर्षका ४० लाखको हाराहारीमा मात्र भुक्तान बाँकी रहेको अध्यक्ष यादवले बताए ।

उत्पादन घट्यो

झण्डै ६५ बर्ष अघिदेखि उखु खेती गर्न थालेका यहाँ किसानहरुले उखुको रकम भुक्तान पाउने बेला सधैं आन्दोलन गर्नु पर्ने अवस्था आएपछि यहाँका किसानहरुले विस्तार उखु खेतीबाट पलायन हुन थालेका छन् ।
उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार यहाँ कुनै बेला साढे ७ हेक्टर क्षेत्रफलमा ३२ लाख क्युन्टलसम्म उखु उत्पादन भएको भए पनि अहिले उखु खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै घटेको छ ।
यस बर्ष करिब ४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको र यस बर्ष १० देखि १२ लाख क्युन्टल मात्र उखु उत्पादन हुने अध्यक्ष यादवले बताए । यादवका अनुसार किसानले उखु लगाए पनि भुक्तान नपाएका कारण बैलैमा मल हाल्न र गोडमेलका साथै सिचाई गर्न नपाउँदा औषध उत्पादन दर पनि घटेको छ ।

उखु छाडेर अन्य खेती

उखु किसानहरुले उखुको भुक्तान बेलैमा पाउन छाडे पछि यहाँका किसानहरुले विस्तारै अन्य खेती गर्न थालेका छन् ।
२० विगाहासम्ममा उखु खेती गर्दै आएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ७ सूर्यपुराका उखु किसान विश्वबन्धु यादवले अहिले उखु खेती घटाएर ७ विगाहामा झारेका छन् ।
यादव भन्छन् – उखुको भुक्तान पाउनै गाह्रो, मैले अझै १० लाख बढी भुक्तान पाउनै बाँकी छ त्यसैले विस्तारै कम गर्दै गएको छु ।
त्यसो त उखु खेती गर्दा राम्रो उत्पादन भए एक बर्षमा साढे दुई लाख रुपैयाँसम्म आम्दानी हुने भए पनि उखुको विकल्पमा गरिने धान, गहुँ, मकै, तोरी लगायतका खेतीबाट बर्षमा एक विगाहामा उत्पादन भएको अन्न तथा कृषि उपज विक्री गर्दा ५०÷६० हजार भन्दा बढी आम्दानी नहुने उनी बताउँछन् ।
यादवले भने – नियमित भुक्तान पाए उखु खेती नै राम्रो तर के गर्नु पेट पाल्नकै लागि भए पनि अन्य खेती गर्न बाध्य भएका छौं ।
माटो अनुसारको खेती हुने भएकोले पनि कतिपयले उखु खेती छाडेर केरा र बदाम खेती पनि गर्न थालेका छन् भने कतिपयले केरा र बदाम खेती नहुने भएकोले धान गहु मकै तोरी लगाउन थालेका छन् ।
सुस्ता गाउँपालिका ४, गोकुल नगरका किसान तथा नवलपरासी केरा उत्पादक किसान संघका अध्यक्ष लख्खु यादवले अहिले उखु छाडेर केरा खेती गर्न थालेका छन् ।
यादव भन्छन् – उखु धेरै राम्रो तर के गर्नु भुक्तान पाउन छाडेपछि केरा खेती गर्न थालेको छु । आम्दानीको विकल्पको रुपमा केरा खेती गरेको छु ।
उनले ५ विगाहामा उखु खेती गर्ने गरेपनि अहिले १ विगाहामा उखु खेती गरे बाँकीमा केरा खेती गरेका छन् ।
त्यसो त भारतीय केरा विनारोकतोक आयात, केराको विमा नहुनु आदिले केरा खेती पनि भने जस्तो नभएको उनको अनुभव छ ।

वाग्मतीले क्रसिङ्ग शुरु गर्दै

पश्चिम नवलपरासीमा बाग्मति खाँडसारी मिलले उखु क्रसिङ्ग शुरु गर्ने भएको छ ।
उद्योगले सूचना टाँस गरेर आइतबारबाट क्रसिङ्ग शुरु गर्ने जनाएको छ ।
लुम्बिनी र इन्दिरा सुगर मिल भने यस बर्ष पनि सञ्चालनमा आउने सम्भावना कम रहेको छ ।
उख उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले पुराना रकम १८ करोड भुक्तान गरे मात्र क्रसिङ्ग गर्न दिने नत्र नदिने निर्णय भएको बताए ।

You might also like
Loading...